Home / Feature Breaking news / उद्योगी तथा व्यवसायीलाई खाद्य स्वच्छता सचेतना

उद्योगी तथा व्यवसायीलाई खाद्य स्वच्छता सचेतना

दाङ, १८ पुस । उद्योगी तथा व्यवसायीहरुलाई खाद्य स्वच्छतासम्बन्धी सचेतना दिइएको छ । उद्योगबाट उत्पादन गर्दा तथा व्यवसाय खाद्य स्वच्छता राख्न सहयोग पुगोस् भन्ने उद्देश्यले यस प्रकारको सचेतना प्रदान गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको आयोजना एवं दाङ जिल्ला उद्योग वाणिज्य संघको सहआयोजनामा यस प्रकारको कार्यक्रम गरिएको हो । उद्योगी तथा व्यवसायीहरुलाई सचेत बनाउने उद्देश्यले सचेतनामूलक कार्यक्रम आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख उज्वल रायमाझीले जानकारी दिए । जिल्लाका विभिन्न क्षेत्रमा यस प्रकारको सचेतनामूलक कार्यक्रम गरिने उनको भनाइ रहेको छ । जसले गर्दा उद्योगी तथा व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धी सहजता हुने उनले बताए ।

‘सचेतना दिएपछि अनुगमन गरिने र कार्यान्वयन नभएको पाइएमा कारबाही समेत गरिने छ’ प्रमुख रायमाझीले भने । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष अनिल आचार्यले उद्योगी तथा व्यवसायीहरुले गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताए । गुणस्तरीय उत्पादन तथा सेवा दिन सकेमा उद्योग तथा व्यवसाय अगाडि बढाउन सहयोग मिल्ने उनको भनाइ रहेको थियो ।

त्यस अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक रिजन कार्कीले सडक छेउछाउमा बिक्री हुने खाद्य पदार्थ बिक्रीकर्ताले पालना गर्नुपर्ने आचार संहिताका बारेमा र कार्यालयका राजेशकुमार चौधरीले खाद्य स्वच्छताबारे जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*