Home / Feature Breaking news / दाङमा सुस्त विकास खर्च

दाङमा सुस्त विकास खर्च

अमरराज आचार्य
दाङ, ११ कार्तिक । संघीय सरकार तथा प्रदेश सरकार परिवर्तनसँगै अघिल्ला सरकारले ल्याएको बजेट नयाँ सरकारले परिवर्तन गरेका कारण विकास निर्माणमा असर परेको छ । पहिलो चौमासिकसम्म स्थानीय तहहरु तथा अन्य विकासे कार्यालयबाट हुने विकास निर्माणका कार्यहरु अगाडि बढ्न सकेका छैनन् । जिल्लामा क्रमांगत योजनाबाहेकका नयाँ योजनाका काम सुरु हुन सकेका छैनन् ।

सरकार परिवर्ततनसँगै बजेट संशोधन तथा बजेट पारित हुनसमेत समय लागेको कारण यसको असर विकास निर्माणमा देखिएको हो । पहिलो चौमासिक सकिन लाग्दा समेत विकास निर्माणका कामहरु सुरु हुन नसकेको स्थानीय तहहरुले जनाएका छन् । संघीय सरकार तथा प्रदेश सरकार परिवर्तनसँगै बजेट संशोधन तथा बजेट पारित हुनसमेत समय लागेको हुनाले त्यसको प्रभाव स्थानीय तहसम्म नै देखिएको छ । चाडपर्व सकिएसँगै विकास निर्माणसम्बन्धी योजनाहरु अगाडि बढाइने स्थानीय तहहरु बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिकाले अहिले विकास निर्माणसम्बन्धी योजनाको प्राविधिक सर्भे गरिरहेको उपमहानगरपालिकाका योजना शाखाका अधिकृत टेकबहादुर खड्काले बताए । ‘विकासे योजनाका लागि प्राविधिक पहिलो चौमासिकसम्म सक्ने उपमहानगरपालिकाको वार्षिक क्यालेण्डर रहेको छ’, अधिकृत खड्काले भने– ‘त्यसैअनुसार अहिले प्राविधिकहरु फिल्डमा खटेर काम गरिराखेका छन् ।’ पहिलो चौमासिकभित्र प्राविधिक काम सकेपछि दोस्रो चौमासिकका कामहरुले गति लिने उपमहानगरपालिकाले अपेक्षा लिएको छ ।

पहिलो चौमासिकमा वर्षात, चाडपर्वसँगै खेतीपाती भित्र्याउने भएकाले उपभोक्ताहरुसमेत योजनाको काम गर्न नआउने गरेको उनको भनाइ छ । संघीय सरकार तथा प्रदेश सरकारबाट आउने बजेट ढिला हुँदा पनि केही असर पुगेको हो । प्रदेशसको बजेट समावेश गरेर रातो किताव प्रकाशन गर्न भनिएकाले उपमहानगरपालिको रातो किताव प्रकाशन गर्न समेत ढिला गरेको उपमहानगरपालिकाले जनाएको छ ।

राप्ती गाउँपालिकाले भर्खरैबाट विकासे योजनाका काम सुरु गरेको जनाएको छ । अहिले योजना सम्झौताका काम सुरु भएको राप्ती गाउँपालिकाका सूचना प्रविधि अधिकृत बालचन्द्र गुरुङले बताए । ‘अहिले २ वटा योजनाको ठेक्का प्रकाशन तथा योजना सम्झौताका काम सुरु भएका छन्’ अधिकृत गुरुङले भने– ‘तिहारलगत्तै विकासे योजनाका कामले गति लिनेछन् ।’ सरकार परिवर्तनको असरले गर्दा केही समय ढिला हुन पुगेको उनले बताए ।

प्रदेश सरकारअन्र्तगतका ३ वटा योजना समेत परिवर्तन भएको गाउँपालिकाले जनाएको छ । योजनाको लागि बजेट के हुन्छ भनेर पनि बजेटको सुनिश्चितता नहँुदासम्म काम अगाडि बढाउन समस्या भएको उनको भनाइ छ । जिल्लाका अन्य पालिकाहरुको पनि अवस्था उस्तै रहेको छ । समयमा नै विकासे योजना सम्पन्न गर्न भनेर संघीय सरकारले जेठ १५ मा र प्रदेश सरकारले असार १ गते बजेट ल्याउने गरेका छन् । तर सरकार परिवर्तन भएपछि योजना परिवर्तन, बजेट कटौती, बजेटको सुनिश्चितता समयमा नै हुन नसक्दा विकासका काम समेत समयमा सुरु हुन सक्दैनन् । त्यसले गर्दा विकासे काममा असर पुग्ने जानकारहरु बताउँछन् ।

विकास बजेट खर्च न्यून

पहिलो चौमासिक सकिन थाल्दासमेत जिल्लामा विकास बजेट न्यून मात्रामा खर्च भएको छ । जिल्लामा संघीय सरकारबाट आएको पुँजीगत बजेटको ३ प्रतिशत मात्र खर्च हुन सकेको छ । जिल्लामा संघीय सरकारबाट पुँजीगततर्फ ४ अर्ब ३२ करोड ९५ लाख १३ हजार बजेट प्राप्त भएकोमा हालसम्म १३ करोड १८ लाख ६३ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय दाङका कोष नियन्त्रणक उदयराज भण्डारीले बताए ।

जुन खर्च ३.०४ प्रतिशत हो । त्यसैगरेर संघीय सरकारबाट आएको चालुतर्फ ७ अर्ब ९९ करोड ८७ लाख ६२ हजार रुपैयाँ आएकोमा हालसम्म १ अर्ब ९९ करोड ५४ लाख ४ हजार खर्च भएको छ । जुन २४.९४ प्रतिशत खर्च भएको छ । स्थानीय तहमा विकास निर्माणका लागि समेत चालु शीर्षकअन्तर्गत रहने भएकाले चालु शीर्षकमा बजेट बढी देखिने गरेको कोष नियन्त्रक भण्डारीले बताए ।

यसैगरेर प्रदेश सरकारअन्तर्गतको पुँजीगततर्फ हालसम्म ३ अर्ब ५१ करोड ३२ लाख ८० हजार बजेट रहेको छ । जसमा हालसम्म ४ करोड ४६ लाख २७ हजार रकम खर्च भएको छ । जुन १.२७ प्रतिशत हो । प्रदेश सरकारले चालुतर्फ १ अर्ब ४ करोड २३ लाख ४ हजार विनियोजन गरेको थियो । हालसम्म ८ करोड २९ लाख ६८ हजार खर्च भएको छ । जुन ५.६० प्रतिशत मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*