Home / Feature Breaking news / विपद्बाट तीन बर्षमा १२८ जनाको मृत्यु

विपद्बाट तीन बर्षमा १२८ जनाको मृत्यु

लिलाधर वली

दाङ, ९ चैत । जिल्लामा तीन बर्षको अवधिमा विपद्का घटनाहरुबाट १ सय २८ जनाको मृत्यु भएको छ । लुप्त (साना) विपद्का घटनाबाट ज्यान घुमाउनेहरुको संख्या धेरै छ । विपद्का घटनाहरुमा ज्यान गुमाउने १ सय २८ जनामध्ये लुप्त बिपद्का घटनाहरुमा एक सय ८ जनाले ज्यान गुमाएका छन् भने अन्य २४ जनाले त्यसभन्दा ठूला विपद्का घटनाहरुमा ज्यान गुमाएका हुन् ।

लुप्त विपदका घटनाहरुमध्ये घर लिप्नका लागि प्रयोग गरिने माटो खन्ने क्रममा पुरिएर, सर्पदंशका कारण, करेन्ट लागेर, पानीमा डुवेर, खोलाले बगाएरलगायतका कारणले धेरैले अकालमा ज्यान गुमाउने गरेका छन् । तर यसतर्फ राज्यको ध्यान पुग्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको आपतकालीन कार्यसञ्चालन केन्द्र, जिल्ला प्रहरी कार्यालय दाङलगायतका विभिन्न कार्यालयका अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा १५ जना, आर्थिक बर्ष २०७५÷०७६ मा २३ जान र आर्थिक बर्ष २०७६÷०७७ मा ६६ जना गरी १ सय ४ जनाले जिल्लामा ज्यान गुमाएका छन् ।

दाङमा तीन बर्षको अवधिमा सबैभन्दा धेरै पानीमा डुवेर ५२ जनाले ज्यान गुमाएका छन् । उनीहरुमध्ये आर्थिक बर्ष २०७४÷०७५ मा ६ जना, आर्थिक बर्ष २०७५÷०७६ मा ११ र आर्थिक बर्ष २०७६÷७७ मा ३५ जना गरी ५२ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी सर्पदंशका कारण आर्थिक बर्ष २०७४÷०७५ मा २ जना, आर्थिक बर्ष २०७५÷०७६ मा ३ र आर्थिक बर्ष २०७६÷७७ मा १३ जना गरी १८ जना, खोलाले बगाएर आर्थिक बर्ष २०७४÷०७५ मा ७ जना र आर्थिक बर्ष २०७६÷०७७ मा ११ जना, रुख÷भीरबाट लडेर आर्थिक बर्ष २०७५÷०७६ मा ४ जना र आर्थिक २०७६÷०७७ मा ७ जना गरी ११ जना, करेन्ट लागेर आर्थिक बर्ष २०७५÷०७६ मा दुई जना र आर्थिक बर्ष २०७६÷०७७ मा ४ जना गरी ६ जना र औद्योगिक दुर्घटनामा आर्थिक बर्ष २०७५÷०७६ मा तीन जना गरी जिल्लामा तीन बर्षको अवधिमा एक सय २८ जनाले ज्यान गुमाएका हुन ।

त्यसैगरी ठूला विपद्का रुपमा बाढी, पहिरो, आगलागी र चट्याङबाट आर्थिक आर्थिक बर्ष २०७४÷०७५ मा १० जना, आर्थिक बर्ष २०७५÷०७६ मा ११ र आर्थिक बर्ष २०७६÷०७७ मा ३ जना गरी २४ जनाले जिल्लामा ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना तथा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा आइतवार घोराहीमा भएको ‘नेपालमा लुप्त विपद् घट्ना, क्षति र नोक्सानी’ विषयक कार्यक्रममा बोल्ने बक्ताहरुले विपद् व्यवस्थापन अन्तर्गत लुप्त विपद्का घटनाहरुलाई कम गर्नका लागि संघ, प्रदेश र स्थानीय तहहरुबीचमा समन्वय हुन आवश्यक रहेको बताएका थिए । लुप्त विप्दका घटनाका कारण ठूलो क्षति भए पनि त्यसतर्फ कसैको ध्यान पुग्न नसकेको बताएका थिए ।

देशका तीन तहका सरकारका बीचमा समन्वय भएर लुप्त व्यवस्थापनका घटनाहरु हुन नदिनका लागि योजना बनाएर काम गर्न सके धेरै नागरिकले अकालमा ज्यान घुमाउन नपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव कृष्णहरि पुष्करले बताएका थिए । ‘नेपालमा लुप्त विपद्का घटनाहरु धेरै हुने गरेका छन्, ती घटनाहरुमा ठूलो मानवीय क्षतिसमेत हुने गरेको छ’, सहसचिव पुष्करले भने– ‘यस्ता घटनाहरु कमी गर्न तीन तहका सरकार मिलेर काम गर्न आवश्यक छ ।’ उनले विपद् व्यवस्थापनका घटनाहरुलाई कम गर्नका लागि नीति–नियम बने पनि कार्यान्वयनमा कडाइँ गर्न नसक्दा विपद्का घटनाहरुमा कमी आउन नसकेको उनले बताएका थिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले विपद् न्यूनीकरण गर्नको लागि सबै क्षेत्रको सहयोग र सहकार्य आवश्यक भएको बताए । प्रत्येक वर्ष विपद्ले धेरै क्षति पुराउने गरेको छ’, प्रमुख नेपालीले भने– ‘यसलाई रोक्न तीन तहका सरकारले विशेष योजना ल्याउनुपर्छ ।’

कार्यक्रममा प्राधिकरणका नीति तथा कार्यक्रमका बारेमा सहसचिव कृष्णहरि पुष्कर, एकीकृत विपद् व्यवस्थापन सूचना प्रणाली आवश्यकता, अवसर र चुनौतीहरुका बारेमा उपसचिव उद्धवप्रसाद रिजाल, प्रदीप खतिवडा, दाङ जिल्लामा लुप्त विपदका घटनाका बारेमा किरण भण्डारी, घोराही उपमहानगरपालिका एकीकृत विपद् व्यवस्थापन सूचना प्रणालीका बारेमा उमेश शर्मा, तुलसीपुर उपमहानगरपालिकाका तर्फबाट नवराज लामिछाने र राजापुर नगरपालिका बर्दियाको तर्फबाट खुशीराम चौधरीले विपद् व्यवस्थापनसम्बन्धी गरेका क्रियाकलाप, नीति निमयका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुका प्रमुख जिल्ला अधिकारी, सूचना निकाय प्रमुख, स्थानीय तहका प्रमुखलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक अधिकृत गणेशदत्त ओझाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*