Home / Feature Breaking news / सडक मानवको उद्धारमा सेवा घर

सडक मानवको उद्धारमा सेवा घर

दाङ,७ कार्तिक । दाङमा रहेको मानव कल्याण समाज (सेवा घर)ले करिब एक वर्षको अवधिमा एक सय बढी सडक जीवन बिताइरहेका मानिसहरूको उद्धार गरेको छ । गत वर्ष कार्तिक २४ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर सञ्चालनमा आएको सेवा घरले दाङ, रोल्पा, बाँके र गुल्मीबाट एक सय बढी सडकमा जीवन बिताइरहेका मानिसहरूको उद्धार गरेको हो ।

मानवताको समाज निर्माण गर्ने उद्देश्यले सडकबाट उद्धार गरिएका अधिकांशलाई संस्थाले परिवारमा पुनःमिलन गरिएको मानव कल्याण समाज (सेवा घरका) संस्थापक केन्द्रीय सचिव विजय पोख्रेलले जानकारी दिएका छन् । उनकाअनुसार जिल्लाका विभिन्न स्थानसँगै छिमेकी जिल्लाहरूबाट उद्धार गरिएकामध्ये ३० जनालाई उद्धारपछि उपचार तथा काउन्सिलिङ गरेर घरमै पुनःमिलन गरिएको बताए । त्यस्तै अन्य ३० जनालाई सडकबाटै स्थानीय जनप्रतिनिधि तथा प्रहरीको सहयोगमा परिवारको जिम्मा लगाइएको संस्थापक सचिव पोख्रेलले बताए ।

‘सडक मानवमुक्त बनाउने उद्देश्यले संस्थाले दाङमा हालसम्म एक सय बढी मानिसहरूको उद्धार गरेको छ’, केन्द्रीय सचिव पोख्रेलले भने, ‘त्यस क्रममा उद्धार गरिएका कतिपय मानिसहरूलाई राम्रो बनाएर घरमा पुनःमिलन गरेका छौँ ।’ उनकाअनुसार हाल सेवा घरमा ४० जना असहाय, अशक्त तथा अपाङ्गगता भएका नागरिक रहेका छन् । संस्थाले देशका विभिन्न ठाउँहरूमा सेवा घरको माध्यमबाट सडक जीवन बिताइरहेका नागरिकको उद्धार गरेर सेवाको काम गर्दै आएको छ ।

संस्थाले दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दंगीशरण गाउँपालिकासँगै बाँके, रोल्पा र गुल्मी जिल्लामा समेत सडक जीवन बिताइरहेका मानवहरूको उद्धार गर्ने काम गर्दै आएको छ । घोराही उपमहानगरपालिका–१५ मा सञ्चालन गरिएको सेवा घरलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि घोराही उपमहानगरपालिका–१० नारायणपुरमा जग्गा व्यवस्थापनको समेत काम भएको छ । नागरिकको सहयोगबाट सञ्चालन हुँदै आएको सेवाघरलाई घोराही उपमहानगरपालिकाले समेत सहयोग गरेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*