Home / Feature Breaking news / सडकमा मकै पोलेर चलेको दैनिकी

सडकमा मकै पोलेर चलेको दैनिकी

शिवराज खनाल

लमही, १८ साउन । साउनमा घामको तातो एकातिर, आगोको राप अर्कातिर । शरीर पसिनाले भिजेको छ । दिनहुँ चिम्टा समाउँदा ठेला परेका छन्, हात । कोइला र मकैसँगै दैनिकी चलाइरहेका उनको मुहारमा कोइलाकै दागले भरिएको छ ।

लमही बसपार्कमा मकै पोलेर जीवन चलाइरहेका उनी हुन् सुर्खेत जिल्ला निवासी जितबहादुर खड्का हुन् । ३६ बर्षीय खड्का लामो समयदेखि मकै पोल्दै आएका छन् । त्यहीबाट आएको पैसाले उनले ४ जनाको परिवारसमेत पाल्दै आएका छन् । ‘मेरो आम्दानीको अन्य स्रोत छैन । त्यसैले चारैजना मकै पोल्ने काम गर्छौ’, खड्काले भने– ‘त्यहीबाट कमाएको पैसाले परिवार चलाउँदै आएका छौँ ।’

दिनभर मकै पोलेर करिब आठ सय रुपैयाँ कमाउने गरेकोसमेत उनी बताउँछन् । केही नहुनुभन्दा सडकमै मकै पोलेर भएपनि घर व्यवहार धान्ने पैसा आउने गरेको श्रीमती ममता खड्का बताउँछिन् । घरको अन्य आम्दानीको कुनै स्रोत नभएको उनले बताइन् । ‘दिनभरी मकै पोल्दा ८ सय जति कमाइ हुन्छ’, उनले भनिन्– ‘त्यही पैसाले हो साँझ विहानको छाक टार्ने र लत्ताकपडा किन्ने पनि ।’ उनले कमाई गरेको पैसा खान लाउनसँगै कोठा भाडा तिर्ने र छोराहरुको पढाईमै सकिने गरेको बताइन् ।

उनले देउखुरी क्षेत्रमा बाह्रै महिना मकैखेती हुने गरेका कारण पनि आफूहरुलाई जीवन धान्न सहज भएको बताइन् । ‘देउखुरीमा बाह्रै महिना मकै उत्पादन हुने भएकाले पनि हामीहरुलाई जीवन धाउन सजिलो भएको छ । तातो घाममा आगोको रापमा पसिनाका धारा पुछ्दै मकै पोलेको कमाइबाट २ छोराको पढाइ खर्चको जोहो गर्ने र परिवार पाल्दैमा सकिने र लकडाउनका कारण २ छोरालाई पनि यही ब्यबसायमा लगाएको मकै व्यापारी खड्का बताउँछन् । उनले पोलेको मकै प्रतिकोसा २० रुपैयाँ र नपोलेको मकै १५ का दरले बिक्री गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*