Home / Feature Breaking news / दशैंमा चङ्गा : उचाई, उमंग र स्वच्छन्दको प्रतिक

दशैंमा चङ्गा : उचाई, उमंग र स्वच्छन्दको प्रतिक

दाङ, २८ असोज ।शरद ऋतुको मौसम यसैपनि मादक । खुलेको निलो आकाश । वहकिने शीतल हावाको झोंका । पृष्टभूमीमा गुञ्जने मालाश्री धून । यस्तो बेला आकाशमा उन्मुक्त बत्तिइरहेका रंग–विरंगी चङ्गा देख्दा कसको मन उमंगले भरिदैन ? कसको मन फुरुंग हुँदैन ?

खेतबारीमा लहलह धान झुलिरहेका छन् । कान्ला–कान्लामा सायपत्री फूलको थुँगा लाग्दैछ । अर्थात दशैंले घर–आँगनको संघार टेकिसकेको छ । त्यसैले त आकाशभरी रंग–विरंगी चङ्गा उड्न थालेको छ । नभए त, दशैंको रौनक नै कहाँ सुरु हुन्छ ।

चङ्गा र दशैं एकअर्काको पर्याय झै लाग्छ । चङ्गा नउडेसम्म दशैंको रंग नचढ्ने, दशैं नआएसम्म चङ्गाको खेल सुरु नहुने । जसै दशैं आउँछ, आकाशमा चङ्गाहरु उड्न थाल्छ । आखिर के छ चङ्गासँग दशैंको नाता रु

चङ्गा उडाउनुसँग धेरै अर्थ जोडिएको छ । यसलाई प्रतिक एवं विम्बको रुपमा पनि लिने गरिएको छ । त्यसैपनि शरदीय वायुमा चङ्गा उडाउन सहज । त्यसमाथि दशैंको फुर्सद । यो एउटा रमाइलो गर्ने वा मनोरञ्जन लिने माध्याम पनि हो । दशैंको मुडमा खुला चौर वा छतमा गएर चङ्गा उडाउनु कम्ता रमाइलो हुन्छ?

तर, चंगाको साइनो रमाइलोसँग मात्र छैन । यसले मौसमी अवस्थाबारे पनि जानकारी दिन्छ । चङ्गा उडाउनु भनेको खुला र मोहक मौसमको सूचक हो ।

किनभने चङ्गा उडाउनका लागि अरु मौसम अनुकुल हुँदैन । यतिबेला भने आकाश खुला हुन्छ । वायुमण्डलमा शीतल हावा चल्न थाल्छ । चङ्गा उडाउन मन्द हावाको बहाव चाहिन्छ ।

विजय र वर्चश्वको बोझ लिएर उड्ने चंगा ए रोमाञ्चक खेल मात्र होइन, जीवन दर्शन पनि हो । यो उमंगको प्रतिक हो, स्वच्छन्दको प्रतिक हो, उचाईको प्रतिक हो । भनिन्छ, चंगा उडाउँदा हामी दुख, पीर भुल्छौं । दम्भ, रिस, राग भुल्छौं । मनमा उमंग छाइरहेको हुन्छ । यसले हामीमा महत्वकांक्षा जगाउँछ । आकाश छुनुपर्छ भन्ने सन्देश दिन्छ ।

चंगाको लामो इतिहास छ । भनिन्छ, चंगाको आविष्कार चीनमा ईशा पूर्व तेस्रो सताब्दीमा भएको हो । विश्वमै पहिलो चिनिया दार्शनिक हुआंग थेगले चंगा बनाएका थिए । यस हिसाबले हेर्दा चंगाको इतिहास २३ सय बर्ष पुरानो छ ।

यो विश्वकै आकासमा उड्छ । हामीकहाँ यसको धार्मिक कथन पनि छ, जसअनुसार ‘वर्षा र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पु¥याउन चङ्गा उडाउने प्रचलन सुरु भएको हो ।’

चङ्गा फगत खेल मात्र होइन । यो कला हो । चङ्गा त्यसै उड्दैन, उडाउन जान्नुपर्छ । साथै यसलाई जीवन जिउने कलासँग पनि जोडिएर हेरिएको छ । जानकारहरु भन्छन्, ‘चंगा उडाउने कलाले हामीलाई जीवन र जगतका धेरै कुरा बोध गराउँछ ।’

धागोले बाधिएर लट्टाईबाट नियन्त्रण गरिने चंगा अनेक मान्यता, अन्धविश्वास र अनौठो प्रयोगको आधार पनि रहेको छ । मानिसको महत्वकांक्षालाई आकाशको उचाईसम्म लिएर जाने चंगालाई कतै शगुन र कतै अपशकुनको रुपमा लिने गरिन्छ । प्राचीन दन्त्यकथालाई विश्वास गर्ने हो भने, चीन र जापानमा चंगाको प्रयोग सैन्य उदेश्यका लागि पनि गरिन्थ्यो ।

चीनमा राजा राजवंशको क्रममा उडेको चंगालाई त्यतीका छाड्नु भनेको दुर्भाग्य वा रोगलाई निम्तो दिनु समान मानिन्थ्यो । कोरियामा चंगामा बच्चाको नाम र उसको जन्ममिति लेखेर उडाइन्थ्यो, ताकि त्यसबर्ष बच्चाको संभावित दसा काटियोस् ।

आखिर जे भएपनि हामीकहाँ यसलाई उत्सवको रुपमा लिने गरिएको छ । दशैंको उमंगमय मौसममा चंगा उडाएर रमाइलो गरिन्छ । यतिबेला खुला चौर, खेतबारी, छतमा उभिएर चंगा उडाइन्छ । कतिपय स्थानमा चंगा चेट प्रतियोगिता समेत हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*