Home / Feature Breaking news / ‘दाङमा जनप्रतिनिधि नै लगाउन मान्दैनन् कोभिड–१९ विरुद्धको खोप’

‘दाङमा जनप्रतिनिधि नै लगाउन मान्दैनन् कोभिड–१९ विरुद्धको खोप’

कोेभिड–१९ विरुद्धको खोप अभियान

लिलाधर वली

दाङ, १७ फागुन । सरकारले कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि खोप अभियान शुरु गरे पनि दाङमा कोभिड–१९ विरुद्धको खोप लगाउन जनप्रतिनिधिहरु अनिच्छुक देखिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार दोस्रो चरणमा जिल्लामा रहेका दशवटा स्थानीय तहका ५ सय ८० जना जनप्रतिनिधिहिरुलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम भए पनि करिब ४० प्रतिशत जनप्रतिनिधिहरुले मात्र खोप लगाएका हुुन् ।

जिल्लामा करिब ६० प्रतिशत जनप्रतिनिधिहरु विभिन्न बहानामा खोप लगाउन नचाहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताएका छन् । ‘कोरोना रोगविरुद्धको खोप अभियान अन्तर्गत दोस्रो चरणमा दाङमा जनप्रतिनिधिहरुलाई कोभिड–१९ रोग विरुद्धको खोप लगाउने कार्यक्रम रहेको थियो । जसअन्तर्गत दाङमा ५ सय ८० जनालाई खोप लगाउने कार्यक्रम थियो’, कोभिड–१९ रोग विरुद्धको खोप अभियान जिल्ला समन्वय समितिका सदस्य सचिवसमेत रहेका प्रमुख शाहीले भने– ‘तर अभियानका क्रममा दुई सय ४५ जनाले मात्र खोप लगाउनुभयो । ३ सय ३५ जनाले लगाउनुभएन ।’

जसले गर्दा लुम्बिनी प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउने जिल्लाहरुमा पहिलो स्थानमा भएको दाङ खोपविरुद्धको अभियानमा जनप्रतिनिधिहरुको सहभागिता भने अन्तिम स्थानमा रहेको बताए । ‘कोरोनाविरुद्धको खोप अभियानमा प्रदेशका १२ जिल्लामध्ये दाङ पहिलो स्थानमा रहेको छ । यो हिसाबले जिल्लामा खोप अभियान राम्रै मान्न सकिन्छ’, प्रमुख शाहीले भने– ‘तर जनप्रतिनिधिहरुको सहभागिता भने कम रहेको छ ।

खोप नलगाउने जनप्रतिनिधिका हिसावले लुम्बिनी प्रदेशमा दाङ १२आंै स्थानमा छ ।’ कोरोनाविरुद्धको खोप अभियानमा जोखिमपूर्ण समूहमै रहेका जनप्रतिनिधिहरु नै सहभागी नहुँदा जनतामा राम्रो सन्देश नजानेसमेत शाहीले बताए । दोस्रो अभियानअन्तर्गत जिल्लामा फागुनको २ गतेदेखि १० गतेसम्म कोरोनाविरुद्धको खोप लगाइएको थियो ।

त्यसैगरी कोरोनाविरुद्धको खोप अभियानमा प्रहरीको पनि सहभागिता हुन नसकेको उनले बताए । दुई चरणको खोप अभियान सकिँदा पनि जिल्लामा खोप लगाउनेहरुको दोस्रो स्थानमा सुरक्षाकर्मी रहेका छन् । जिल्लामा रहेका करिब ९ सय ९३ जना प्रहरीहरुमध्ये ७ सय १० जना प्रहरीले खोप लगाएको र ३ सय ४० जनाले खोप नलगाएको प्रमुख शाहीले बताए । कोभिड–१९ विरुद्धको नेपाल पत्रकार महासंघ दाङ शाखाले स्वास्थ्य कार्यालयलाई ३ सय संख्या दिए पनि अहिलेसम्म करिब ५० प्रतिशत बढी अर्थात १ सय ७६ जनाले मात्रै खोप लगाएको उनले बताए ।

‘पब्लिक रिलेशनको आधारमा पत्रकारहरु पनि जोखिममा रहेकाले खोप लगाउने निर्णय गरेको थियो’, प्रमुख शाहीले भने– ‘तर जिल्लामा पत्रकारहरुको पनि खोप अभियानमा सहभागिता देखिएन ।’ उनले दोस्रो चरणमा छुटेका पत्रकारहरुलाई तेस्रो चरणको अभियानमा सहभागी बन्न आग्रह गरेका छन् ।

स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा पहिलो र दोस्रो चरणमा गरी ७ हजार ८ सय ७९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्शन कमल चन्दले जानकारी दिएका छन् । जसअन्तर्गत पहिलो चरणमा ३ हजार ५ सय ४६ जना र दोस्रो चरणको खोप अभियानमा ४ हजार ३ सय ३३ जनाले खोप लगाएको उनले बताए ।

सरकारले पहिलो चरणमा गत माघ १४ गतेदेखि २४ गतेसम्म अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारीलगायतलाई खोप लगाइएको थियो भने दोस्रो चरणमा फागुन २ गतेदेखि १० गतेसम्म सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो । उनले पहिलो र दोस्रो चरणको अभियानअन्तर्गत खोप लगाउन छुटेका व्यक्तिहरुलाई स्वास्थ्य कार्यालयमा सम्पर्क गरी खोप लगाउन समेत आग्रह गरेका छन् ।

कोभिड–१९ विरुद्धको खोप लगाउँदा डराउन नपर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. बसन्त लामिछानेले बताए । कोरोनाविरुद्धको खोप परीक्षणका लागि भएको भन्दै लगाउन हुन्न भन्ने भ्रम कतिपयलाई रहेको भन्दै डा. लामिछानेले भ्रममा नपरेर महामारीविरुद्धको अभियानमा सहभागी हुन आग्रह गरे । उनले कोरोना विरुद्धको संक्रमण रोकथामका लागि सरकारले निःशुल्क खोप उपलब्ध गराएकाले खोप अभियान सफल बनाउन सबै लाग्नुपर्ने समेत बताए ।

कोभिड–१९ रोग विरुद्धको खोप अभियान जिल्ला समन्वय समिति दाङका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले कोरोनाविरुद्धको अभियानलाई सफल बनाउनका लागि अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताए । त्यसका लागि जोखिममा रहेका समूहहरु अनिवार्य रुपमा खोप अभियानमा सहभागी बन्नुपर्ने बताएका थिए ।

तेस्रो चरणमा ६४ हजार बढीलाई खोप लगाइने

कोभिड–१९ विरुद्धको तेस्रो खोप अभियान जिल्लामा फागुन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । जसअन्तर्गत जिल्लाका दशवटै स्थानीय तहका विभिन्न लक्षित समुदायका ६४ हजार ५ सय ७७ जना व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताए ।

जसअन्तर्गत घोराही उपमहानगरपालिकामा १७ हजार ८ सय १९ जना, तुलसीपुर उपमहानगरपालिकामा १६ हजार १ सय ८४ जना, शान्तिनगर गाउँपालिकामा ३ हजार ७ सय ७६ जना, दंगीशरण गाउँपालिकामा २ हजार ६ सय ८७ जना, बबई गाउँपालिकामा ३ हजार ४ सय ८१ जना, लमही नगरपालिकामा ४ हजार ८ सय ६६ जना, गढवा गाउँपालिकामा ३ हजार ४ सय २९ जना, राजपुरमा २ हजार ९ सय ५ जना, बंगलाचुलीमा ३ हजार ९ सय ९५ जना र राप्ती गाउँपालिकामा ५ हजार ४ सय ३५ जनालाई खोप लगाउने कार्यक्रम रहेको कार्यालय प्रमुख शाहीले बताएका छन् ।

त्यसका लागि जिल्लाका विभिन्न स्थानीय तहमा ८९ वटा खोप केन्द्र निर्धारणसमेत गरिएको कार्यालयले जनाएको छ । तेस्रो चरणमा ५५ वर्षभन्दा माथिका नागरिक, शिक्षकलगायतका समूहहरुलाई राखिएको कार्यालयले जनाएको छ । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका अधिकृत बामदेव शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*