Home / Feature Breaking news / अलमलमा कांग्रेस

अलमलमा कांग्रेस

काठमाडौं, २० फागुन । सर्वोच्च अदालले प्रतिनिधिसभा पुनस्थापना गरेपछि ससदको बैठक फागुनको २३ गते बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशको लागि चुनावको मिति तय गरेका थिए । तर सर्वोच्चले ससद विघटनलाई सरकारले गरेको सिफारिस बदर गरेपछि केही दिनमा अव ससदको बैठक बस्दै छ ।

ससद सञ्चालनसँगै नयाँ सरकार गठनको प्रक्रिया समेत शुरु हुने छ । तर प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस सरकारमा जाने वा नजाने विषयमा विभाजित छ । पार्टी शीर्ष नेतृत्वबाटै फरकफरक धारणा सार्वजनिक भएका छन् । बुधबार चितवनमा आयोजित एउटै कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच यो विषयमा सवाल जवाफ नै भएको छ । कांग्रेसका पूर्वसंसद् एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्नेक्रममा सरकारमा जाने र नजाने विषयमा देउवा र पौडेलबीच सवाल जवाफ भएको हो ।

कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुनस्र्थापनाले एउटा संकट टरे पनि विकृतिबाट लोकतन्त्रलाई बचााउन तत्काल सरकारमा जानु नहुने धारणा राखे । हैसियत भन्दा बढी आकांक्षा राख्नु नहुने उनको भनाइ छ । पौडेलले कांग्रेस सानो संख्यामा भए पनि भूमिका ठूलो रहेकाले लोकतन्त्रको रक्षाका लागि अगाडि बढ्नुपर्ने बताए। ‘आफ्नो हैसियताभन्दा बढी आकांक्षा राख्नु विकृति हो’, पौडेलले देउवातर्फ लक्षित गर्दै भने, ‘कांग्रेस सानो संख्यामा छ। तर, भूमिका ठूलो छ। प्रतिपक्षीको भूमिका सही तरिकाले निर्वाह गर्न सकियो भने मात्र लोकतन्त्रको रक्षा गर्न सकिन्छ ।’ उनले अझै पनि कांग्रेस प्रतिपक्षीको भूमिकाबाट डगमगाउनु नहुनेमा जोड दिए ।

‘पुनस्र्थापनाले एउटा संकट ट¥यो तर विकृतिबाट लोकतन्त्रलाई बचाउनुपर्छ। लोकतन्त्र सुरक्षित छैन । लोकतन्त्रमाथि देशी विदेशी शक्तिबाट षड्यन्त्र भएको छ’, पौडेलले भने– ‘जनताले भरोसा गर्ने पार्टी कांग्रेस हो। हामी प्रतिपक्षी भूमिकाबाट डगमगाउनु हुँदैन ।’ श्रद्धाञ्जली सभामै देउवाले सानो चित्त नगर्न पौडेललाई सुझाव दिए । देउवाले राजनीतिक भाषा बोल्न नआएको तर पौडेलले बोलेपछि बोल्नु परेको भन्दै प्रधनमन्त्री नमाग्ने तर अफर आए नभाग्ने प्रष्ट पारे । ‘राजनीतिक कुरा केही भन्नु छैन ।

कांग्रेस पदउन्मुख पनि छैन। टाउकोमा आए भाग्ने पनि छैन’, देउवाले भने– ‘प्रधानमन्त्री पाऊँ भनेको छैन, रामचन्द्रजी मैले । आयो भने भाग्नेवाला पनि छैन ।’ देउवाले पौडेलप्रति व्यङ्ग्य गर्दै प्रधानमन्त्री हुन्छ भनेर चिन्ता नगर्न सुझावसमेत दिए । ‘चिन्ता नगरे हुन्छ रामचन्द्रजी, तपाईले । म प्रधानमन्त्री भए पार्टीकै बन्ने त हो । अरु पार्टीको भन्दा आफ्नै पार्टीको भए तपाईलाई पनि फाइदा होला ! खुसी हुनुहोला भन्ने लाग्छ । तपाईंले शेरबहादुर हुँदै नहोस् भन्ने चाहनु हुन्न होला जस्तो लाग्छ’, देउवाले हाँस्दै भने– ‘सानो चित्त नगर्नुस रामचन्द्रजी, विशाल हृदय राख्नुहोस् । चित्तै सानो छ रामचन्द्रजीको भन्ने विश्वास भो । त्यसो नगर्नुस् ।’

यसैबीच नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले काङ्ग्रेस सरकारमा जानुपर्ने बताएका छन् । निर्वाचन गराउने गरी काङ्ग्रेस सरकारमा जान उपयुक्त भएको उनले बताए। पत्रकारसँग कुरा गर्दै उनले मुलुकमा देखिएको राजनैतिक सङ्कट समाधानको लागि कांग्रेस सरकारमा जानुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने धारणा राखेका छन् । उनले पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए। कांग्रेस सरकारमा नगइ पनि नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने उनको भनाइ थियो।

डा कोइरालाले भने, ’नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’ उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*