Home / Feature Breaking news / सरकार विरुद्ध नेपाली कांग्रेस दाङ क्षेत्र नं.२‘ख’ ले प्रदर्शन गर्ने

सरकार विरुद्ध नेपाली कांग्रेस दाङ क्षेत्र नं.२‘ख’ ले प्रदर्शन गर्ने

दाङ ,२३ पुस । नेपाली कांग्रेस दाङ क्षेत्र नं.२ ‘ख’ ले प्रतिनिधिसभा विघटन, केपी शर्मा ओलीको असंवैधानिक कदम तथा भ्रष्टाचार विरुद्ध यही पुस २५ गते शनिबार नारायणपुरमा विरोध प्रदर्शन गर्ने भएको छ ।

बुधबार नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ‘ख’ को कार्यसमितिको बैठकले असंवैधानिक कदमका विरुद्ध जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा विरोध सभा गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ‘ख’ का सभापति कमलप्रसाद गौतमले एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको केन्द्रको निर्देशनअनुसार सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

केन्द्रको निर्णय अनुसार केपी शर्मा ओलीको पछिल्लो कदम विरुद्ध ७ तै प्रदेश सभा निर्वाचन क्षेत्रमा गर्ने भनिएको विरोध सभा शनिबार बिहान ११ बजेपछि आयोजना गरिएको सभापति गौतमले बताएका छन् ।

कांग्रेसले सरकारको गैरसंवैधानिक कदमका विरुद्ध पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, माघ ३ गते गाउँपालिका तथा नगरपालिकामा र माघ ८ गते वडा स्तरमा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

उनले पुस २५ गते दिउँसो नारायणपुरमा हुने विरोध प्रदर्शनमा सहभागी हुन जिल्लाका सम्पूर्ण पार्टीपंक्ति तथा शुभेच्छुक सबैमा आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*