Home / Feature Breaking news / सभापतिजीको ढुलमुले चरित्रले आन्दोलन सशक्त हुन सकेन : शेखर कोइराला

सभापतिजीको ढुलमुले चरित्रले आन्दोलन सशक्त हुन सकेन : शेखर कोइराला

बिराटनगर,३ माघ । कांग्रेस नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कमजोरीले आन्दोलन अपेक्षित गतिमा अघि बढ्न नसकेको आरोप लगाएका छन्।

सभापति देउवाले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको तर देउवाले अदालतको बाहाना गर्दै आन्दोलन कमजोर पार्न खोजेको गम्भीर आरोप लगाएका हुन्।

‘पार्टी सभापतिजीको ढुलमुले चरित्रको कारण प्रतिनिधिसभा विघटन विरूद्धको आन्दोलन सशक्त हुन सकेन’, शनिबार विराटनगरमा मानव अधिकार तथा शान्ति समाज मोरङको साधारण सभामा नेता कोइरालाले भने, ‘सभापतिकै कारण कांग्रेसले प्रतिगमी कदम रोक्न र त्यस विरूद्धको आन्दोलन प्रभावकारी बनाउन सकेन। बल्ल हामीले आन्दोलनमा जाने बनायौं।’

‘मुख्य प्रतिपक्षी दल भएर हामी कांग्रेसले खेल्नुपर्ने जति भूमिका थियो, त्यो सभापतिको कारण खेल्न सकिएन,’ कोइरालाले थपे, ‘हाम्रो चौतर्फी दबावपछि अब कांग्रेस पनि आन्दोलनमा जाने वातावरण तयार भएको छ।’

सभापतिले अदालतको बहाना बनाउँदै प्रतिगमी कदम विरूद्धको आन्दोलन कमजोर बनाउन खोजे पनि अब अगाडि बढ्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले आफू सर्वेसर्वा हुन प्रयत्न गरिरहँदा सबै कुरा सहँदै जानु कांग्रेसको सबभन्दा ठूलो गल्ती भएको बताउँदै उनले भने, ‘शेरबहादुरजी ओलीजीजस्तै व्यक्तिगत स्वार्थमा लोभिनुभयो, यसैले सुरूदेखि नै खेल्नुपर्ने भूमिका कांग्रेसले खेल्न सकेन।’

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी संघीयता र गणतन्त्र विरोधी भएको भन्दै उनले सुनाए, ‘राजाविरूद्धको अन्दोलनमा हामी जेलमा हुँदा उहाँहरू राजाको कागजमा साइन गरेर छुट्न हामीलाई दबाव दिनुहुन्थ्यो।’

कांग्रेसले अब प्रतिनिधि सभा पुनर्स्थापनाको प्रष्ट एजेन्डा अघि सार्नुपर्ने उनको कथन थियो।

सर्वोच्चले पुनर्स्थापनाको पक्षमा फैसला गर्ने आफूलाई विश्वास भए पनि दबाव अभियान भने बढाउनुपर्ने उल्लेख गर्दै कोइरालाले अब प्रतिनिधि सभा पुनर्स्थापनाबाहेक अर्को विकल्प नरहेको र सर्वोच्चको निर्णय नआएसम्म सशक्त रूपले आन्दोलनमा जानुपर्ने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*