Home / Feature Breaking news / अहिलेको अवस्थामा महानगर बनाउन उपयुक्त छैन : क्षेत्रीय सभापति डाँगी

अहिलेको अवस्थामा महानगर बनाउन उपयुक्त छैन : क्षेत्रीय सभापति डाँगी

दाङ,८ असार । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगीले लुम्बिनी प्रदेश सरकारले घोराही र तुलसीपुरलाई गाभेर महानगरपालिका बनाउन तयारी थालेकोप्रति आफ्नो गम्भीर ध्यानाकार्षण भएको जनाउनुभएको छ ।

मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरी क्षेत्रीय सभापति डाँगीले अहिलेको सन्दर्भमा महानगर बनाउने काम सरासर मापदण्ड विपरित, ऐन कानुन विपरित र जनचाहना विपरित कार्य भएको टिप्पणी गर्नुभएको छ । उहाँले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘यो सरासर मापदण्ड र ऐन विपरितको काम हो, महानगरपालिका बनाउने भनेको जनताको सुविधाका लागि हो, भुगोलमात्र ठूलो बनाएर जनतालाई थप असुविधा दिएर महानगरपालिका बनाउनुको कुनै अर्थ छैन ।’

उहाँले महानगर बनाउन अहिले सरकारी मापदण्ड पनि नपुग्ने भन्दै जनचाहना विपरित यस्तो गलत कदम नचाल्न पनि प्रदेश सरकार र स्थानीय सरकारलाई अपिल गर्नुभएको छ । उहाँले स्थानीय साधनश्रोत, जनसंख्याको अवस्था, सडक, बिजुली, अस्पताल, सभागृह, विद्यालय, आर्थिक श्रोत, एयरपोर्ट, उद्यान, होटेल पर्यटन उद्योग कलकारखाना जस्ता आधारभुत कुराको अवस्थालाई भरपर्दो बनाउन नसकिएको अवस्थामा अहिले नै दाङलाई महानगरपालिका बनाउन उपयुक्त नहुने तर्क गर्नुभएको छ ।

उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘यो गरिव जनतालाई हात्ती पाल्न दिए जस्तो हुन्छ, प्रदेश सरकारको जनहित विपरित जवर्जस्ति महानगरपालिका बनाउने कार्यप्रति हामी गम्भीर असहमति जाहेर गर्दछौं, यसले दाङको ऐतिहासिक धरोहर घोराही उपमहानगरपालिको अस्तित्वमा पनि धावा बोल्ने काम हुँदैछ ।’

यस्तै, उहाँले अहिले कोरोनाका कारण नागरिकहरु समयमा औषधि उपचार पाउनबाट वञ्चित भई जीउज्यान गुमाउन बाध्य हुनु राज्यको असंवेदनशील र गैरजिम्मेवारको पराकाष्ठा भएको बताउनुभएको छ । कोरोनाको नाममा नागरिकको उपचारका लागि खरीद गर्नु पर्ने औषधिमा कमिसन र भ्रष्टाचारमा सरकार लिप्त भएको उहाँको आरोप छ ।

छिमेकी मुलुकले उपलब्ध गराएको कोरोना विरुद्धको खोपमा पनि मापदण्ड विपरित आफन्तहरुलाई वितरण गरिएको, जेष्ठ नागरिक, अशक्त, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अग्रमोर्चामा खट्ने विभिन्न पेशाकर्मी, संचारकर्र्मीले खोप पाउन नसकेको उल्लेख गर्दै स्थानीय सरकारका जनप्रतिनिधिले सत्तासीन पार्टीका पहुँचवाला कार्यकर्तालाई खोप प्रदान गरि सत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘कोरोनाबाट नागरिकलाई बचाउनु राज्यको पहिलो दायित्व भएकाले स्थानीय, प्रदेश र संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, तसर्थ खोपको तुरुन्त व्यवस्था गरि जेष्ठ नागरिक, स्वास्थ्यकर्मी सफाईकमी, सुरक्षाकर्मी, सञ्चारकर्मी, पेशाकर्मी लगायत सबै नेपालीहरुलाई तुरुन्त खोप लगाउने व्यवस्था गरियोस् र जारीे निषेधाज्ञालाई मापदण्ड अपनाउँदै सहज बनाईयोस् । ’

यसैबीच, क्षेत्रीय सभापति डाँगीले कोरोनाको कहरलाई सरकारले आफ्नो सत्ताको रक्षा कवच बनाउँदै देशमा अवैधानिक शासन सत्ता चलाई रहेको तर्क गर्नुभएको छ । सरकारले जनतालाई करको बोझ थोपर्दै करिव ६ खर्बको ऋणभार बोकाएको जिकिर गर्नुभएको छ । सभभापति डाँगीले सरकारको वर्तमान कार्यशैली जनविरोधि भएकाले सरकारको नीति कार्यक्रम प्रति पनि आफु र आफ्नो पार्टी नेपाली काँग्रेसको गम्भीर असहमति रहेको प्रष्ट पार्नुभएको छ ।

फरक प्रसंगमा, सभापति डाँगीले नेपाली कांग्रेसको जिल्ला सभापति र घोराही उपमहानगरको मेयरमा फेरी पनि उठ्ने बताउनुभएको छ । कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफु नै जिल्ला सभापतिका लागि उपयुक्त पात्र भएको जिकिर गर्दै जिल्ला सभापति पदमा सबैको सहयोगको अपेक्षा गर्नुभएको छ । यस अघि दुई कार्यकाल क्षेत्रीय सभापति भएर निष्ठापूर्वक जिम्मेवारी वहन गरेको सबैलाई जगजाहेर भएको तर्क गर्दै अब जिल्ला सभापतिमा उठ्नु पर्ने बेला आएको बताउनुभयो ।

गाउँ वडा तहसम्म पुगेर सबै नागरिकको मन विचार र उनीहरुको चाहना बुझेर नै आफु सभापतिका लागि उठ्न चाहेको बताउनुभयो । यस्तै, यस अघि भएको स्थानीय तहको मेयर पदमा पनि उम्मेदवारी दिनुभएको सभापति डाँगीले पुनः मेयर पदमा उठ्ने घोषणा गर्नुभएको छ । अवको स्थानीय चुनावमा फेरी पनि तपाईको उम्मेदवारी रहन्छ की के हुन्छ भन्ने पत्रकारको जिज्ञासामा उहाँले आफु नै नेपाली कांग्रेसका भरपर्दो र जिम्मेवार उम्मेदवार भएकाले आफु फेरी मेयर पदमा उठ्ने बताउनुभएको छ ।

हालका मेयर नरुलाल चौधरीले जनचाहनालाई सम्बोधन गर्न नसकेको, नागरिकको पक्षमा काम गर्न नसकेको, दीगो विकासका मुद्धालाई स्थापित गर्न असक्षम भएको उहाँको आरोप छ । जनचाहना र नागरिकले प्रत्यक्ष अनुभूत गर्न सक्ने खालको दीगो विकास नै स्थानीय सरकारको प्राथमिकतामा पर्नु पर्नेमा यसो हुन नसक्नु नै आम घोराही उपमहानगरपालिकाबासीहरुका लागि दुखद पक्ष भएको तर्क गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*