Home / Feature Breaking news / कांग्रेस महाधिवेशन : जिल्लाको नेतृत्वका लागि दौडधुप सुरु,आज उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : जिल्लाको नेतृत्वका लागि दौडधुप सुरु,आज उम्मेदवारी दर्ता

दाङ, १० मंसिर । नेपाली कांग्रेसको १४आँै महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका, नगर, क्षेत्रीय प्रदेश सभा र संघीय क्षेत्रको निर्वाचन सम्पन्न भएका छन् । त्यससँगै अब जिल्लाको नेतृत्वका लागि दौडधुप सुरु भएको छ । यही मंसिर १० गते उम्मेदवारी दर्ता र ११ गते नेपाली कांग्रेस दाङको निर्वाचनको मिति तोकिएको छ ।

जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्नका लागि केन्द्रीयदेखि जिल्ला नेतृत्वका कांग्रेस नेताहरु तल्लिन छन् । कसलाई टिकट दिने र नेतृत्व आफ्नो पक्षमा पार्ने भन्नेमा सबै लागेका छन् । नेपाली कांग्रेसको विधान अनुसार जिल्ला अधिवेशनले कम्तीमा दश वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट जिल्ला सभापतिको निर्वाचन गर्नेछ । सभापति १, कार्यसमितिका लागि उप–सभापति २, सचिव २ र सह–सचिव २ को निर्वाचन गर्नेछ । सभापति पदको निर्वाचनमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्नेछ ।

सभापति पदको पहिलो चरणको निर्वाचनमा कसैले पनि पचास प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजना उम्मेदवारका बीचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ । तर, पहिलोपटक नै दुईजना मात्र उम्मेदवार भएमा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

सभापतिले जिल्ला कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष एक, जिल्ला अधिवेशनले जिल्ला अधिवेशनका प्रतिनिधिमध्येबाट प्रत्येक गाउँपालिकाबाट कम्तीमा एक महिलासहित दुई जना, नगरपालिकाबाट कम्तीमा एक महिलासहित तीनजना, उपमहानगरपालिकाबाट कम्तीमा दुई महिलासहित पाँच जना, महानगरपालिकाबाट कम्तीमा तीन महिलासहित सातजना सदस्य प्रत्यक्ष निर्वाचित गर्नेछ ।

महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट सबै स्थानीय तहबाट जोडेर प्रत्यक्ष निर्वाचित हुने सदस्य संख्याको दुई तिहाई सदस्य जिल्लाको सम्पूर्ण जनसंख्याको बनोट अनुसार, तोकिएबमोजिम समानुपातिक आधारमा निर्वाचित गर्नेछ । अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये एकजना प्रत्यक्ष निर्वाचित गर्नेछ । सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समानुपातिक समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्प संख्यकको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्नेछ ।

दाङमा ४५ जना सदस्यहरुमध्ये १० वटा स्थानीय तहबाट २७ सदस्य र अन्य समावेशी प्रतिनिधित्वबाट १८ जना निर्वाचित हुनेछन् । खस आर्य ३ महिलासहित ७ जना आदिवासी जनजातिमा १ महिला ३ जना, दलितमा १ महिलासहित २, थारुमा २ महिला सहित ५, मधेसी मुस्लिम अल्प संख्यकबाट १ जना गरी १८ जना निर्वाचित हुने व्यवस्था रहेको जिल्ला निर्वाचन समितिका कार्यवहाक निर्वाचन प्रमुख युवराज बस्नेतले जानकारी दिए ।

पालिका स्तरबाट तुलसीपुर उपमहानगर, घोराही उपमहानगरमा २ महिलासहित ५÷५ जना, लमही नगरपालिकाबाट १ महिलासहित ३ जना उम्मेदवार रहनेछन् । त्यस्तै बबई, शान्तिनगर, बंगलाचुली, दंगीशरण, गढवा, राप्ती र राजपुर गाउँपालिकाबाट १ महिलासहित २÷२ जना गरी जम्मा २७ जना सदस्यहरु निर्वाचित हुनेछन् । शुक्रवार विहान १० बजेदेखि मनोनयन दर्ताको लागि फाराम वितरण र १ः३० बजेसम्म मनोनयन दर्ता हुने निर्वाचन कार्यक्रम रहेको छ ।

त्यस्तै ११ गते बिहान ९ बजे भरतपुरस्थित प्राविधिक शिक्षालयमा मतदानको कार्यक्रम रहेको कार्यबहाक निर्वाचन प्रमुख बस्नेतले जानकारी दिए । ‘निर्वाचनको मिति हामीहरुले तय गरेका छौँ, समयको एकिन भने सहमतिअनुसार तलमाथि हुनसक्ने’, बस्नेतले बताए । जिल्ला नेतृत्व चयनका लागि ३ वटा क्षेत्रबाट २१ सय ९२ क्षेत्रीय प्रतिनिधिहरुले प्रत्यक्ष मतदान गर्नेछन् ।

यसैबीच सभापति र अन्य कार्यसमितिका उम्मेदवारहरु भने अझै पनि टुङ्गो लाग्न सकेको छैन केही पदहरुमा स्वतःस्फूतरुपमा व्यक्तिहरुले उम्मदवारी घोषणा गरी सामाजिक सञ्जालमा भोट भने मागिरहेका छन् । दुवै टिमबाट सभापतिलगायत अन्य पदाधिकारीहरुको टुङ्गो भने यो समाचार तयार पार्दासम्म लागेको छैन । सभापतिमा धेरै आकांक्षीहरु देखिएकाले पनि टिमको टुङ्गो लगाउन नसकेको नेताहरु बताउँछन् ।

पाँचजना सभापतिका आकांक्षी

जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा जिल्ला सभापतिको प्रत्यासीका रुपमा पाँचजना अघि सरेका छन् । संस्थापन र इतर पक्ष भनेर समाचार लेख्दासम्म नखुलाइए पनि सभापतिका लागि पूर्व जिल्ला सभापति तथा पूर्वसांसद गेहेन्द्र गिरी, बर्तमान जिल्ला कार्यसमितिका सचिव शंकरप्रसाद डाँगी, यसअघिको महाधिवेशनमा जिल्ला सभापतिका उम्मेदवार बनिसकेका कमलकिशोर घिमिरे, देउखुरीलाई कार्यक्षेत्र बनाएका नेता जानकीलाल बस्नेत तथा निर्वाचन क्षेत्र नं. २ का निवर्तमान क्षेत्रीय सभापति भूपबहादुर डाँगीले सभापतिमा उम्मेदवारी दिने चर्चा कांग्रेसदीर्घामा चलिरहेको छ ।

यद्यपि सकेसम्म दुईमात्र उम्मेदवार बनाउन पनि भिन्न–भिन्न खेमाका नेताहरु बिहीवार साँझसम्म पनि प्र्रयासरत देखिन्छन् । संस्थापन र इतर पक्षबाट को–को उम्मेदवार बन्ने भन्ने अझै आधिकारिक निर्णय नेताहरुले गरेका छैनन् ।खुमबहादुर खड्का लिगेसी प्यानलबाट पूर्व सभापति, तुलसीपुर नगरका पूर्व सभापति एवं तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुखका प्रत्यासीसमेत रहेका गेहेन्द्र गिरी फेरि पनि उम्मेदवार बन्ने बताएका छन् ।

वर्तमान जिल्ला कार्यसमितिका सचिव शंकर डाँगी युवा दीर्घाका लोकप्रिय नेता हुन् । क्षेत्रीय अधिवेशनमा लोकप्रिय मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका डाँगी अग्रज नेताहरुसँगै युवाहरुका रोजाइँका उम्मेदवारका रुपमा चिनिन्छन् । कमलकिशोर घिमिरेले आफूलाई कान्छो नेताका रूपमा अथ्र्याउँछन् । २६ वर्षको उमेरमै रामपुर गाउँ इकाई सभापतिका रूपमा नेतृत्व सुरु गरेका घिमिरे ३२ वर्षको उमेरमा क्षेत्रीय सभापति, बाह्रौँ महाधिवेशनमा जिल्ला कार्यसमिति सचिव र तेह्रौँ महाधिवेशनमा जिल्ला कार्यसमितिको सभापतिका रूपमा प्रत्यासी बने । उनले झिनो मतले सभापति कीर्तिबहादुर खड्कासँग हार व्यहोर्नुपरेका थियो ।

केही अनलाइन संस्करणमा जानकीलाल बस्नेतले भने आफूलाई पार्टी जिल्ला सभापतिको उम्मेद्वारका रूपमा उभ्याइसकेका छन् । घाइते बाघका रूपमा उनलाई कांग्रेसजनहरुले फेरि सभापतिका लागि आग्रह गरिरहेको बताइन्छ । अघिल्लो अधिवेशनमा जानकीलाल बस्नेत सोही अधिवेशनमा सभापतिका प्रत्यासी बनेर पनि निर्वाचन प्रक्रियाबाट अन्तिम चरणमा बाहिरिएका नेता हुन् । पार्टीले उनलाई प्रदेशसभा सदस्यको पनि उम्मेद्वार बनायो तर विजयी बन्न सकेनन् ।

यसैगरी भर्खरै निवर्तमान बनेका क्षेत्रीय सभापति भूपबहादुर डाँगीले पनि सभापतिको उम्मेदवार बन्ने चर्चा छ । स्व. खुमबहादुर खड्का निकट मानिने डाँगीलाई राजु खनालको पनि समर्थनको नेताका रुपमा लिइन्छ । उनी गएको स्थानीय निर्वाचनमा घोराही उपमहानगरपालिकाको नगर प्रमुखको प्रत्यासी बनेर नरुलाल चौधरीसँग पराजय भोगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*