Home / Feature Breaking news / पर्यटकीयस्थलमा फोहर व्यवस्थापनको चुनौती

पर्यटकीयस्थलमा फोहर व्यवस्थापनको चुनौती

दाङ, १० फागुन । दाङमा पछिल्लो समय चर्चामा रहेको पर्यटकीय स्थल हो, ज्यामिरे दह । घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने दह भएर जान सकिने ज्यामिरे दह घोराही बजारदेखि करिब ७÷८ किलोमिटर टाढा रहेको छ ।

बाह्रकुने दहबाट पैदल हिँडेर जान सकिने ज्यामिरे तालमा डुंगा चढ्नदेखि घुमफिरका लागि मानिसहरु जाने गरेका छन् । ज्यामिरेदेखि त्यहाँ पुग्नलाई प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत पहाडमा सिढी निर्माणसँगै रेलिङको व्यवस्था गरेपछि ज्यामिरे पैदल यात्रादेखि बोटिङसम्मका चर्चमा रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण भइरहेका बेला उक्त ठाउँमा फोहर व्यवस्थापनको समेत चुनौती देखिएको छ ।

बाह्रकुने दह हुँदै ज्यामिरे पुग्ने मानिसहरुले लग्ने प्लाष्टिकजन्य फोहरका कारण प्रदर्शनसमेत बढेको घुम्न जाने मानिसहरुले बताउने गरेका छन् । सम्बन्धित निकायको व्यवस्थाका कारण दहदेखि ज्यामिरेसम्मको बाटैभरी फोहर बढ्दै ज्यामिरेमा व्यवसाय गर्दै आएकी राधा गिरीले बताइन् । ‘जंगल भएकाले धेरै फोहर देखिने गरेको छैन, नत्र यहाँ धेरै फोहर छ’, उनले भनिन्– ‘बाह्रकुने दहदेखि ज्यामिरे दहसम्म फोहर हुन नदिन सबैले ध्यानदिनुपर्छ ।’

त्यसैगरी दाङको अर्को महत्वपूर्ण धार्मिक पर्यटकीय ठाउँ भनेको घोराही उपमहानगरपालिका–५ मा रहेको पाण्डवेश्वर महादेब मन्दिर धारापानी हो । विश्वको सबैभन्दा अग्लो त्रिशुल हेर्न, घुमफिर गर्न साथै मन्दिरमा पुजापाठका लागि मानिसको दिनहुँ भीड लाग्ने गर्छ । जसले गर्दा मन्दिरमा प्लाष्टिकका बोत्तल, चाउचाउ, विस्कुटलगायतका प्लाष्टिकजन्य फोहरसँगै पिक्निक खान आउनेहरुले गरेको फोहर व्यवस्थामा समस्या हुने गरेको छ ।

जिल्लासँगै बाहिरी जिल्लाहरुबाट घुमफिर र पिक्निकका लागि आउनेहरुले बढी फोहर गर्नाले व्यवस्थापनमा समस्या हुने गरेको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव बिष्णुराम आचार्यले बताए । धार्मिक तथा पर्यटकीय स्थलमा फोहर हुन नदिनका लागि सचेतनामूलक साइनबोर्डहरुसँगै ठाउँ–ठाउँमा डस्टविनहरु राखे पनि फोहर व्यवस्थापनमा समस्या हुने गरेको आचार्यले बताए ।

‘मन्दिर क्षेत्रमा फोहर नहोस् भनेर सचेतनामूलक बोर्डहरुसँगै ठाउँ–ठाउँमा डस्टविन राखेका छौं’, सचिव आचार्यले भने– ‘त्यही पनि विभिन्न स्थानमा फोहर देखिने गरेको छ ।’ मन्दिर क्षेत्रमा सरसफाईका लागि चार जना कर्मचारीहरु राखेकोसमेत आचार्यले बताए ।

ज्यामिरे दह, पाण्डवेश्वर धार्मिक धामसँगै देउखुरीको लमही नगरपालिका–३ मा रहेको जखेरा तालमा समेत फोहर व्यवस्थापन समस्याका रुपमा रहेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका कार्यालय सचिव सरिता चौधरीले बताइन् । तालमा डुंगा चढ्न आउने, मन्दिर घुम्नेसँगै पिक्निक खान आउने मानिसहरुले जथाभावी रुपमा फोहर फाल्ने गर्ने गरेको समेत उनले बताइन् ।

‘पर्यटकीय स्थललाई सफा र सुन्दर बनाउनका लागि नियमित सफाईसँगै फोहर राख्नका लागि ड्रमहरु राखिएका छन्’, उनले भनिन्– ‘तर पनि मानिसहरु चाउचाउ, विस्कुट, पानीका खाली बोत्तल फोहर राख्ने ड्रममा नराखेर बाहिरै फाल्ने गरेका छन् ।’ तालमा रहेको मन्दिरसँगै पोखरी वरिपरी देखिने फोहरले जखेरा तालमा घुम्न तथा पिक्निकका लागि आउने मानिसहरुलाई असर गर्ने भएकाले प्रतिष्ठानले नियमित सरसफाई गर्ने गरेको समेत उनले बताइन् ।

जिल्लाकै प्रमुख पाण्डवेश्वर धाम धारापानी, ज्यामिरे दह र जखेरा तालमात्रै होइन पछिल्लो समय जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य बनेका विभिन्न स्थानमा घुम्न जाने मानिसहरुका कारण पर्यटकीय स्थलहरुमा फोहर बढ्ने गरेको छ । यसतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिन सके फोहर व्यवस्थापनमा सहजता हुने र घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत राम्रो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*