Home / Feature Breaking news / मर्यादित पत्रकारिताको आवश्यकता

मर्यादित पत्रकारिताको आवश्यकता

दाङ, १० असोज । पत्रकारहरुले परिवर्तनसँगै जनजीविकासँग जोडिएका विषयहरुलाई प्राथमिकता दिएर कमल चलाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले राजनीतिक परिवर्तनसँगै जनताका कुराहरुलाई जनपत्रकारहरुले प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका थिए ।

जनपत्रकार संगठनका लुम्बिनी प्रदेश संयोजक दिपेश पराई विष्टको अध्यक्षता तथा नेकपा माओवादीका केन्द्रीय सदस्य बलबहादुर वली ‘शीतल’को प्रमुख आतिथ्य एवं जनपत्रकार संगठनका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्माको विशिष्ट आतिथ्यमा भएको सम्मेलनको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले पत्रकारहरुले जनजीविकाका सवालहरुसँगै मर्यादित पत्रकारिता गर्न आवश्यक रहेको बताएका छन् । पत्रकारिता क्षेत्रको विकाससँगै नयाँ नयाँ चुनौतीहरु समेत देखिएकाले पत्रकारहरुले अचारसंहिताभित्र रहेर काम गर्नुपर्नेमा जोड दिएका थिए । साथै उनीहरुले पार्टीले दिएको जिम्मेवारीलाई जनपत्रकारहरुले इमान्दारिताका साथ पालना गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै नेकपा माओवादीका केन्द्रीय सदस्य बलबहादुर वली ‘शीतल’ले पत्रकारहरुले जनताका कुराहरुसँगै पार्टीका धारणालाई जनतासम्म पु¥याउने काम गर्नुपर्ने बताएका थिए । उनले परिवर्तनका लागि सञ्चार माध्यमको ठूलो भूमिका हुने भएकाले परिवर्तनका पक्षमा सञ्चारकर्मीले कलम चलाउनुपर्ने बताएका थिए । त्यसका लागि जनपत्रकारहरुले जनताको माझ पुगेर उनीहरुका दुखका कुराहरुलाई उठाउनुपर्ने बताएका थिए । जनपत्रकार संगठनका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्माले पत्रकारिता क्षेत्रको विकाससँगै पत्रकारहरुको अधिकारका लागि संगठन अन्य संगठनहरुसँग मिलेर अघि बढ्न तयार रहेको बताएका थिए । उनले आफ्नो संगठनको उद्देश्य फरक रहे पनि पत्रकारिता क्षेत्रको विकास र श्रमजीवी पत्रकारहरुको हकअधिकारको लागि सबैसँग सहकार्य गर्न सकिने बताएका थिए ।

कार्यक्रममा जनपत्रकार संगठनका केन्द्रीय निवर्तमान अध्यक्ष प्रकाश डुम्रे, जनपत्रकार संगठनका कर्णाली प्रदेश अध्यक्ष वसन्त विश्वकर्मा, नेपाल पत्रकार महासंघ दाङ शाखा सल्लाहकार तथा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसी, पत्रकार महासंघ दाङ सल्लाहकार तथा नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी आचार्य, जनपत्रकार संगठनका केन्द्रीय सदस्य दाना केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जनपत्रकार संगठनका जिल्ला अध्यक्ष हेमन्त वलीको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलनको सहजीकरण संगठनका अनिल नेपालीले गरेका थिए । भेलामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरुको सहभागिता रहेको छ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*