Home / Feature Breaking news / जनगणनाका लागि करिब ८ सय जनशक्ति आवश्यक

जनगणनाका लागि करिब ८ सय जनशक्ति आवश्यक

अमरराज आचार्य

दाङ, १० फागुन । ‘मेरो गणना मेरो’ सहभागिता भन्ने नाराका साथ १२औं जनगणना २०७८ हुँदैछ । देश संघीयतामा गएपछि पहिलोपटक जनगणना हुन थालेको हो । नेपालमा व्यवस्थित र प्रणालीगतरूपले जनगणना गर्न वि.सं. १९६८ देखि शुरु भएको थियो । नेपालमा प्रत्येक १०÷१० मा जनगणना गर्ने गरिन्छ ।

जिल्लामा जनगणना २०७८ का लागि करिब ८ सय जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाको लागि सुपरिवेक्षक र गणक गरी करिब ८ सय जना परिचालन गरिने भएको हो । करिब २ सय सुपरिवेक्षक र साढे ६ सय गणक आवश्यक पर्ने अनुमान गरिएको तथ्यांक कार्यालय दाङका प्रमुख तुलसीराम पोख्रेलले जानकारी दिए । ‘अहिलेसम्म करिब ८ सय जति जनशक्ति आवश्यक पर्ने अनुमान गरेका छौं, केही समयपछि यति नै संख्या चाहिने भनेर भन्न सकिन्छ’, उनले भने ।

अहिले जनगणनाको लागि प्राविधिक तयारी थालिएको उनको भनाइ छ । १ जना गणकले २ सय ५० देखि ३ सय घरमा पुगेर तथ्यांक संकलन गर्नुपर्ने छ । १ जना सुपरिवेक्षकको जिम्मामा ४ जना गणक रहने भएका छन् । गणकले तथ्यांक संकलन गर्नुभन्दा पहिले सुपरिवेक्षकले घर सर्बे गर्नेछन् । सुपरिवेक्षकहरुले २०७८ साल बैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सुचिकरण गर्नेछन् । जनगणनाको मुख्य काम घरमा पुगेर गणकहरुले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गरिने भएको छ । यस वर्ष जनगणनामा ८१ वटा प्रश्नावली समावेश गरिने भएको छ ।

जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइने भएको छ । यसका लागि अनलाइनमार्फत फर्म भर्न सकिने छ । अनलाइनबाट फर्म भरेकाबाट छनोट गरिने भएको छ । करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने भएको हो । यसअघि जिल्लाबाट नै छनोट गरिने गरेको थियो । करारमा जनशक्ति लिनका लागि गएको माघ १ गतेबाट फागुन मसान्तसम्म फर्म भर्न समय दिइएको छ । इच्छुक व्यक्तिहरुले अनलाइमा फर्म भर्न समेत पोख्रेलले आग्रह गरे ।

अघिल्ला वर्षहरुमा शिक्षकलाई परिचालन गरिने गरेकोमा यस वर्ष करारमा जनशक्ति भर्ना गर्न थालिएको हो । ‘बेरोजगारलाई रोजगारी प्रदान गर्ने सकियोस् भनेर करारमा लिन थालिएको हो’, प्रमुख पोख्रेलले भने । यसले धेरै शिक्षित भए पनि बेरोजगार भएकालाई रोजगार दिन सकिने उनको भनाइ रहेको छ ।

जनगणनाका लागि चैत १ गतेदेखि जिल्लाहरुमा जिल्ला जनगणना कार्यालय स्थापना गरिने भएको छ भने बैशाख १ गतेदेखि इलाका जनगणना कार्यालय स्थापना हुने तथ्यांक कार्यालय दाङका प्रमुख पोख्रेलले बताए । जिल्लामा७ वटा इलाका जनगणना कार्यालय रहने भएका छन् । जनसंख्यालाई आधार मानेर जनगणनाका कार्यालयहरु स्थापना गरिने प्रमुख पोख्रेल बताउँछन् । बबई गाउँपालिकामा बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकालाई हेर्ने गरी इलाका कार्यालय रहने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा २ वटा इलाका कार्यालय रहने छन् । जसले तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकामा हेर्ने छ । घोराही उपमहानगरपालिकामा २ वटा इलाका कार्यालय स्थापना हुने भएका छन् । जसले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका हेर्ने भएको छ । लमही नगरपालिकामा रहने इलाका कार्यालयले लमही नगरपालिका र राप्ती गाउँपालिका हर्नेछ भने गढवा गाउँपालिका रहने कार्यालयले गढवा गाउँपालिका र राजपुर गाउँपालिका हेर्ने प्रमुख पोख्रेलले बताए ।

जनगणनाबाट संकलन गरिने तथ्यांकले देशको नीति निर्माण गरी देशको विकास गर्नसमेत महत्वपूर्ण सहयोग पुग्ने छ । भोलिको हाम्रो समाजको विकास, समृद्धि, परिवर्तनको मापन गर्न पनि यसले भूमिका खेल्ने छ । त्यसैगरेर जनसंख्याको आधार मानेर नै निर्वाचन क्षेत्र निर्धारण गरिने छ ।

कुनै क्षेत्रभित्र सरकारले तोकेको क्षेत्र र समयमा प्रत्येक घरधुरीमा बसोबास गरिरहेका सबै व्यक्तिहरूको नामथर, जाति र जनजाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाई–सराई आदि विवरणहरू संकलन गर्ने गरिन्छ । यसरी तोकिएका अधिकारीहरूबाट प्रत्येक घरदैलोमा गई संकलन गरिएका सम्पूर्ण तथ्यांकहरूलाई प्रशोधन गरी प्रकाशन गर्ने प्रक्रियालाई जनगणना भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*