Home / Feature Breaking news / महंगीको मारमा जनता

महंगीको मारमा जनता

बालाराम खड्का
तुलसीपुर, १ मंसिर । ‘केन्द्रमा कानुन व्यवसायीहरुको आन्दोलन छ । मूल्यवृद्धिको विरोधमा मंगलवार बजार बन्द रह्यो । मूल्य वृद्धिले जनताको ढाड नै सेकेको छ’, कमला बुढाले भनिन्– ‘बन्दले सडक किनारामा पसल समेत थाप्न पाइनँ ।’ उनीजस्तै ज्याला मजदुरी गरी खाने अन्यले पनि महंगीले गर्दा दैनिक गुजारा चलाउन नसक्ने अवस्था आएको गुनासो गरेका छन् ।

‘दैनिक ज्याला–मजदुरी गरेर ५÷६ सय आम्दानी हुन्छ । कोठा भाडा मासिक २ हजार तिर्नुपर्ने उनीहरुको बाध्यता छ । बच्चा छन्, दैनिक ज्याला–मजदुरीभन्दा अन्य कुनै पनि आफ्नो आयस्रोत छैन । महंगीले गर्दा हामीजस्ताले भोकै मर्ने अवस्था आउन लाग्यो’ उनले भनिन्– ‘जुनै सरकार आए पनि गरी खाने जनताको पक्षमा कसैले पनि सोचेको छैन ।’ सरकारमा कसलाई मन्त्री बनाउने, कसको सरकार बनाउनेमा ध्यान छ ।

हामीजस्ता जनताको लागि कसैले नसोच्ने गरेको उनीहरुको गुनासो छ । दैनिक उपभोग्य वस्तुको मूल्य अकाशिएपछि सर्वसाधारणले बच्चाबच्ची कसरी पाल्ने र चुलो कसरी बाल्ने ?’ चिन्तामा छन् । ग्यासमै ७५ रुपैयाँ बढेर १५ सय ७५ पुगिसक्यो अन्य दैनिक उपभोग्य बस्तु पनि त्यस्तै छ । अकासिँदो महंगी दैनिक ज्याला मजदुरी गर्नेका लागि मात्र होइन, मासिक तलब खानेहरु समेत मारमा परेका छन् ।

ग्याससँगै दैनिक उपभोग्य तेल, चिनी, दाल, चामल, गेडागुडी, हरियो तरकारीको मूल्य अकाशिएको छ । महिनैपिच्छे दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थ, खाना पकाउने एलपी ग्यासमा मूल्यवृद्धि भएपछि सर्वसाधारण थप महंगीको पीडा खेप्न बाध्य छन् । खाद्य तथा हरियो तरकारीको मूल्य छोइनसक्नु वृद्धि भएको सर्वसाधारण बताउँछन् ।

६ महिना पहिले १२ सय पर्ने खाने तेल अहिले १५÷१६ सय पुगेको छ । दाल चामलमा पनि ५÷७ रुपैयाँ बढेको छ । हरियो तरकारी त झन आधा मूल्य बढेको छ । पहिले ८० रुपैयाँ पर्ने काउली अहिले १ सय देखि १ सय २० छ । ५० रुपैयाँ प्रतिकेजी पर्ने टमाटर ८०÷९० पुगेको छ । आलु तथा अन्य सागसब्जीको मूल्य तेसरी नै बढेको छ ।

त्यस्तै शिव श्रेष्ठले सामाजिक सञ्जालमा लेख्छन्– ‘दैनिक उपभोग्यमा केहीबाहेक सय भन्दा तल केही छैन । प्रतिदिन मूल्य अकाशिँदै गर्दा सरकार मौन बसिरहेको छ । बजार अनुगमन नियामक निकायसमेत ‘बजार मूल्य के कारण वृद्धि भएको हो ?’ अन्योल छ । त्यसैगरेर पोषण वलीले पनि सामाजिक सञ्जालमा लेखेका छन्– ‘कहिले प्रकृतिले वितण्डा मचाउँछ, कहिले महंगीले ।’ देशमा तीन तहको सरकार भए पनि जनताले सरकार भएको अनुभूति भने गर्न नपाएको गुनासो गरेका छन् । चुनावमा विभिन्न दलहरुले जनताको पक्षमा काम गर्ने भनेर खोक्रा नारा लगाउने र त्यो नारा नारामा मात्र सीमित भएको सर्वसाधारणहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*