Home / Feature Breaking news / विदेश भन्दा स्वदेश ठिक …

विदेश भन्दा स्वदेश ठिक …

लिलाधर वली

दाङ, २ फागुन । पश्चिम रुकुम मुसीकोट नगरपालिका–१३ निवासी गोविन्द रोकाय वैदेशिक रोजगारीका क्रममा ७ वर्ष विदेश बसे । तर सोचेजस्तो कमाही गर्न सकेनन् । जसले गर्दा चार वर्ष अघि स्वदेश फर्किएका रोकाय पुन विदेश जाने सोच त्यागे र स्वदेशमै केही गर्ने सोच बनाए ।

आफ्नै देशमा केही गर्ने उद्देश्यले रुकुमबाट दाङ झरेका रोकाय अहिले उँखु खेतीमा व्यस्त छन् । घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा ३ विगाह जमिन भाडामा लिएर तीन वर्ष अघिदेखि व्यावसायिक उँखु खेती सुरु गरेका रोकायले राम्रो आम्दानी समेत लिने गरेका छन् ।

रोकायले भाडामा लिएको जमिनको वार्षिक प्रतिकठ्ठा तीन हजारका दरले भाडा तिर्ने गरेका छन् । ‘रोजगारीका लागि दुई पटक गरेर मलेसिया र साउदी गएँ तर त्यहाँ सोचेजस्तो कमाही भएन’–उँखु किसान रोकायले भने–‘जसले गर्दा मलाई स्वदेश फर्किएपछि पुनः विदेश जाने रहर जागने ।’

उनी मलेसियामा चार वर्ष र साउदी अरबमा तीन वर्ष गरी सात वर्ष विदेश बसेका थिए । विदेशको थोरै कमाही र घरायसी आम्दानीबाट जम्मा भएको पैसा लगानी गरेर व्यावसायिक उँखु खेती गरेको उनी बताउँछन् । करिब दश लाख लगानीबाट सुरु गरेको व्यावसायिक उँखु खेतीबाट राम्रो आम्दानी भइरहेको बताए ।

‘बजारको नजिक भएकाले उँखु खेतीबाट राम्रो आम्दानी भइरहेको छ, त्यसैले अहिलेसम्म आफ्नो कामबाट सन्तष्ुट छु’–उनले भने–‘तर व्यवसाय विस्तारका लागि सहयोग कतैबाट पाउनसकेको छैन् ।’ हरियाली कृषि फर्म दर्ता गरेर व्यावसायिक उँखु खेतीमा लागेका रोकायको दाङमा आफ्नै जमिन छैन । जसले गर्दा उनले कतैबाट अनुदान प्राप्त गर्न नसकेको गुनासो गरे ।

‘उँखुको जुस बेचेर ठिकै आम्दानी भइरहेको छ, यसलाई विस्तार गर्न चाहेको छु’–उनले भने–‘व्यवसाय विस्तारका लागि लगानी आवश्यक छ तर अहिले सानो व्यवसाय भएकाले धेरै आम्दानी हुनसकेको छैन ।’ उँखुबाट जुससँगै खुदो बनाएर समेत उनले बेच्ने गरेका छन् । उनले उँखुको जुस प्रतिगिलास ५० रुपैयाँ र खुदो प्रतिकिलो ३ सय रुपैयाँका दरले विक्री गर्ने गरेको समेत बताए ।

‘गैरागाउँमा उँखु खेती गर्ने प्रायः किसानले उँखुको जुस बनाएर बेच्ने गर्नुहुन्छ तर हामीले जुससँगै उखुको खुदो समेत बनाएर बेच्ने गरेका छौँ’–रोकायले भने–‘जसले गर्दा धेरै उँखु खेर जान पाउँदैन ।’ उँखुको जुस बेचेर दैनिक ३ हजार कहिले ३५ सयदेखि ५ हजारसम्म आम्दानी हुने गरेको उनले बताए ।

‘यहाँदेखि घोराही बजार नजिकै भएको र जिल्लाकै प्रशिद्ध धार्मिक स्थल धारापानी जाने बाटो पनि यही भएकाले धेरै मानिसहरु उँखुबारीमै आएर जुस पिउने गर्नुहुन्छ, कतिपयले सिङ्गो उँखु नै किनेर लग्नुहुन्छ’–उनले भने–‘जसले गर्दा अरु दिन ३ हजार ३५ सय र शनिवार र सार्वजनिक बिदाका दिन ५ देखि ६ हजारसम्म आम्दानी हुने गर्दछ ।’ उनले उँखुको जुसलाई आगोमा तताएर खुदो बनाउएर काठमाडौंमा समेत विक्री गर्ने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*