Home / Feature Breaking news / राजनीतिको केन्द्रमा फेरि देउवा : प्रधानमन्त्री बन्न प्रचण्ड र ओलीका छुट्टाछुट्टै प्रस्ताव

राजनीतिको केन्द्रमा फेरि देउवा : प्रधानमन्त्री बन्न प्रचण्ड र ओलीका छुट्टाछुट्टै प्रस्ताव

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभा विघटन गर्ने कदम खारेज भएपछि प्रतिनिधिसभा पुनःस्थापित भएको छ । प्रतिनिनिधिसभामा २७५ सिटमध्ये जम्मा ६३ सिट रहेको नेपाली कांग्रेसले गएको पुस ५ गतेअघिसम्म ‘प्रतिपक्ष प्रभावकारी भएन’ भन्ने आरोपमा पनि ‘हामीसँग पर्याप्त संख्या नै छैन’ भन्दै निरीहता प्रदर्शन गर्ने गरेको थियो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसका विरुद्ध उभिने निर्णय कांग्रेसले गर्‍यो । त्यसपछिका दिनमा भने कांग्रेसले सामान्य आन्दोलन गरेर आफ्नो हैसियत परीक्षण गर्दै नेकपाका दुई समूहसँग बराबर नै कुराकानी गरिरहेको थियो । राजनीतिक रुपमा दुवै समूहलाई आश्वस्त पार्ने प्रयास गरेका कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो इच्छा भने निर्वाचनमै रहेको प्रकट गरिरहेका थिए । त्यही कारण कांग्रेसमा संस्थापन र संस्थापनइतरबीच ध्रुवीकरणसमेत बढेको थियो ।

देउवाको इच्छाको ठिक उल्टो र कांग्रेसभित्रको प्रतिपक्षले भनेकै बाटोमा सर्वोच्चको फैसला आएको छ । तर, सर्वोच्चको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापित भएपछि कांग्रेस सभापति देउवा फेरि एकपटक राजनीतिको केन्द्रमा आएका छन् । सभापति देवालाई प्रधानमन्त्री ओलीले अबको प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेका छन् भने प्रचण्ड–नेपाल समूहले पनि प्रधानमन्त्री वा अन्य कुरा लिएर सत्ता गठबन्धनमा सामेल हुन वार्ताका लागि समय लिएका छन् । आजै बिहान ११ बजेका लागि समय लिएका प्रचण्ढ–नेपाल आफैँ ११ बजे चितवनबाट आउन ढिला भएपछि समय सारेका थिए ।

आज देशभर विजय र्‍याली र सभा गर्ने निर्णय गरेको प्रचण्ड–नेपाल समूहले काठमाडौंमा मध्याह्न १२ बजेका लागि शान्तिवाटिकामा सभा राखिएको थियो । तर, चितवनबाट फर्किएपछि उनीहरु सभामा नगएर देउवा निवासतर्फ लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*