Home / Feature Breaking news / घोराही–लमही सडक खण्ड जीर्ण बन्दै

घोराही–लमही सडक खण्ड जीर्ण बन्दै

अमरराज आचार्य

दाड, २० फागुन । पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट जिल्लाको मुख्य केन्द्र घोराही पुग्ने सडक जीर्ण बनेको छ । पुरानो सडकको नियमित मर्मत–सम्भारको अभावसँगै ओभरलोड बोकेका टिप्परहरु हिँड्न थालेपछि घोराही–लमही सडकखण्ड जीर्ण बन्न पुगेको हो ।

जसका कारण सवारी साधन सञ्चालनमा समस्या हुने गरेको छ । सडकका क्षमताभन्दा बढी भार बोकेर टिप्पर तथा ट्रकहरु हिँड्न थालेपछि दिनप्रतिनिधि सडकको अवस्था कमजोर बन्दै गएको छ । त्यही कारण सडकको विभिन्न भागमा सडक दब्ने र कालोपत्रे उम्किनुका साथै खाडलहरु हुँदा सवारी साधन सञ्चालनमा समस्या हुने गरेको छ ।

पुरानो र साँघुरो सडकमा क्षमताभन्दा बढी भार बोकेर चल्ने सवारी साधनका कारण सडकको अवस्था कमजोर भएको हो । २३ किलोमिटर सडकखण्डका विभिन्न ठाउँहरुसहित मुख्य घुम्तीहरुमा अहिले खाडल र त्यसमा भएको धुलोका कारण गाडी चलाउन समस्या हुने गरेको चालक कमल चौधरीले बताए । सडक बिग्रिएर गाडी चलाउनै समस्या हुने अवस्था आउँदा पनि सम्बन्धित निकायले सडकको मर्मत सम्भारमा ध्यान नदिएको उनले बताए ।

‘घोराही–लमही सडकखण्डमा कालोपत्रे उम्किएर विभिन्न ठाउँमा खाडलहरु परेका छन, त्यी खाडलहरुमा माटो राखेर पुर्न खोज्दा अहिले सडक धुलाम्मे बन्न पुगेको छ’, चालक चौधरीले भने– ‘जसले गर्दा धुलो उडेर चलाउन थप समस्या हुने गरेको छ ।’ सुख्खा समयमा गाडीहरु चल्दा धुलो उडेर गाडीहरु मोडमा चलाउनै समस्या हुने गरेको उनले बताए ।

सम्बन्धित निकायको बेवास्ताका कारण लामो समयदेखि सडक जीर्ण बन्न पुगेको उनले बताए । कमजोर सडकको अवस्था कारण दुर्घटनाको जोखिमसमेत बढेको छ । ‘सडक साँघुरोसँगै खाल्डा–खुल्डी छन्, त्यसैमा धुलोका कारण गाडी चलाउँदा अगाडिको दृश्य नदेखिने अवस्था हुन्छ’, उनले भने– ‘त्यस्तो अवस्थामा अगाडि अरु साधन आयो भने दुर्घटना हुने खतरा हुन्छ ।’ जिल्लाको मुख्य बजार जोड्ने मुख्य सडक भए पनि सडकको मर्मतको काम हुन नसकेको लमही नगरपालिका–५ निवासी गणेश खड्काले बताए ।

सडकमा परेका खाडलहरु नपुर्दा धुलो उडेर मोटरसाइकलमा उक्त बाटो भएर हिँड्नै समस्या हुने गरेको उनी बताउँछन् । ‘टिप्परहरुका कारण सडकको अवस्था जीर्ण भएको छ, घुम्तीहरुमा कालोपत्रे नै छैन’, उनले भने– ‘जसले गर्दा धुलो उड्ने र सडक भत्कने क्रम बढेको छ ।’ उनले देउखरीमा रहेको सम्राट सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने टिप्पररहरु, दाडका उद्योगबाट क्लिंकर बोकेर अन्य उद्योगमा जाने ट्रक तथा टिप्परसँगै राप्ती नदीबाट नदीजन्य पदार्थ ल्याएर आवात–जावत गर्ने सवारी साधनका कारण सडकको अवस्था दिनप्रतिदिन बिग्रदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख थम्मन जिसीले बताए ।

‘सडकको अवस्था उस्तै छ तर सवारीको चाप दैनिक बढ्दै गएको छ’, प्रमुख जिसीले भने– ‘बिग्रिएको सडक समयमै मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।’ उनका अनुसार घोराही–लमही सडकखण्डको मसोटका घुम्तीहरुमा परेका खाडलहरुको कारण दुर्घटनाको जोखिम रहेको बताए । त्यसै गरेर घोराही–तुलसीपुर सडकखण्ड ४ लेन सडक निर्माण गर्दा बाटो साँघुरो तथा सडकमा खाडल पर्दा दुर्घटनाको जोखिम रहेको उनले बताए ।

साँघुरो बाटोका कारण बाटोमा गाडी बिग्रिएमा लामो समयसम्म जाम हुने समस्या हुने गरेको प्रमुख जिसीले बताए । सवारी साधनका चापअनुसार सडक साँघुरो हँुदै गएको भन्दै वैकल्ीिक सडक निर्माणसँगै दीर्घकालीन योजना निर्माण गरेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए ।

सडक डिभिजन कार्यालय दाडले भने सडक मर्मत छिट्टै गरेर सहज बनाइने बताएको छ । घोराही–लमही सडकखण्डको मोडहरुमा परेका खाडलहरुको मर्मत छिट्टै हुने कार्यालयका सूचना अधिकारी अमिर सुवेदीले जानकारी दिएका छन् । ‘मर्मतका लागि ठेक्का भइसकेको छ, छिट्टै नै काम शुरु हुन्छ’, उनले भने– ‘बर्षातभन्दा पहिले नै मर्मतको काम सकिन्छ ।’

त्यसै अनुसार काम अगाडि बढाइएको उनले बताए । ‘यो सडक चार लेन सडकको जिम्मा भए पनि खडकमा परेका खाडलहरुको कारण दुर्घटनाको जोखिम रहेकाले कार्यालय आफै मर्मतका लागि अगाडि बढेको हो’, सूचना अधिकारी सुवेदीले भने ।
शहीद मार्ग पनि जीर्ण बन्दै

घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडकखण्ड ‘शहीद मार्ग’ पनि जीर्ण बन्दै गएको छ । सडकमा साना तथा ठूला सवारी–साधन चलाउन निकै कठिन बनेको छ । सडक जीर्ण बनेका कारण सो सडकखण्डमा दुर्घटनाको जोखिम धेरै नै भएको होलेरी निवास रमेश मगरले बताए । उनले भने–‘त्यो सडकमा मोटरसाइकल चलाएर बजार पुग्दा साथी भाइ त के घरकै मानिसले पनि चिन्दैनन् ।’

कालोपत्रे सडकको कतै पनि नाम निशान नरहेको हुँदा लत्ताकपडा सबै धुलाम्मे हुने, मोटरसाइकल धुनुपर्ने र धुलोको कारण यात्रा गर्ने मानिसको स्वास्थ्यमा समस्या हुने उनले बताए । ‘बाटोको अवस्था एकदमै नाजुक छ, राज्यले तुरून्त सडक निर्माणमा ध्यान दिनुपर्छ’, उनले भने– ‘नत्र स्थानीयले सडक अवरुद्ध गर्ने अवस्था आउनेछ ।’
घोराही सिमेन्ट उद्योग र सोनापुर सिमेन्ट उद्योगका लागि आवश्यक चुनढुंगा बोक्ने टिप्परहरूका कारण सडकको अवस्था कमजोर हुन पुगेको उनी बताउँछन् ।

ठूला सवारी साधनका कारण साना सवारी साधन चलाउन सक्ने अवस्था नरहेको उनले बताए । आर्थिक वर्ष २०७४÷०७५ मा संघीय सरकारको ४७ करोड बजेटबाट उक्त सडकखण्ड कालोपत्रे गरिएको थियो । तर, २९ किलोमिटर शहीद मार्ग डेढ वर्ष नबित्दै सबै कालोपत्रे ध्वस्त भइसकेको छ । सो सडकमा मुश्किलले कालोपत्रे देख्न पाइन्छ । सबैतिर धुलाम्मे सडक मात्रै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*