Home / Feature Breaking news / दाङका दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना

दाङका दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना

दाङ,२६ फागुन । दाङमा एकै दिन दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । जनताको माग अनुसार वडा कार्यालयले माग गरेपछि जिल्ला सुरक्षा समितिले जिल्लाको घोराही उपमहानगरपालिका–५ दलजितपुर र वडा नं. ११ हापुर शिवपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरेको हो ।

स्थापना भएका अस्थायी प्रहरी चौकीहरुमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरीको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका वडा नं. ५ दलजितपुरमा स्थापना भएको अस्थायी प्रहरी चौकीको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ग्रामीण क्षेत्रमा जनतालाई शान्ति सुरक्षा कायम गर्न अस्थायी प्रहरी चौकीले भूमिका खेल्ने बताए ।

विकास निर्माणसँगै जनतालाई ढुक्कसँग जीवनयापन गर्नका लागि शान्ति सुरक्षाको प्रत्याभूती आवश्यक रहेको भन्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले त्यसका लागि प्रहरीले विशेष भूमिका खेल्ने बताए । उनले जनताको सुरक्षाकालागि खटिएको प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न जनताले सहयोग गर्नुपर्ने बताए । उनले अस्थायी प्रहरी चौकीलाई स्थायी बनाउने जनताको हात रहेको भन्दै वडा नं. ५ वडावासीलाई त्यही अनुसार भूमिका खेल्न समेत आग्रह गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव प्रहरी उपरीक्षक सुरेश काफ्लेले जनताको सुरक्षासँगै अपराधमुक्त समाज निर्माणका लागि जनतासँग सहकार्य गर्न प्रहरी ग्रामीण क्षेत्रमा आईपुगेको बताए । सहरबाट घोराही वडा नं. ५ को ग्रामीण बस्तीमा आएको प्रहरीलाई शान्ति सुरक्षा, चोरी, तस्करी,जुवातास,लागुऔषध र अपराध नियन्त्रणको कार्यमा सहयोग गर्न जनतालाई आग्रह गरे ।

‘वडा नं. ५ मा भैmझगडासँगै काठ,गाईगोरुको अवैध तस्करी,लागुऔषध सेवन र जुवातास बढी खेल्ने गरेको गुनासो आउने गरेको थियो । त्यही अनुसार वडा कार्यालयको माग अनुसार अस्थायी प्रहरी चौकी स्थापना भएको छ’,प्रहरी प्रमुख काफ्लेले भने,‘ यहाँ बसेर प्रहरीले जनताको सुरक्षासँगै अपराध नियन्त्रणका लागि काम गर्ने छ । त्यसमा जनताले सहयोग गर्नुहोस ।’ उनले दोषीलाई कारवाही र पीडितलाई न्याय दिनका लागि प्रहरीले निष्पक्ष रुपमा काम गर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले धर्नामा अस्थायी प्रहरी स्थापना भएसँगै शान्ति सुरक्षासँगै समाजमा जुवा,तास, भैmझगडासँगै अवैध मदिरा नियन्त्रणमा सहयोग पुग्ने बताएका थिए । वडा अध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस वडा नं. ५ का उपसभापति मानसिङ पछाई, नेकपा एमालेका वडा अध्यक्ष पोषन नेपाली,नेकपा माओवादी केन्द्रका अध्यक्ष नुमबहादुर केसी, एकिकृत समाजवादीका डिल्ली नेपाली, राप्रपाका जुद्ध बहादुर केसी, राष्ट्रिय जनमोर्चाका सुर्यलाल नेपालीललगायतले बोलेका थिए ।

घोराही उपमहानगरपालिका–५ का वडा सदस्य तुलसी कुमारी खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव बलदेव बस्नेतले गरेका थिए । अस्थायी प्रहरी चौकी गाउँमै स्थापना भएपछि स्थानीयबासी हर्षित भएका छन् । गाउँको शान्ति सुरक्षा र अमन चयनमा थप टेवा पुग्ने स्थानीयले विश्वास लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*