Home / Feature Breaking news / कांग्रेस सभापतिमा १२ आकांक्षी !

कांग्रेस सभापतिमा १२ आकांक्षी !

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी ०७८ साल भदौ ७–१० गते काठमाडौंमा हुने तय भएको छ ।

संवैधानिक व्यवस्थाअनुसार पनि अब कांग्रेस महाधिवेशन त्यो मितिभन्दा पर सार्न पाइँदैन ।

विधानअनुसारको चार वर्ष र नियन्त्रण बाहिरको परिस्थितिमा थप गर्न सकिने एक वर्षमा समेत महाधिवेशन गर्न नसकेपछि विधान नै निलम्बन गरेर संविधानको सहारामा थप ६ महिना लम्ब्याएर कांग्रेसले महाधिवेशन गर्न खोजेको छ ।

संविधानअनुसार प्राप्त हुने सुविधाको पनि अन्तिम समयमा महाधिवेशन तोकिएपछि अब महाधिवेशनको मिति पर नसर्ने भन्दै आकांक्षीहरुले नेतृत्वका लागि दौडधुप सुरू गरेका छन् ।

प्रतिनिधि सभा विघटनका बेला गरिएका आन्दोलन होस् या महाधिवेशन केन्द्रित सबै नेताहरूको आगामी महाधिवेशनलाई नै केन्द्रमा राखेका छन् ।

आगामी महाधिवेशनमार्फत नेतृत्वमा पुग्न चाहने नेताहरूको संख्या १२ पुगेको छ ।

जसले कुनै न कुनै रुपमा कांग्रेस नेतृत्वका लागि तयारी थालेका छन् । कतिपय नेताहरूले अर्को पदको बार्गेनिङका लागि सहज हुने भएकाले पनि अहिले नेतृत्वकै तयारी थालेको हुन सक्ने कांग्रेसकै कतिपय नेताहरू बताउँछन् ।

सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, रामशरण महत, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी गरी पाँचजना सभापतिका आकांक्षी ७० वर्ष कटेका नेताहरू हुन् । उनीहरू आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्न दौडधुपमा छन् ।

यीमध्ये देउवा र पौडेलले नेतृत्वको तयारीमा तीव्रता दिएका छन् भने बाँकीको कम देखिन्छ ।

उपसभापति विमलेन्द्र निधि, महामन्त्री  डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. शेखर कोइराला र सुजाता कोइराला गरी पाँचैजना ७० भन्दा कम उमेरका छन् ।

निधिले यसअघि नै सभापतिका लागि सहयोग गर्न देउवा र पौडेललाई जानकारी दिएर तयारी थालेका छन् भने सिंहको तयारी पनि तीव्र छ । सिंहले महाधिवेशनका लागि देउवाको विरुद्धमा एकमात्रै उमेदवार बन्नुपर्ने र त्यो आफूले गर्न पाउनुपर्ने तर्क गर्दै आएका छन् ।

सबैभन्दा बढी जिल्ला पुग्ने र कार्यकर्तासँगको अन्तरक्रियामा रहेका नेता हुन् शेखर कोइराला ।

१३ औँ महाधिवेशनपछि सबैभन्दा बढी जिल्लामा पुग्ने नेता हुन् शेखर ।

शशांकले पनि नेतृत्वको लागि तयारी तीव्र पारेका छन् भने सुजाताले सम्पर्क कार्यालय खोलिसकेकी छन् । उनले केही दिनमा नै सार्वजनिक घोषणा गरेर देश दौडाहामा निस्कने तयारी थालेको बताएकी छन् ।

युवाको नेतृत्वको नारासहित सभापतिमा उमेदवारी घोषणा गरिसकेका नेता हुन् कल्याण गुरुङ । उनी ५५ वर्षका भएका छन् ।

सकेसम्म देउवाको विरुद्धमा एकजना मात्रै प्रतिष्पर्धामा होमिनुपर्ने गृहकार्यमा सामेल अर्का नेता हुन् गगन थापा । उनी ४४ वर्षका हुन् ।

कांग्रेसमा पुस्तान्तरणको बहस चलिरहेकै बेला थापाले आफू नेतृत्वमा टिम बनाएरै महाधिवेशनमा केन्द्रित हुने तयारी थालेका छन् ।

उनी पनि १३ औँ महाधिवेशनपछि जिल्ला दौडधुप गर्ने नेतामा अग्रपंक्तिमै छन् । कांग्रेसले जिल्ला जिल्लामा गर्ने कार्यक्रममा सम्बोधनका लागि सबैभन्दा बढी खोजी हुने नेतामा पर्छन् थापा ।

राजनीतिक विश्लेषक विष्णु दाहाल कांग्रेस नयाँ पुस्तामा जाने आधार उमेर नभएर एजेन्डा बन्नुपर्ने तर्क गर्छन् ।

“सबैभन्दा कम उमेरका गगन थापाले परिपक्व एजेन्डा दिन सकेनन् भने उनी युवा हुन सक्दैनन् अर्थात् युवालाई प्रतिनिधित्व गर्न पनि सक्दैनन्,” दाहालले भने, “नेपाल सुहाँउँदो मुद्दा ल्याउन सके भने शेरबहादुर वा रामचन्द्रले पनि युवालाई डो¥याउन सक्छन् ।”

उनले नेपालको स्रोत साधनको उपयोग गर्ने, ग्लोबलाइजेसनको युगमा नेपाललाई विश्वसामु जोड्दै समृद्धि हासिल गर्ने जो हुन्छ कांग्रेसमा त्यसैले नेतृत्व गर्ने उनको बुझाइ छ ।

कांग्रेसमा नेताभन्दा गुट बलियो 

कांग्रेसमा अहिले नेताभन्दा पनि गुट बलियो देखिएका छन् । कुनै पनि गुटमा नपरे चुनाव जित्नै समस्या हुने नेताहरूको धारणा छ ।

१३ औँ महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धी बनेका गगन थापा पार्टीभित्र लोकप्रिय भए पनि गुट बलियो नहुँदा पराजित हुनुपरेको कांग्रेसकै नेता बताउँछन् ।

मुख्य गुटभन्दा बाहिर चुनावी प्रतिस्पर्धामा भाग लिँदा कृष्ण सिटौलाले १३ औँ महाधिवेशनमै ३४ सय मतमा ४ सय मत पु¥याउन सकेनन् ।

१२ औँ महाधिवेशनलाई हेर्ने हो भने पनि त्यस्तै देखिन्छ ।

निष्ठावान नेताको पहिचान बनाएका भिमबहादुर तामाङले जम्मा ४७१ मत प्रप्त गरे भने महामन्त्रीमा उमेदवारी दिएका नरहरि आचार्यको अवस्था पनि कमजोर बन्न पुग्यो ।

चक्र बास्तोला पनि १२ औँ महाधिवेशनमा कुनै गुटमा नपरेकै आधारमा पराजित भोग्नुपरेको कांग्रेसकै नेता बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*