Home / Feature Breaking news / जिल्लामा धान खरिद नगरिने

जिल्लामा धान खरिद नगरिने

अमरराज आचार्य
दाङ, ९ पुस । सरकारी स्तरबाट जिल्लामा यस वर्ष धान खरिद नगरिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले यस वर्ष जिल्लामा धान खरिद नगर्ने कम्पनीका निमित्त प्रमुख नकुल चौधरीले वताए ।

धान खरिद गरेर कुटानीका लागि समस्या भएकाले धान खरिद नगरिने निर्णय लिएको उनले बताए । ‘धान खरिद गर्नभन्दा पहिले मिलसँग कुराकानी गर्दा मिलवालाले कुटाउन नसक्ने भनेपछि हामीले धान नलिने भएका हौं’, निमित प्रमुख चौधरीले भने– ‘जिल्लाका धेरै मिलहरुसँग समन्वय भए पनि कुटाउन मानेनन् ।’ कुटानी गर्न सहमत भए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी मापदण्डअनुसार कुटानी गर्न नसकिने मिल सञ्चालकहरुले बताएको उनले बताए ।

अहिले अन्य जिल्लामा खरिद गरेर कुटानी गरेको चामल आइरहेको निमित चौधरी बताउँछन् । ‘हामीसँग चामल राख्नका लागि मात्र स्थान छ, धान खरिद गरेर राख्न स्थान पनि छैन त्यसैले पनि समस्या परेको हो’, उनले भने । कम्पनीले धान खरिद गर्ने आशामा रहेका कृषकहरु कम्पनीले धान खरिद नगर्ने भएपछि निराश भएका छन् । व्यापारीले भन्दा कम्पनीले बढी मूल्यमा खरिद गर्ने आशामा कृषकहरु रहेका थिए ।

तर अब बाध्य भएर व्यापारीले भनेको मूल्यमा नै धान बेच्नुपर्ने बाध्यतामा कृषक छन् । कम्पनीले पटक–पटक धान खरिद गर्ने मिति सार्दै आएको र अहिले धान खरिद नै नगर्ने भएपछि आफूहरु समस्यामा परेको कृषकहरुले बताएका छन् ।
संघीय सरकारले किसानको सहुलियतका लागि सरकारले रोपाईँ गर्ने बेलामै धानको समर्थन मूल्य तोकेको थियो । तर सरकारले तोकेको मूल्यमा कृषकले धान बिक्री गर्न पाएका छैनन् ।

कृषकहरुले घरबाटै व्यापारीलाई २ हजार २ सयदेखि २ हजार ३ सय सम्ममा धान बिक्री गर्ने गरेका छन् । कृषि मन्त्रालयको सिफारिस र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमाथि निर्णय गर्दै मन्त्रिपरिषद्ले मध्यम धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ८ सय ५ र मोटा धानको समर्थन मूल्य २ हजार ७ सय ३५ मूल्य निर्धारण गर्ने निर्णय गरेको थियो । मुख्य बालीको समर्थन मूल्य तोक्ने परिपाटी भए पनि बाली लगाउनुपूर्व पहिलो पटक मूल्य तोकिएको थियो ।

कृषिले वाणिज्यलाई २०७७ जेठ दोस्रो साता मूल्य सिफारिस गरेको थियो । कृषिको सिफारिसअनुसार अर्थ मन्त्रालयको सहमतिमा वाणिज्य मन्त्रालयले समर्थन मूल्यको सिफारिस मन्त्रिपरिषद्मा लैजाने प्रचलन रहेको छ । गत आर्थिक वर्षमा सरकारले ढिला गरी मोटा धान प्रतिक्वीन्टल २ हजार ५ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य प्रतिक्वीन्टल २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको थियो ।

जिल्लामा यसबर्ष धान उत्पादन ९ हजार ३ सय ५ मेट्रिक टनले बृद्धि भएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा यो बर्ष धान खेती गर्ने क्षेत्रफल वृद्धिसँगै धान उत्पादनमा समेत बृद्धि भएको हो । केन्द्रको तथ्याङ्कअनुसार अघिल्लो वर्षभन्दा यस वर्ष ९ हजार ३ सय ५ मेट्रिक टनले धान बृद्धि भएको छ । यस वर्ष ३ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । १ लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार गत बर्ष ३७ हजार ७ सय १० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । १ लाख ६९ हजार ६ सय ९५ मेट्रिकटन धान उत्पादन भएको थियो । यस बर्ष धान खेती गर्ने क्षेत्रफलसमेत बृद्धि भएकोे छ । कृषि ज्ञान केन्द्रका अनुसार गत बर्षभन्दा यस बर्ष धानको क्षेत्रफल ७ सय ८७ हेक्टर बृद्धि भएको केन्द्र कृषि अर्थविज्ञ श्रेष्ठले बताए । तर अघिल्ला वर्षहरुमा धान खेती हुने क्षेत्रफल घट्दै गएको थियो । कोरोनाको कारण नागरिकहरुले रोजगारी गुमाएको र लकडाउन हुँदा उनीहरु खेती गरेको कारण क्षेत्रफल बढेको हो ।

जिल्लाका कृषकहरुले सुख्खा २, ३, राम धान, विन्देश्वरी, सामा मन्सुली, साबित्री, हाइब्रेड, युएस–३१२ जातका धानका बीउ लगाएका थिए । कृषकले पछिल्लो समय हाइब्रेड बीउको प्रयोग गर्दै आएको कारणले पनि पछिल्लो समय उत्पादनमा बृद्धि हुँदै गएको छ । समयमै बर्षा हुनु, कोरोना भाइरसका कारण रोजगारका लागि विदेशिएका नागरिकहरु पनि फिर्ता भएर घरमा भएकाले खेती गरेको कारण क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*