Home / Feature Breaking news / संक्रमण बढेपछि बल्ल परीक्षण बढाउँदै सरकार

संक्रमण बढेपछि बल्ल परीक्षण बढाउँदै सरकार

दाङ, १० वैशाख

सरकारले कोरोना भारइसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि मात्र परीक्षणलाई बढाएको छ।

यसअघि दैनिक ४ देखि ५ हजार जनाको परीक्षण गरिँदै आइएकोमा अहिले परीक्षण संख्यालाई दोब्बर पुर्‍याइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार १० हजार ४४८ जनाको परीक्षण गरिएको छ। जसमा एक हजार एक जनाको पिसिआर र ४४७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको हो।

१० हजार परीक्षण गरिएकोमध्ये २ हजार ४२८ जनामा संक्रमण पुष्टि भएको थियो। यो भनेको २३.२ प्रतिशत संक्रमण दर हो।

पछिल्लो समय ‘यूके भ्यारियन्ट’ भनेर चिनिने नयाँ भ्यारियन्ट नेपालमा समेत फैलिएकाले संक्रमण दर नै उच्च देखिएको छ। उक्त भ्यारियन्ट छिटो फैलिनसक्छ र सहजै एकबाट अर्कोमा सर्न सक्ने भनिएको छ।

नेपालमा पनि गत चैत महिनादेखि नयाँ भ्यारियन्टको असर देखिन सुरु गरेको हो। तर त्यसबेला सरकार गम्भिर नहुँदा परीक्षण बढाइएको थिएन।

भारतबाट हुलका हुल मानिसहरू परीक्षणबिनै नेपाल आए। अहिले त्यसको असर अस्पतालहरूमा देखिएको छ। देशभर रहेका धेरै अस्पतालमा गम्भिर संक्रमितको संख्या बढिरहेको छ।

कति अस्पतालहरूमा संक्रमितका लागि बेड अभाव भइरहेको छ।

नेपालगञ्जस्थित भेरी अस्पताल र दाङको बेल्झुण्डी अस्पतालमा संक्रमित भर्नाका लागि बेड अभाव छ। काठमाडौं उपत्याकाका धेरै अस्पतालहरूमा पनि गम्भिर संक्रमित बढ्न थालेका छन्।

गत चैतदेखि नै संक्रमण भित्रिन थालेपनि सरकारले भने वैशाखको पहिलो साताबाट मात्र परीक्षण बढाएको छ। अहिले भइरहेका परीक्षण पनि सरकारले खोजिखोजि गरेको परीक्षण हैन।

अहिले भएका परीक्षण भनेको सीमा नाकामा आउने मानिसहरू र आफैं समस्या भएर परीक्षण गर्न पुगेका मानिसहरू हुन्। किनभने सरकारले परीक्षणबाहेक महत्वपूर्ण मानिने कन्ट्याक्ट ट्रेसिङको कार्यलाई चुस्त बनाएको छैन।

विज्ञहरूले भने सरकारले भारतमा नयाँ भेरियन्ट फैलिनुवित्तिकै नेपालमा पनि आवश्यक रोकथामका कमद चाल्नुपर्ने तर सरकारले त्यसमा उदासिनता देखाएको बताएका छन्।

संक्रमणको जोखिम चैत्र सुरु हुँदै रहेको भएपनि सरकारले त्यो बेला परीक्षणमा जोड दिएन। चैतको दोस्रो साता गरिएको परीक्षण संख्याले पनि सरकारले परीक्षणमा देखाएको उदासीनता छर्लंङ्ग हुन्छ। मन्त्रालयकै तथ्यांक अनुसार चैत १५ गते जम्मा २ हजार १०१ जनाको परीक्षण भएको छ।

साथै त्यो बेला सरकारले पिसिआर भन्दा पनि एन्टिजेन विधिलाई जोड दिएको थियो। तर विज्ञहरूले भने एन्टिजेन परीक्षणलाई बढवा दिन घातक हुने भन्दै सरकारलाई चेतावनी दिएको थियो। यद्यपि सरकारले भारतबाट आएका मानिसहरूमा पनि धेरैलाई एन्टिजेन परीक्षण नै गर्यो।

एन्टिजेन विधि पिसिआर जस्तो प्रभावकारी नहुने भन्दै विज्ञहरूले त्यसको प्रयोग रोक्नुपर्ने बताएका थिए। अहिले भने संक्रमण तीव्र फैलिएपछि सरकारले पुनः पिसिआर परीक्षणलाई जोड दिएको छ।

गत २४ घण्टाकै तथ्यांक हेर्ने हो भने झन्डै साढे १० हजारको परीक्षण गरिएकोमा १० हजार जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयले देशभर रहेका प्रयोगशालाहरूबाट दैनिक २५ हजार जनाको परीक्षण गर्न सकिने बताउँदै आएको छ।

अब संक्रमण दर तीब्र भइरहेको अवस्थामा परीक्षणलाई थप व्यापक पार्नुपर्ने अधिकारीहरूको सुझाव छ।

मन्त्रालयले नै आगामी असारसम्म संक्रमित संख्या ३ लाख पुग्ने बताएको छ।

यसले पनि सरकारले पनि समुदायमा संक्रमण व्यापक फैलिरहेको आँकलन गरेको छ। यसर्थ पनि परीक्षणलाई बढानुपर्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*