Home / Feature Breaking news / ओलीको कदम निरंकुशताको पराकाष्ठा, जनता उठिसके : प्रचण्ड

ओलीको कदम निरंकुशताको पराकाष्ठा, जनता उठिसके : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटन गरेर देशमा संवैधानिक–राजनीतिक संकट निम्त्याएको उनले बताए ।
नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रबार ललितपुरस्थित होटेल हेरिटेजमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संसद् विघटन गरेर संविधानको मर्ममाथि प्रहार गरिएको जिकिर गरे । संविधान शान्तिको अंग भएको भन्दै उनले ओलीको कदम शान्ति भंग गर्ने दिशातर्फ उन्मुख रहेको तर्क गरे ।

‘‘संविधान शान्तिको अंग हो । शान्तिलाई कुच्चिने कार्य भयो,’’ उनले भने, ‘यो शान्ति भंग गर्ने कुरा हो ।’’ उनले ‘‘संवैधानिक–राजनीतिक संकट निम्त्याएर देशमा गृहयुद्धमा चाहेको हो ?’’ भन्दै प्रश्न गरे ।

संसद् विघटन र संसदीय सुनुवाइबिनै संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति निरंकुशताको पराकाष्ठा भएको उनको भनाइ छ । ओलीको कदमको चौतर्फी विरोध हुन थालेको उनले उल्लेख गरे । बौद्धिक वर्ग पनि ओलीविरुद्ध उत्रिसकेको प्रचण्डले बताए । ‘‘जनता उठिसके । सबै विरुद्धमा उठेका छन् । केपी ओलीले प्रतिगमनका अगाडि आत्मसमर्पण गरिसक्नुभयो,’’ उनले भने ।

आफूहरु शान्ति, स्थिरता र सुशासनको पक्षमा रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*