Home / Feature Breaking news / विद्यार्थीले बनाए ‘पानी भरिएको संकेत दिने यन्त्र’

विद्यार्थीले बनाए ‘पानी भरिएको संकेत दिने यन्त्र’

तुलसीपुर, २३ भदौ । घरको ट्यांकीमा पानी लगाउँदा सधै पानी खेर जाने समस्या तपाईले व्यहोरिरहनु भएको छ ? यो आम समस्या हो । ट्यांकीमा पानी लगाएको भुलेर पानीको क्षति भएका घटना कसैका लागि नौलो होइन तर तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजका विद्यार्थीहरुले भने पानी सूचक यन्त्र बनाएका छन् ।

पानी भरिदै जाँदा कति प्रतिशत पानी भरियो भनेर संकेत दिने यन्त्र उनीहरुले बनाएका हुन् । डिप्लोमा तहको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स पहिलो वर्ष विद्यार्थीहरुले यस्तो यन्त्र बनाएका हुन् । शिक्षालयको परियोजना कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले विभिन्न उपकरण बनाइरहेको कलेज प्रमुख वसन्त आचार्यले बताए । पानी सूचक यन्त्रको आवश्यकता अहिलेको समयमा निकै रहेको भन्दै उनीहरुले बनाएको विद्यार्थी खेमराज नेपालीले बताए । उनले यसलाई परियोजनाका रुपमा बनाए पनि विस्तारै सहयोग पाएमा व्यावसायिकरुपमा बनाउन सकिने पनि जनाए । ‘कलेजले हामीलाई परियोजना कार्यक्रम बनाउने अवसर दियो सोहीअनुसार हामीले यो निर्माण ग¥यौ’ अर्का विद्यार्थी अशोक भण्डारीले भने ।

पानी सूचक यन्त्रमा पानी भर्ने ट्यांकीमा तारको कनेक्सन गरेर कति पानी भरियो भन्ने जानकारी लिन सकिन्छ । ‘हामीले २५ प्रतिशत, ५० प्रतिशत, ७५ प्रतिशत र १ सय प्रतिशत पानी भरिएको जानकारी दिने गरी यन्त्र बनाएका छौँ’, विद्यार्थी नेपालीले भने । उनका अनुसार ट्यांकीमा जति प्रतिशत पानी भरिन्छ सोही अनुसार कोठामा रहेको यन्त्रमा बत्ती बल्ने छ । ‘पानी पुरै भरिएपछि बेलसमेत बज्ने गरी हामीले बनाएका छौँ’, नेपालीले भने ।

तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथमा स्थापना भएको कलेजमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरेर विभिन्न परियोजनासमेत सञ्चालन गरिने कलेज प्रमुख आचार्यले बताए । ‘हामीले कक्षामा पढाउने मात्रै भन्दा पनि विद्यार्थीको सीप र क्षमताका लागि विभिन्न परियोजना सञ्चालन गर्दै आएका छौँ’, कलेज प्रमुख आचार्यले भने– ‘विद्यार्थीहरुले बनाएको यन्त्रलाई व्यावसायिकता दिनका लागि कलेजले सहयोग गर्नेछ ।’ पानी संकेत सूचक यन्त्रलाई नविन ढकाल, निराजन भण्डारी, सूर्यप्रकाश घर्तीलगायत पाँच जनाले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*