Home / Feature Breaking news / उवासंघको चुनावी कार्यक्रम सार्वजनिक

उवासंघको चुनावी कार्यक्रम सार्वजनिक

दाङ, ९ पुस । दाङको सबैभन्दा पुरानो व्यावसायिक संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको १६औं अधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

यही पुस १८ गतेबाट शुरु हुने साधारणसभाले २० गते अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने भएको छ । बुधबार उद्योग वाणिज्य संघकै सभा हलमा एक कार्यक्रमका बीच दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि प्रमुख निर्वाचन अधिकृत शिवप्रसाद घिमिरेले निर्वाचन तालिका सार्वजनिक गरे ।

निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै उनले आफूले पाएको मिम्मेवारी निष्पक्ष, पारदर्शी र मर्यादित ढंगले पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचन सम्पन्न गराउने अभिभारा पूरा गर्न उनले सुरक्षा निकाय, सञ्चारमाध्यम, अधिकारकर्मी, राजनीतिक दल, आम उद्योगी व्यसायीहरुको सकारात्मक सहयोगको अपेक्षा पनि गरेका छन् । उनले भने, सबैको साथ सहयोग पाउने आशा छ, यदि त्यसो भएमा मैले पाएको जिम्मेवारी निष्ठापूर्वक पूरा गरेर उद्योग वाणिज्य संघलाई नयाँ नेतृत्व दिन सक्नेछु, आशा छ यस अभियानमा मलाई सबैको साथ रहनेछ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल महासचिव नरेश कार्की, उद्योग उपाध्यक्ष बसन्त जोशी, निर्वाचन अधिकृत शिवप्रसाल घिमिरे, मणिराज आचार्यलगायतको उपस्थिति रहेको थियो । सार्वजनिक गरिएको तालिकाअनुसार पुस १० गते मतदाता नामावली सार्वजनिक, ११ गते नामावली उपर दावीविरोध, सोही दिन अपरान्ह ४ बजेसम्म मतदाता नामावली उपरदावी विरोध छानविन, संशोधन, पुस १२ गते बिहान ९ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

यस्तै, सोही दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ता, पुस १३ गते बिहान ८ः३० बजे उम्मेदवारहरुको नामावली प्रकाशन, सोही दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवार उपरदावी विरोध, सोही दिन उम्मेदवार उपर छानविन, तत्पश्चात उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । यस्तै, पुस १४ गते उम्मेदवारी फिर्ताको कार्य तालिकाको समय राखिएको छ भने त्यसपछि पुस १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको प्रमुख निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

त्यसपछि पुस २० गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्वाचन हुने भएको छ । निर्वाचन उद्योग वाणिज्य संघमा गर्ने बताइएको छ । कुल ४ हजार ३ सय सदस्य रहेको संघको निर्वाचनमा भाग लिने सदस्यहरुले उद्योग वाणिज्य संघबाट जारी गरिएको परिचय पत्र वा सदस्यताको सक्कल प्रमाण पत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको उनले बताए ।

२०२७ सालमा स्थापित उद्योग वाणिज्य संघले पुस १६ गते ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्ण जयन्ती पनि मनाउने भएको छ । आज संघका अध्यक्ष नारायणप्रसाद भुसालले स्वर्णजयन्ती मनाउन लागिएको बारे जानकारी गराएका छन् । उनले सो अवसरमा स्मारिका प्रकाशन, विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्न लागिएको बताए । उनले सकेसम्म आगामी कार्यकालका लागि सहमतिको प्रयास भईरहेको बताउँदै हाम्रालाई भन्दा राम्रालाई नेतृत्व दिने गरी गृहकार्य थालिएको बताए ।

यदि सहमतिको प्रयास असम्भव भएको अवस्थामा निर्वाचनमा जाने बताए । उक्त निर्वाचनको सबैको साथ सहयोग रहेमा आफू पनि अध्यक्ष पदमा दोहोरिन सक्ने बताएका छन् । उनले भने– ‘साथीहरुको आकांक्षालाई बुझ्दा म फेरि नेतृत्वमा आउनुपर्छ भन्ने रह्यो भने म तयार छु ।’

आफ्नो कार्यकालमा भएका काम र गर्नुपर्ने दायित्वका विषयमा समेत जानकारी गराउँदै उनले कोरोना महामारीका बीच पनि सबैको साथका कारण धेरै काम भएको बताए । हालसम्म १५ सदस्यीय रहेको संघको अबको कार्यसमिति २१ सदस्यीय हुने भएको छ । अधिवेशनको मिति नजिकिएसँग व्यवसायीहरुको चुनावी रौनक छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*