Home / Feature Breaking news / ‘व्यवसायको लागि समय बाधक बन्दैन’

‘व्यवसायको लागि समय बाधक बन्दैन’

अमरराज आचार्य

दाङ, १२ फागुन । व्यवसायीहरुले व्यवसाय सञ्चालनमा समयसीमा लगाउँदा होटल तथा रेष्टुरेष्ट व्यवसायहरुलाई समस्या परेको भन्दै व्यवसाय सञ्चालमा समयसीमा नतोक्न माग गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरुको शान्ति सुरक्षा तथा वजार व्यवस्थापनका बारेमा सरोकारवालाहरुसँग छलफल कार्यक्रममा व्यवसायीले यस्तो माग गरेका हुन् ।

साँझको समयमा छिटो होटल तथा रेष्टुरेष्ट व्यवसाय बन्द गर्दा बाहिरबाट आउने नागरिकलाई समस्या पर्ने भन्दै साँझ ११ बजेसम्म होटल र रेष्टुरेष्ट १० बजेसम्म खोल्न पाउनुपर्ने उनले माग गरे । सहभागीहरुले व्यवसायीहरुले बिना दर्ता घुम्ते व्यवसायीहरुलाई नियन्त्रण गर्ने स्थानीय सरकार तथा स्थानीय प्रशासनले ध्यान दिनुपर्ने, बजार व्यवस्थित गराउन पार्किङ, फुटपाथलाई व्यवस्थित बनाउन लाग्नुपर्ने बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही बजारलाई व्यवस्थित गराउन उपमहानगरपालिका लागिपरेको बताए । वजार व्यवस्थापन तथा अन्य विषयमा स्थानीय सरकार र निजी क्षेत्र सहकार्य गरिराखेको र आउँदा दिनमा पनि सहकार्य निरन्तर हुने उनले बताए । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले व्यवसायीहरुका लागि स्थानीय प्रशासन बाधक नहुने बताए ।

‘व्यवसाय खोल्ने विषयमा समय बाधक हुँदैन’, प्रमुख जिल्ला अधिकारी आचार्यले भने– ‘रात्रीकालीन व्यवसाय सञ्चालनका लागि पूर्वाधारको विकास निर्माण गर्न आवश्यक छ ।’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बजार सुरक्षित बनाउनका लागि सिसी क्यामरा जडान गर्नुपर्ने बताए । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जिल्लामा एकै प्रकारको नियम लागू हुनुपर्ने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीले ढुवानी व्यवसायहरुले सामग्री ढुवानी गर्दा सुरक्षाका मापदण्ड अपनाएर ढुवानी गर्नुपर्ने बताए ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य रामदयाल गुप्ता, संघका सचिव नरेशकुमार श्रेष्ठ, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख दिनेश रिमाल, डेरी व्यवसायी समिती घोराहीका अध्यक्ष ईश्वरीप्रसाद घिमिरे, तुलसीपुर उद्योग वाणिज्य संघ उपाध्यक्ष रुपबहादुर खत्री, दाङ देउखुरी होटल व्यवसायी समिति अध्यक्ष रुद्रवहादुर डाँगी, घोराही कपडा व्यवसायी समितिका अध्यक्ष निरञ्जन राजभण्डारी, फेन्सी व्यवसायी समितिका अध्यक्ष एकनारायण खनाल, मोबाइल तथा व्यववासी संघका अध्यक्ष दीपक पाण्डे, सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका अध्यक्ष निमबहादुर बुढाथोकी, अटो व्यवसायी दलजित दमाईलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए । यसैबीच दाङ जिल्ला उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुसँग परिचयात्मक कार्यक्रम गरेको छ ।

कार्यक्रम संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य रामदयाल गुप्ता, पूर्व अध्यक्ष माधवप्रसाद शर्मा, शान्तिनगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्मालगायतले मन्तव्य राखेका थिए । संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*