Home / Feature Breaking news / बर्खास्त भएका लुम्बिनीका दुई सांसद सर्वोच्चमा

बर्खास्त भएका लुम्बिनीका दुई सांसद सर्वोच्चमा

नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेपछि बर्खास्तीमा परेका लुम्बिनीका दुई सांसद अदालत पुगेका छन् । लुम्बिनी प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीले आफुहरूलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।

माओवादीबाट एमाले पुगेका प्रतिनिधि सभा सदस्यहरूले पनि आफुहरू माओवादीमै रहेको भन्दै सदस्य पद बचाईदिन अपिल गरेका छन् । तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको संयुक्त घोषणपत्रका आधारमा निर्वाचनमा लडेको उनीहरूको जिकीर रहेको छ । ‘हामीले संयुक्त निर्वाचन घोषणापत्रका आधारमा निर्वाचन लडेका हौं । अहिले एमाले प्रवेश गरेको भनेर हामीलाई हटाइयो त्यो काम विधि विधान विपरित  छ’ निवेदक न्यौपानेले भने ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि दुवै जनालाई मााओवादी छाडेर एमालेमा सक्रिय रहेको भन्दै प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो ।

माओवादी केन्द्रको पत्रको आधारमा सभामुख पूर्ण बहादुर घर्तीले रुपन्देहीको क्षेत्र नं १ ख र गुल्मीको क्षेत्र नं १ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरूलाई दुवै जनाको सांसद पद रिक्त भएको जानकारी दिएका थिए । निवेदकहरूले नेकपा माओवादी केन्द्र,लुम्विनी प्रदेश प्रदेशसभा सचिवालय, लुम्विनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई बिपक्षी बनाई निवेदन दिएका छन् ।

उक्त निवेदनमाथि आज अन्तरिम आदेश हुने नहुने टुंगो लाग्‍ने निवेदकहरूका तर्फबाट मुद्धा हेरी रहेका अधिवक्ता ईश्वरी भटराईले बताए । निवेदकहरूको तर्फबाट अधिवक्ता भटराईसँगै वरिष्ठ अधिवक्ता हरिहर दाहाल, विजयकान्त मैनाली, शुरेश कुमार महतो, रमेश बडाललगायतले बहस गर्नेछन् । उनीहरू दुवै जना एमाले पार्टीको विभिन्‍न जिम्मेवारीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*