Home / Feature Breaking news / द्दन्द्दकालिन मुद्दा : व्यवसायी योगीले पाए न्याय

द्दन्द्दकालिन मुद्दा : व्यवसायी योगीले पाए न्याय

दाङ,२४ कार्तिक । तत्कालीन माओवादी द्वन्द्वका क्रममा सरकार पक्षबाट चार वटा गाडी कब्जा गरिएका दाङका यातायात व्यवसायी भरतनाथ योगीले दुई दशकपछि न्याय पाएका छन् । न्यायका लागि निरन्तर रुपमा लडेका घोराही उपमहानगरपालिका–४ निवासी यातायात व्यवसायी योगीले २० बर्षपछि न्याय पाएका हुन ।

सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेसंगै यातायात व्यवसायी योगीले तत्कालीन राज्य पक्षबाट कब्जा गरिएका गाडीको कब्जा गरिए अवधिसम्मको क्षतिपूर्ति पाउने भएका हुन् । सर्वोच्चले योगीलाई १ करोड ४ लख ९७ हजार ८ सय ६६ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ । ‘द्वन्द्वकालमा मैले भोग्नु परेको ठुलो सजायको न्याय अहिले मलाई मिलेको छ’,यातायात व्यवसायी योगीले भने,‘सशस्त्र द्वन्द्वको त्यो बेला जबरजस्ती हार्न बाध्य बनाइएको थियो, अहिले बल्ल जितेको छु ।’

२०५८ मंसिरमा घोराही ब्यारेकमा माओवादीले आक्रमण गरेपछि योगी तत्कालीन राज्य पक्षको नजरमा बिद्रोहीका रुपमा देखिएका थिए । तत्कालिन राज्य पक्षले घोराही आक्रमणका समयमा यातायात व्यवसायी योगीले माओवादी कार्यकर्ताहरुसँगै अन्य सामानहरु ओसारपसार गर्न आफ्ना गाडी प्रयोग गर्न दिएको आरोप लगाएको थियो ।

त्यही आरोपमा योगीका ना २ ख २४४३, ना २ ख ५३८३, रा १ ख २८१ नम्बरका तीनवटा बस र बा ३ च ७५६१ नम्बरको बोलेरो जीप सेनाले नियन्त्रणमा लिएको थियो । माओवादी कार्यकर्ता तथा उनीहरुका बन्दोबस्तीका सामान ओसारपसारमा प्रयोग भएको भन्दै झण्डै दुई वर्ष नियन्त्रणमा लिएर सेनाले आँफै चलाएको थियो । चार वटै गाडी तत्कालीन सेनाले कब्जा गरेपछि योगी भारत पलायन भएका थिए ।

२०५८ मंसिर १३ गते नियन्त्रणमा लिएका गाडीहरु २०६० भदौ १० गतेसम्म सेनाले प्रयोग गरेर पछि यातायात व्यवसायी योगीलाई बुझाएको थियो । दुई वर्षसम्म गाडीको आम्दानी आफुले नपाएपछि ति गाडीहरुको किस्ता बुझाउँदा आफ्नो घर खेत गुमाउनु परेको योगीले बताए । ‘सेनाले गाडी नियन्त्रणमा लिएपछि किस्ता तिर्न नसक्दा मेरो नाममा भएको सबै सम्पत्ति गुम्यो’, उनले,‘न्यायका लागि धेरै ठाउँ धाए । तर न्याय पाउन सकेको थिएन ।

अहिले सर्वोच्च अदालतबाट न्याय मिल्यो ।’ योगीले सेनाले नियन्त्रणमा लिएको गाडीको आम्दानी माग गर्दै बिभिन्न निकाय तथा राजनीतिक दलका सामु अनुरोध समेत गरेपनि उनले कतैबाट न्याय पाउन सकेका थिएनन् । माओवादी नेतृत्वको सरकारले पनि उनको माग सुनुवाई गरिदिएन । ‘मलाई द्वन्द्वकालमा माओवादीलाई सघाएको भनेर तत्कालीन राज्य पक्षले घरबारविहीन बनायो’,उनले भने,‘तर त्यहि माओवादी सरकारमा गयो, माओवादीका हरेक नेताहरुलाई आफ्नो पीडा सुनाएँ, तर मेरो पीडा माओवादीले पनि सुनेन ।’ उनले राज्यबाट धेरै दुःख पाएपनि अहिले थोरै भएपनि राहतको अनुभुति गर्ने गरी अदालतले न्याय दिएको बताए ।

सवैलाई भेटेर न्यायका लागि माग गर्दा समेत न्याय नपाएपछि उनी तीन बर्ष अघि सर्वोच्चमा मुद्दा दर्ता गर्न पुगेका थिए । ‘म मेरो पीडा सुनाउनका लागि हरेक नेताको दैलोदेखि मन्त्रालयसम्म पुगे तर न्याय पाइन’, उनले भने,‘कसैले पनि मेरो समस्यालाई सुन्न चाहेनन्, अनि न्याय खोज्न अदालत पुगेको हुँ ।’ सर्वोच्चमा उनले १ करोड ४ लख ९७ हजार ८ सय ६६ रुपैयाँ क्षतिपूर्ति पाउनु पर्ने मागसहित रिट हालेका थिए ।

यातायात व्यवसायी योगीले तीनवटा बस मध्य एउटाको १३ लाख २० हजार, अर्कोको १७ लाख ६० हजार र अर्को बसको १५ लाख ४० हजार रुपैयाँ क्षतिपूर्ति पाउनु पर्ने माग गरेका थिए। यसैगरि बोलेरो जीपको १७ लाख ६० हजार रुपैयाँ क्षतिपूर्ति पाउनु पर्ने माग गरेका थिए । सर्वोच्चले उनको पक्षमा फैसला गर्दै सरकारका नाममा परमादेश जारी गरेको हो । सर्वोच्चले जिल्ला प्रशासन कार्यालयलाई उक्त रकम क्षतिपूर्तिका लागि संघीय सरकारलाई सिफारीस गर्न र सरकारलाई क्षतिपूर्ति उपलब्ध गराउने परमादेश जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*