Home / Feature Breaking news / ९७ प्रतिशत कोरोना संक्रमित होम आइसोलेसनमा, अस्पतालमा कति छन् ?

९७ प्रतिशत कोरोना संक्रमित होम आइसोलेसनमा, अस्पतालमा कति छन् ?

कोभिड १९ को तेस्रो लहर चलिरहँदा नेपालमा कोभिड संक्रमण दर उच्च भएको छ । बुधबार एकैदिन देशभर अहिलेसम्मकै सबैभन्दा बढी ११ हजार ३५२ जना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभरको औसत संक्रमण दर ५२.६ प्रतिशतसम्म पुगेको छ । संक्रमितको तुलनामा अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या भने निकै कम छ । तरपनि अस्पताल भर्ना भएकाहरूमा फरकफरकखाले जटिलता भने देखिएका छन् ।

देशभर कति संक्रमित अस्पतालमा ?
स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयको माघ ५ गतेसम्मको तथ्यांकअनुसार नेपालमा कोभिडका सक्रिय संक्रमितको संख्या ४७ हजार ९२९ पुगेको छ । त्यसमध्ये ९७.४ प्रतिशत अर्थात् ४६ हजार ५१५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । बाँकी संक्रमितमध्ये अस्पतालका साथै अन्य संस्थागत आइसोलसनमा एक हजार ४१४ जना उपचाररत छन् ।

त्यस्तै देशभरका आईसीयूमा १६१ जना र भेन्टिलेटरमा २८ जना उपचाररत छन् । तीमध्ये काठमाडौंका ११ वटा प्रमुख अस्पतालहरूमा मात्रै जेनेरल बेडमा २३५ जना एचडीयूमा ३२६ जना आईसीयूमा ६२ र भेन्टिलेटरमा १५ जना उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ ।

अस्पताल भर्ना हुने आधा संक्रमित अक्सिजनको सहायतामा
काठमाडौंका अस्पतालहरूमा भर्ना भएका कोभिड १९ संक्रमितहरूमध्ये आधा संक्रमितलाई अक्सिजनको सपोर्टमा राख्नुपर्ने देखिएको छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमित उपचाररत रहेको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ८६ जना एचडीयूमा छन् । तीमध्ये १५ प्रतिशत संक्रमितलाई अक्सिजनको सहायतामा राखिएको अस्पतालका कोभिड युनिट प्रमुख डा. प्रवीण नेपालले जनाकारी दिए ।

त्यस्तै एचडीयू बेडमा १९ जना र आईसीयूमा ३ जना संक्रमित उपचाररत रहेको निजामती कर्मचारी अस्पतालमा पनि अधिकांश बिरामीलाई अक्सिजनको सपोर्टमा राखिएको छ । अस्पतालको कोभिड युनिटका डा. विदेश विष्टकाअनुसार अक्सिजनमा राखिएको भएपनि उनीहरूको अवस्था पहिलेको लहरमा जस्तो तुरुन्तै अक्सिजन लेभल घट्ने र जटिल प्रकारको भने छैन ।

अधिकांशको घाँटी र शरीर दुख्ने समस्या
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना कोभिड संक्रमित उपचाररत छन् । तीमध्ये कसैमा पनि जटिल प्रकारको समस्या भने नदेखिएको अस्पतालका कोभिड केयर युनिट प्रमुख डा. विमल शर्मा चालिसेले बताए । पहिलेजस्तो हाइ अक्सिजन चाहिने र जटिल समस्या भएका संक्रमित अहिले छैनन् । यो लहरमा भर्ना भएकामध्ये अधिकांशमा घाँटी दुख्ने, हल्का ज्वरो र शरीर दुख्ने समस्या देखिएको डा. चालिसे बताउँछन् ।

कोभिडको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमणले माथिल्लो श्वासप्रश्वास प्रणालीलाई असर पु‍र्‍याउने विज्ञहरूले बताइरहेका छन् । संक्रामक रोग विशेषज्ञ डा. कोइरालाकाअनुसार ओमिक्रोन संक्रमणले डेल्टा भेरियन्टजस्तो सिधै फोक्सोमा आक्रमण नगर्ने र घाँटी तथा माथिल्लो श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्छ ।

दीर्घरोगी र वृद्ध वृद्धामा बढी जटिलता 
पछिल्लो समय काठमाडौंका विभिन्न अस्पतालहरूमा भर्ना भएका कोभिड संक्रमितमध्ये दीर्घरोगी र वृद्धवृद्धालाई भने जटिलता निम्त्याएको देखिएको छ । सिभिल अस्पतालको कोभिड केयर युनिटका डा. विदेश विष्टकाअनुसार दम, मुटु लगायतकाराग भएका विरामीहरूलाई भने संक्रमणले आईसीयू र भेन्टिलेटरसम्म नै पु‍र्‍याएको छ ।

युवाहरूमा पनि अगाडि नै केही दीर्घरोग बोकेर आउने संक्रमितहरूलाई अक्सिजन चाहिने र जटिलता हुने गरेको बलम्बु अस्पतालका कोभिड केयर युनिट प्रमुख डा. प्रवीण नेपालको अनुभव छ ।

नेपालमा हालसम्मको तथ्यांक हेर्ने हो भने कोभिड संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा ६० देखि ६९ बर्षका नागरिक रहेका छन् । हालसम्म मृत्यु भएका ११ हजार ६२८ जनामध्ये यो उमेर समूहका नागरिक २ हजार ४३६ जना छन् ।

sarbottam cement

त्यस्तै, ७० देखि ७९ उमेर समूहका २ हजार ३०६ जनाको मृत्यु भएको छ भने ५० देखि ५९ उमेर समूहका २ हजार २५० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यीबाहेक ८० देखि ८९ उमेर समूहका १ हजार ५७३ जना र ४० देखि ४९ उमेर समूहका १ हजार ६ सय ३९ जनाको मृत्यु भएको छ । यीबाहेक अन्य उमेर समूहका व्यक्तिमा मृत्युको संख्या तुलनात्मक रूपमा कम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*