Home / Feature Breaking news / कोभिडको दोस्रो लहर : लकडाउन विकल्प होइन

कोभिडको दोस्रो लहर : लकडाउन विकल्प होइन

काठमाडौं । नेपालमा माघ १९, २०७६ सालमा पहिलो कोभिड–१९ पोजेटिभ बिरामी भेटिएको थियो । त्यस उप्रान्त कोभिड संक्रमण बढ्दै गएर प्रत्येक दिन हजारौं संक्रमित हुने र दिनमै करिब २० जनासम्म मृत्यु भयो । सरकारले चैत ११ २०७६ देखि लकडाउन गर्‍यो ।

पहिले एक हप्तालाई भनेर लागु गरेको लकडाउन चार–पाँच महिनासम्म निरन्तर चल्यो । लकडाउनको समयमा पनि संक्रमणमा कुनै प्रकारको कमी आएन । तर यो रोगको प्रकृतिअनुसार विस्तारै संक्रमित हुनेको संख्या र मृतकको संख्यामा ओरालो लाग्यो ।

तर भारतमा डबल म्युटेन्ट कोभिड–१९को संक्रमण बढेसँगै नेपालमा पनि संक्रमितको संख्यामा नाटकीय परिवर्तन आएको छ भने गतहप्तादेखि लगातार मृत्युको संख्या पनि दैनिक १३ जनासम्म पुगेको छ । अझै बढ्ने संकेत देखिएको छ ।

यस्तो अवस्थामा तुरुन्तै लकडाउन गर्नुपर्छ भन्नेहरूको संख्या पनि बढेर गएको छ । सरकारसमेत जनता जिम्मेवार नभए लकडाउनको विकल्प छैन भनिरहेको छ । तर, लकडाउन यो रोग नियन्त्रणको बलियो विकल्प नभएकाले हामी लकडाउन गर्ने सोचको प्रतिवाद गर्दैछौँ ।

नियन्त्रण गर्नु, बन्द गर्नु सरकारी निकायका लागि सहज काम हुन् । तर, जनताको अवस्था के हुन्छ ? भोलि अर्थतन्त्र कहाँ पुग्छ र बन्द वा लकडाउनले सोचेको परिणाम दिन्छ त भनेर सोच्ने मनस्थिति देखिएको छैन । जनताले मानेनन् भने अब लकडाउन हुन्छ भनेर जनतालाई तर्साउने अभिव्यक्ति स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीबाटै आइरहेको छ ।

एकातिर मन्त्री लकडाउनको धम्की दिइरहेका छन् भने अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओली आफैँ यो रोग केही होइन भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*