Home / Feature Breaking news / बबईको पानी घोराही ल्याइदैं

बबईको पानी घोराही ल्याइदैं

घोराही खानेपानीको २१औं साधारणसभा

लिलाधर वली

दाङ, १ फागुन । घोराहीमा दीर्घकालीन रुपमा खानेपानी समस्या समाधानका लागि घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बबई नदीको पानी ल्याउनका लागि पहल थालेको छ ।

बबईको पानीलाई लिफ्टि गरेर घोराही ल्याउनका लागि नमुना डिप बोरिङ बनाउने काम सम्पन्न गरिएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव सुमन शर्माले बताए । सचिव शर्माकाअनुसार बबईको पानी ल्याउन घोराही उपमहानगरपालिका–७ शुक्रवार, वडा नं. १६ को सर्रा र वडा नं. १४ को झिँगौरा गरी तीन स्थानमा जग्गा समेत प्राप्त गरिसकेको छ ।

संस्थाको २१औँ साधारणसभामा सचिव शर्माले यस्तो महत्वकांक्षी योजनाको प्रगति विरण प्रस्तुत गरेका हुन् । बबईको नमुना परीक्षणका क्रममा आशा गरेको भन्दा धेरै पानीको स्रोत भएको समेत उनले बताए । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षता तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगञ्जका प्रमुख मनिषकुमार राजको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले घोराहीमा बढ्दो जनसंख्यासँगै खानेपानीको समस्या थपिँदै गएकाले सुरक्षित खानेपानीको स्रोत संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

प्राकृतिक स्रोतको विनाशसँगै वर्षेनी दाङमा पानीको स्रोत घट्दै गएको भन्दै उनीहरुले खानेपानीका लागि मुहान र स्रोतको संरक्षणसँगै हरियालीलाई बचाइराख्न समेत सुझाव दिए । साथै त्यसका लागि जनचेतनामूलक कार्यक्रमहरु समेत गर्नुपर्ने वक्ताहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगञ्जका प्रमुख राजले सरकारले दाङमा खानेपानीको समस्या समाधानका लागि विभिन्न योजनाहरु अघि बढाएको बताए । त्यसका लागि उनले जिल्लामा रहेका विभिन्न खानेपानी संस्थाहरुसँग सहलगानीसँगै पानीको गुणस्तर सुधार तथा ढल निकासका समेत कार्यक्रमहरु गर्दै आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भूपबहादुर डाँगी, नेकपा ओली समूहका विवेक श्रेष्ठ, नेकपा प्रचण्ड–माधव नेपाल समूहका विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, संस्थाका सल्लाहकार बमबहादुर डिसी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, घोराही उपमहानगरपालिका–१४ का वडाध्यक्ष शक्तिराम डाँगी, चौघेरा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष हरि पौडेल, जिल्ला बार एसोसिएशन दाङ शाखाका अध्यक्ष शिवप्रसाद घिमिरे, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष कुलप्रसाद रजौरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका सचिव सुमन शर्माले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष ध्रुव केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाले खानेपानीका क्षेत्रमा सहयोग पु¥याएको भन्दै घोराही उपमहानगरपालिका–१४ का अध्यक्ष शक्तिराम डाँगी, घोराही–७ का अध्यक्ष खोपीराम चौधरी, घोराही–७ शुक्रवारमा रहेको माता पवित्रादेवी सांसदेव संस्कृत आधारभूत विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल चौधरी, घोराही–१७ का विवेक श्रेष्ठ, लक्ष्मीनारायण चौधरी, घोराही–१५ का महावीर वली, घोराही–७ का विकास चौधरी र घोराही–१६ का भुवन चौधरीलाई सम्मान गरिएको थियो ।

यसैगरी नियमित सबैभन्दा धेरै पानी महशुल बुझाउने निराकार राजभण्डारी र नियमित कम महशुल बुझाउने रमा शर्मा पौडेललगायतका संस्थामा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान एवं पुस्कृत गरिएको थियो । उपाध्यक्ष भरतमणि पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शर्माले गरेका थिए ।

उत्खनन्ले खानेपानीका मुहान सुके

यसैबीचजिल्लाका दिन प्रतिदिन खानेपानीको माग बढिरहेको छ । तर, जलवायु परिवर्तन र उत्खनन्ले पानीका मुहानहरु सुक्दै गएका छन् । त्यसलाई न त स्थानीय सरकारले ध्यान दिएको छ न त अन्य सरोकारवालाहरुले । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थको १६औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

साधारणसभामा उपभोक्ता सुशीला सुवेदीले दिन प्रतिदिन सहरीकरण बढेर खानेपानीको माग बढेको भन्दै त्यसको विकल्प सोचनुपर्ने बताइन् । त्यस्तै समाजवादी दलका संघीय परिषद सदस्य जीवन भण्डारीले विभिन्न वहानामा चुरे पहाडहरु उत्खनन् भएको भन्दै त्यसमा कसैले पनि ध्यान नदिएको बताए ।

त्यस्तै राप्रपाका जिल्ला अध्यक्ष हंशराज केसीले आप्mना कार्यकर्ता पालनपोषण गर्न खानेपानीका मुहान वरपर स्काभेटर लगाएर उत्खन्न गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । नेकपा क्रान्तिकारीका जिल्ला इञ्चार्ज समीर केसीले खानेपानीलाई राजनीतिक थलो बनाएको भन्दै अवैध क्रसर उद्योग उत्खनन्ले पानीका मुहानहरु सुक्दै गएको बताए ।

कार्यक्रममा नेकपाका नेता तथा खानेपानीका सल्लाहकार विनोद शर्माले राजश्व उठाउने र उद्योग ल्याउने नाममा सिमेन्ट उद्योगका कारण खानेपानीका मुहानहरु सुकेको बताए । त्यस्तै नेकपाका जिल्ला अध्यक्ष टीकाराम खड्काले धारापानीमा राजनीति गर्न नहुने भन्दै सहलगानी आयोजना भित्राई खानेपानीको समस्यालाई समाधन गर्नुपर्ने बताए ।

त्यस्तै नेपाली कांग्रेसका नेता लेवेन्द्र धितालले खानेपानी संस्थामा विभिन्न कुराहरु उठेको भन्दै खानेपानीलाई कसरी सहज र जनतालाई सुर्वशुलभ पानी वितरण गर्न सकिन्छ भन्नेतर्फ सबै लाग्नुपर्ने बताए । कार्यक्रममा ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिका कार्यकारी निर्देशक चोपप्रसाद धितालले खानेपानी ट्याङ्की निर्माण र अन्य भौतिक पूर्वाधार बने पनि पानीको स्रोत नभएको भन्दै स्रोतलाई संरक्षण गर्नुपर्ने बताए ।

तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वलीको अध्यक्षता राष्ट्रिय सभाका सदस्य जगप्रसाद शर्मा (अपार)को प्रमुख आतिथ्यतामा भएको साधारणसभामा बोल्दै शर्माले खानेपानी को दीर्घकालीन समस्या समाधनका लागि सबै लाग्नुपर्ने बताए थिए । उनले खानेपानीका मुहान संरक्षण र अवैध उत्खन्लाई रोक्नुपर्ने बताएका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे,न राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई महासंघ नेपालका सचिव जानका केसी, खानेपानी तथा सरसफाई डिभिजन दाङका प्रमुख गुणनीधि पौडेल, नेपाल पत्रकार महासंघ दाङका सहसचिव शर्मिला डिसी, खानेपानीका पूर्व अध्यक्ष टोपबहादुर शाह, बलदेव शर्मा, शंकर पौडेल, संस्थापक अध्यक्ष देवराज आचार्य, उपभोक्ता प्रमोद न्यौपानेलगायतले बोलेका थिए ।

संस्थाका उपाध्यक्ष गिरिधारीप्रसाद पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका सचिव मनोज लामिछानेले खानेपानीका भावि योजाना र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सिताराम शर्मा आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव लामिछानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*