Home / Feature Breaking news / खेलकुदमा कोरोना असर : झाङ्गिएको बरमुण्डा, सुस्ताएको खेल

खेलकुदमा कोरोना असर : झाङ्गिएको बरमुण्डा, सुस्ताएको खेल

दाङ, १९ असार । सिन्थेटिक ट्रयाकसहितको आधुनिक एवं स्तरीय खेलमैदान निर्माणले अन्तिम स्वरुप लिइरहँदा वि.सं. २०७५ सालको चैत महिनाको धुपमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहँदा बेलझुण्डी रंगशालामा खेलप्रेमीहरुका आँखा टक्क अडिन्थे, खेलप्रतिको आशा तरंगित हुन्थ्यो, अनि उत्साह पनि थपिएको थियो ।

राष्ट्रिय खेलकद प्रतियोगिताको विधिवत समापन नै यही रंगशालामा हुने भनिएको थियो, यद्यपि रंगशाला निर्माणको काम पूरा नभएका कारण हुन सकेन । तैपनि बेलझुण्डी रंगशालामा विभिन्न एथ्लेटिक्स, तथा महिला फुटवल प्रतियोगिता भने सम्पन्न भयो । सो प्रतियोगिताअन्तर्गत कराँते र तेक्वान्दो तुलसीपुरको कभर्डहल र बास्केट बल लमहीको क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता भएका थिए । त्यसलगत्तै फेरि बेलझुण्डी रंगशालामा विद्यालय तहको प्रदेशस्तरीय क्वीक्स फुटवल प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न भयो ।

त्यो बेला दाङका खेलाडीहरुमा देखिएको खेलप्रतिको उत्साह अहिले भने सेलाउन थालेको छ । सिंगै खेलजगत अहिले थला परेको अनुभूति खेलाडीहरुमा हुन थालेको छ । खेलमैदानमा बरमुण्डा झाङ्गिएको छ, सेन्थेटिक ट्रयाकमा पानी जम्न थालेको छ, खेलाडीहरुको खेलप्रतिको उत्साह भने सुस्ताएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट खेलकुद क्षेत्र पनि अछुतो रहन सकेको छैन । पहिलो चरणको कोरोना भाइरसको संक्रमण कम भएसँगै चलायमान हुन थालेको खेलकुद क्षेत्र दोस्रो चरणको लकडाउनका कारण पूर्णरुपमै सुनसान बन्न पुग्यो । त्यसको असर तल्लो तहमा अझ धेरै देखिएको छ । केन्द्रमा राष्ट्रियस्तरका केही प्रतियोगिताहरु भए पनि जिल्ला तहहरुमा खेलकुदका राम्रा प्रतियोगिताहरु हुन सकिरहेका छैनन् । जसको एउटा उदाहरण हो, दाङमा बेलझुण्डीमा रहेको फुटवल रंगशाला ।

दुई बर्षअघि राष्ट्रियस्तरका प्रतियोगिताहरु दाङमै गर्न सकिने गरी रंगशाला निर्माण भए पनि उक्त रंगशालाले दुई बर्षदेखि खेलाडीसमेत पाउन सकेको छैन । लाखौ रुपैयाँ खर्च गरेको रंगशाला खेलविहीनजस्तै बन्न पुगेको छ । फुटवलसँगै एथ्लेटिक्सलगायतका खेलहरु सञ्चालन गर्न सकिने गरी दुई बर्ष पहिले रंगशाला निर्माण भएको थियो । गतबर्षको चैतमा कोरोना संक्रमण देखिएपछि जिल्ला तहमा कुनै गतिविधि हुन सकेनन् । साना प्रतियोगिताहरु घोराही, तुलसीपुरलगायतका ठाउँमा भए पनि ठूला प्रतियोगिताहरु नहुँदा रंगशालाले दुई बर्षदेखि खेलाडी पाउन नसकेको खेलाडीहरु बताउँछन् ।

फुटवलमात्रै होइन अन्य खेलहरुको अवस्था समेत त्यस्तै छ । कोरोना भाइरसको महामारीका कारण करिब एक बर्षदेखि गतिलो प्रतियोगिता गर्न नसकिएको दाङ आईटिएफ तेक्वान्दो संघका जिल्ला अध्यक्ष भीमबहादुर थापाले बताए । आईटीएफ तेक्वान्दो खासगरी आत्मसुरक्षाका लागि खेलिने इण्डोर गेम भए पनि पछिल्लो समय जिल्लामा गति लिँदै गरेको थियो तर कोरोना भाइरसका कारण अप्ठेरोमा परेको अध्यक्ष थापाले बताए । कोरोना भाइरसको संक्रमण दर कम भएसँगै खेलाडीहरु व्यक्तिगतरुपमा खेल्न तयार भए पनि तत्काल प्रतियोगिता गर्ने सोच नभएको समेत बताए ।

‘खेलकुद क्षेत्रसँग जोडिएको क्षेत्र आर्थिक हो, तर कोरोना भाइरसका कारण आर्थिक क्षेत्र सुनसान छ’, अध्यक्ष थापाले भने– ‘खेलकुद प्रतियोगिता गर्नका लागि अर्थसँग जोडिन्छ । तर अहिले कसैसँग सहयोग माग्न सक्ने अवस्था समेत छैन ।’ राम्रो अवस्था आए केही महिनापछि जिल्लामा प्रतियोगिता गर्न सकिने समेत बताए ।
त्यसैगरी क्रिकेट, भलिवल, हाप्किडो, तेक्वान्दो, एथ्लेटिक्स, बास्केटबल, टेवल टेनिसलगायतका प्रतियोगिताहरु समेत हुन सकिरहेका छैनन् । समग्ररुपमा खेलकुद क्षेत्र सुनसान अवस्थामा पुग्नु भनेको कोरोना भाइरसको मुख्य असर रहेको जिल्ला खेलुकद विकास समिति दाङका पूर्व कोषाध्यक्ष कैलाश रोकामगर बताउँछन् । ‘दाङ पछिल्लो समय खेलकुद क्षेत्रमा सम्भावना बोकेको क्षेत्रका रुपमा रहेको छ ।

त्यहीअनुसार फुटवल, क्रिकेटलगायतका खेलकुदका संरचनाहरु समेत तयार भइरहेका छन्’, पूर्व क्रिकेट खेलाडीसमेत रहेका रोकाले भने– ‘तर पछिल्लो समय दुई चरणमा देखिएको कोरोना भाइरसका कारण खेलकुदका राम्रा प्रतियोगिताहरु हुन सकिनन् ।’ त्यसैगरी उनले खेलकुदलाई स्थानीय सरकारहरुले प्राथमिकतामा नराख्दा पनि जिल्लाको खेलुकद क्षेत्रको विकास हुन नसकेको बताएका छन् । देशकै अन्य क्षेत्रहरुमा स्थानीय तहहरुले राष्ट्रियस्तरसम्मका प्रतियोगिताहरु गर्ने गरे पनि दाङमा कुनै पनि स्थानीय तहले जिल्लास्तरीय प्रतियोगिताको समेत आयोजना गर्न नसक्नु पनि खेलकुद क्षेत्रको विकास नहुनुमध्येको एउटा कारण रहेको खेलाडीहरुले बताउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*