Home / Feature Breaking news / प्रतिनिधि सभा पुनर्स्थापना भए तमासाको राजनीति सुरू हुन्छ: प्रधानमन्त्री ओली
फाईल तस्बीर

प्रतिनिधि सभा पुनर्स्थापना भए तमासाको राजनीति सुरू हुन्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति सुरू हुने बताएका छन्।

बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको सोमबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताए।

मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उनको भनाइ थियो।

‘देश बनाउन लोकतान्त्रिक आन्दोलन चलिरहन्छ। समग्र राष्ट्र परिवर्तनको आन्दोलन भएकाले सफलताका साथ अगाडि बढ्छ,’ उनले भने।

आफूले अदालतलाई धम्की नदिएको स्पष्ट गर्दै उनले न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास रहेको उल्लेख गरेका छन्।

अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, आवास भएको उल्लेख गर्दै उनले शहरका बालबालिकाले झै गाउँका बालबालिकाले गाउँमै कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर शिक्षा आर्जन गर्ने बताए।

पश्चिम सेती राष्ट्रकै गौरवको योजना भएकाले प्रयाप्त विद्युत् उत्पादन गरी सुदूरपश्चिमको उद्योगमा विद्युत् आपूर्तिमा सहज हुने उनले बताए।

भागरथी भट्ट हत्याकाण्डमा केही तत्वले राजनीति गर्न खोजे पनि सफल नभएको उनको भनाइ थियो।

‘अपराधीलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरेको छ। म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु,’ उनले भने।

प्रधानमन्त्री ओलीले जनतालाई समस्यामुक्त गर्न सके मात्र देशको विकास निर्माणको काम अगाडि बढ्ने बताए।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*