Home / Feature Breaking news / कोरोनाको दोस्रो लहर : परीक्षण, सीमा र अस्पतालमा के भइरहेको छ ?

कोरोनाको दोस्रो लहर : परीक्षण, सीमा र अस्पतालमा के भइरहेको छ ?

८ वैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरसँगै नयाँ भेरियन्टका कारण संक्रमणको ग्राफ बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार ८ हजार ७३८ जनाको स्वाब परीक्षण गर्दा १७०० संक्रमित पहिचान भए ।

आजभन्दा ठीक १५ दिन अगाडि ४ हजार २४३ जनाको स्वाब परीक्षण गर्दा २६० जनामा संक्रमण देखिएको थियो । यो तथ्यले पछिलो दुई हप्तामा संक्रमण दर आकाशिएको देखाउँछ ।

संक्रमणको व्यापक विस्तार भइरहेको बेला परीक्षण अत्यन्तै कम भएको जनस्वास्थ्य विज्ञ डा. शरद वन्त बताउँछन् । ‘संक्रमण दर २० प्रतिशतको हाराहारीमा पुगेको बेला परीक्षण विस्तार गरेर संक्रमितलाई आइसोलेटेड नगर्ने हो भने महामारी नियन्त्रण गर्न गरिएको हाम्रो प्रयास बालुवामा पानी खन्याएसरह हुन्छ’ डा. वन्त महामारी नियन्त्रणमा परीक्षणको महत्व प्रष्ट्याउँछन् ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि समुदायस्तरमा विस्तारित परीक्षणको जरूरी रहेको बताउँछन् । महामारीको दोस्रो लहरमा नयाँ भेरियन्टको प्रभाव कति छ भन्ने थाहा पाउन विस्तृत परीक्षण आवश्यक रहेको उनको भनाइ छ । उनको विचारमा सीमा नाकाबाट आएका, लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेका सबैलाई राज्यले निःशुल्क परीक्षण गर्नुपर्छ ।

‘संक्रमणको ग्राफ बढेको बेला ठूलो संख्यामा परीक्षण गर्‍यौं भने संक्रमित भेटिएकाहरू आइसोलेटेड हुन्छन् र धेरैलाई संक्रमण सार्ने सम्भावना कम हुन्छ’ डा. सुवेदी भन्छन्, ‘संक्रमित पहिचान भएकाहरूलाई संस्थागत आइसोलेसन र क्वारेन्टिनमा व्यवस्थापन गर्‍यौं भने संक्रमितबाट अरूलाई सर्ने सम्भावना कम हुन्छ ।’

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्ण पौडेल पनि परीक्षण कम भएको स्वीकार गर्छन् । ‘अहिले बाध्यात्मक अवस्थाले मात्र परीक्षण गराउन आउनेहरू छन्, समुदायमा परीक्षणमा सहभागी हुन अपिल गर्दा समेत परीक्षणमा सहभागी हुने मानिस अत्यन्तै कम छन्’ उनले भने, ‘कतिपय ठाउँमा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूबाट पनि स्वाब लिन गाह्रो भएको छ ।’

‘त्यसो भए अहिले परीक्षण गरिएकाहरू को–को हुन् त ?’

अस्पतालमा अन्य रोगको उपचार/सर्जरी गराउने, विदेश जाने, औपचारिक नाकाबाट नेपाल प्रवेश गर्दा लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको परीक्षण भइरहेको पौडेलले बताए । ‘केही आफैं पनि परीक्षण गर्न आएका छन्, तर लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका धेरै परीक्षण गर्न हिच्किचाइरहेका छन्’, उनले भने ।

ईडीसीडीका निर्देशक पौडेलका अनुसार लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकालाई राज्यले निःशुल्क परीक्षण गर्छ भन्दा पनि मानिस परीक्षण गर्न गएका छैनन् ।

टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीका अनुसार टेकु अस्पतालमा कोरोनाको लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूलाई निःशुल्क परीक्षण गरिएको छ ।

लक्षण देखिएका सबैलाई राज्यले सबै सरकारी अस्पतालमा निःशुल्क परीक्षण र उपचारको व्यवस्था गरेकाले परीक्षणमा सहभागी हुन ईडीसीडीका निर्देशक डा. पौडेल आग्रह गर्छन् । उनका अनुसार लक्षण नभएकाहरूले सरकारी अस्पतालको ल्याबमा रु.१ हजार तिरेर परीक्षण गराउन सक्छन् भने निजी ल्याबमा रु.२ हजार परीक्षण शुल्क तोकिएको छ ।

ईडीसीडीले पनि हटस्पटहरूमा परीक्षण बढाउन सम्बन्धित नगरपालिकाको स्वास्थ्य शाखालाई एन्टिजेन उपलब्ध गराउने गरेको छ । पौडेलले भने, ‘अब आवश्यकताअनुसार परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरे/नगरेको अनुगमन गर्छौं ।’

सीमा नाकाको अवस्था के छ ?

ईडीसीडीका अनुसार चैत ६ देखि वैशाख ६ गतेसम्म सीमा नाकाबाट छिर्ने १४ हजार ५१२ जनालाई एन्टिजेन परीक्षण गरिएको थियो, जसमध्ये ९४४ जना संक्रमितको पहिचान भएको थियो । पछिल्लो २४ घण्टामा (मंगलबार) ६८३ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना संक्रमित भेटिएका थिए । सोमबार ५४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण भेटिएको थियो ।

पीसीआर र एन्टिजेन परीक्षण गर्ने मापदण्ड केही मात्र फरक रहेको ईडीसीडीका निर्देशक डा. पौडेल बताउँछन् । उनका अनुसार सीमा नाकाबाट छिरेका शंकास्पद, तर लक्षण नभएकाहरूको एन्टिजेन परीक्षण गरिन्छ भने लक्षण देखिएकालाई पीसीआर । कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको पनि एन्टिजेन परीक्षण गरिन्छ । ‘शंकास्पदलाई एन्टिजेन गर्दा नेगेटिभ आयो भने पीसीआर गरिन्छ, तर पोजेटिभ आयो भने संक्रमितमा गनिन्छ’ डा. पौडेल भन्छन् ।

संस्थागत आइसोलेसन र होल्डिङ सेन्टर बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सम्बन्धित प्रदेश सरकारको समन्वयमा गड्डाचौकी, गौरीफन्टा, कृष्णनगर, बेलिया, जमुना, वीरगञ्ज, रानी र काँकडभित्तालगायत नाका नजिकै कम्तीमा एक हजार मानिस अट्ने होल्डिङ सेन्टर बनाउन मन्त्रालयले स्वीकृति दिइसकेको स्वास्थ्य सचिव लक्ष्मण अर्याल बताउँछन् ।

प्रदेश र संघीय सरकारको समेत सहयोगमा सञ्चालनमा ल्याउन लागिएको होल्डिङ सेन्टरमा भारतबाट आउने यात्रुलाई राखिनेछ । सबै यात्रुको कोभिडको लक्षण र ज्वरो जाँच गरिनेछ । शंकास्पद यात्रुको तत्कालै स्वाब परीक्षण गरिनेछ । नाकाबाट आउने सबै जनालाई लाइनमा राखेर स्वास्थ्य जाँच गर्न सम्भव नभएको र नाकाबाट छिर्ने सबैलाई सीधै घर पठाउँदा संक्रमण फैलिने जोखिम भएकाले यो निर्णय गरिएको स्वास्थ्य सचिव अर्याल बताउँछन् ।

होल्डिङ सेन्टर नबन्दासम्म प्रतिव्यक्ति प्रतिदिन रु.२ हजार दिएर होटलमा व्यवस्थापन गर्न सम्बन्धित नाकालाई स्वीकृति दिइएको ईडीसीडीका निर्देशक डा. पौडेल बताउँछन् । उनका अनुसार नाकाबाट छिरेका शंकास्पद व्यक्तिलाई होटलमा व्यवस्थापन गर्ने काममा सम्बन्धित हेल्थ डेस्क, जिल्लास्थित कोभिड संकट व्यवस्थापन केन्द्र र स्थानीय पालिकाले समन्वय गर्नेछ । ‘हामीले केन्द्रबाट गाइडलाइन, जनशक्ति, उपकरण सबै दिएका छौं’ डा. पौडेल भन्छन्, ‘सबै काम पर्फेक्ट भइरहेको छ भन्दैनौं, तर सबै निकायबीच सहकार्य गरेर हाम्रो प्रयासले धेरै राम्रो नतिजा दिनेछ ।’

भौतिक पूर्वाधारको अवस्था के छ ?

संक्रमण बढ्दै गएकाले भौतिक पूर्वाधारको तयारी गर्नुपर्ने जनस्वास्थ्यविद् डा. वन्त बताउँछन् । अब पनि अस्पतालमा आईसीयू या भेन्टिलेरमा बेड नपाएर संक्रमितको मृत्यु भयो भने त्यो राज्यको अपराध ठहरिने उनको भनाइ छ ।

‘हाम्रो स्वास्थ्य संस्थाले बिरामी धान्न नसक्ने अवस्थामा पुग्नु भनेको हामीले महामारी नियन्त्रणमा काम नगरेको र महामारीलाई हल्का रूपमा लिएर भौतिक पूर्वाधारमा लगानी नगरेको प्रमाणित हुनु हो’ डा. वन्त थप्छन्, ‘पहिलो लहरमा धेरै कुरा थाहा थिएन । प्रविधि, जनशक्ति र पूर्वाधार नभएर गर्न सकेको छैन भनेर शंकाको सुविधा दिएका थियौं । अब राज्यलाई छुट हुँदैन ।’

स्वास्थ्य मन्त्रालयले मंगलबारको तथ्यांक अनुसार देशभर कोभिड बिरामीका लागि १ हजार १६७ आईसीयू र ५१० वटा भेन्टिलेटर बेड छुट्याइएको छ । हाल १६० जनाका आईसीयू र ४५ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

महामारीको प्रकोप बढ्दै गएको अवस्थामा भक्तपुर खरिपाटीस्थित विद्युत् प्राधिकरणको भवन, कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको भवन, वीर अस्पतालको नयाँ भवन, दुवाकोटस्थित केएमसी अस्पतालको भवनमा पनि संक्रमित राख्ने तयारी रहेको स्वास्थ्य सचिव अर्याल बताउँछन् । उनी भन्छन्, ‘महामारीको सामना गर्न हामीले आफ्नोतर्फबाट तयारी पूरा गरेका छौं । अब अरू निकायको गम्भीर समन्वय जरूरी छ ।’

अनलाईनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*