Home / Feature Breaking news / उद्योगको क्षेत्रमा उज्यालोको संकेत

उद्योगको क्षेत्रमा उज्यालोको संकेत

अमरराज आचार्य

दाङ, १ पुस । संसार कोभिड–१९ ले आक्रान्त छ । यसले नेपालको अर्थतन्त्र पनि शिथिल छ । कोरोनाकालमा के गर्ने ? कहाँ लगानी गर्ने ? भन्ने समस्या ज्यूँका त्यूँ छ नै । तर जिल्लामा भने कोरोनाकालमै लगानीको क्षेत्रमा जुनकिरीको उज्यालो देखिएको छ । यसले जिल्लाको आर्थिक पुनरुत्थानमा केही हदसम्म आशाको किरण झल्काएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरिएसँंगै लगानी कर्ताहरूको आकर्षण बढेको हो ।

चालु आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिकसम्म १ अर्ब १३ करोड ९९ लाख ६० हजार रुपैयाँ लगानी साना उद्योगमा भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका उद्योगमा यो लगानी थप भएको हो । जसबाट ४ सय ५३ जना पुरुष र ३ सय १५ महिला उद्यमी बनेका छन् भने पुरुष १ हजार ९ सय १६ जना, महिला ४ सय ७१ जना महिला रोजगार प्राप्त गरेको कार्यालयले जनाएको छ ।

जिल्लामा चार महिनाको अवधिमा ६ सय७० वटा साना उद्योगहरू थपिएका छन् । चालु आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिकसम्म घरेलु तथा साना उद्योग कार्यालय दाङमा ६ सय ७० उद्योगहरू दर्ता भएका हुन् । विश्वव्यापी फैलिएको कोरोनाले हरेक क्षेत्रमा प्रभावित पारे पनि जिल्लामा साना उद्योगहरू थपिन भने कम नभएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ ।

कोरोनाको कारण रोजगार गुमाएकाले आफैंले केही गरांै भनेर उद्योग दर्ता गरेकाले पनि संख्यामा कमी नभएको हो । थपिएकामध्ये प्राइभेट फर्म ६ सय २२ वटा, साझेदारी फर्म ४० वटा र प्रालि ८ वटा रहेका सूचना अधिकारी बिक्रम केसीले बताए । उनले ७२ वटा उत्पादनमूलक उद्योग दर्ता भएको बताए । चालु आवको पहिलो चौमासिकमा जिल्लामा ५ सय ५२ वटा उद्योगहरूको नवीकरण भएको छ भने ५७ वटा उद्योगले लगत कट्टा गरेका छन् ।

यसैगरी ३ सय ४२ वटा उद्योगले पँुजी बृद्धिसमेत गरेका छन् । यस अवधिमा कार्यालयले ३२ लाख १० हजार १ सय १० रुपैयाँ राजश्व संकलन गरेको छ । राज्यले सहुलियत दिएकाले उद्योग दर्ता बढेको कार्यालय निमित्त प्रमुख उमबहादुर वलीले बताए । अहिले सरकारले निःशुल्क उद्योग दर्ता गरेको छ ।

त्यस्तै म्याद सकिएका उद्योगहरूलाई ६ महिनासम्म जरिवाना लिइएको छैन । ‘राज्यले उद्योगीहरूलाई विभिन्न खाले अनुदान दिने गरेकाले पनि पछिल्लो समय उद्योग दर्ता बढेको छ,’ वलीले भने– ‘पछिल्लो समय उद्योग दर्ता गराउनेको संख्या बढ्दै गएको छ । उद्योगहरू वृद्धि हुँदै जाँदा जिल्ला आत्मनिर्भर बनाउन ठूलो सहयोग पुग्नेछ ।’ उद्योग थपिए पनि भएका उद्योगहरू भने समस्यामा छन् ।

राज्यले उद्योगीको समस्या नबुझेकाले समस्यामा परेको उनीहरू बताउँछन् । सरकारले उत्पादन गर्ने उद्योगहरूलाई मात्र उद्योगको रुपमा दर्ता गरिनुपर्ने निजी क्षेत्रहरूले बताएका छन् । स–साना होटलहरूलाई पनि उद्योगमा दर्ता गरिँदा उद्योगहरूको संख्यामा मात्र बृद्धि भएको उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताउँदै संख्या मात्र वृद्धि नभई उत्पादन पनि बढ्नुपर्ने उनले उल्लेख गरे ।

‘राज्यको नीतिले बाध्य भएर साना लगानीका होटलहरू पनि उद्योगमा दर्ता हुनुपर्ने बाध्यता छ,’ भुसालले भने– ‘कतिपय त ऋण खानका लागि मात्र पनि दर्ता हुन्छन् ।’ सञ्चालनमा आएका उद्योगहरूलाई तालिम दिएर उनीहरूले गुणस्तरीय सामग्री उत्पादनका लागि सहयोग गर्नुपर्ने उनी बताउँछन् ।

कोरोनाले हरेक क्षेत्रमा असर पु¥याएको र त्यसमा आर्थिक क्षेत्र बढी प्रभाव पु¥याएको थियो । तर, आर्थिक क्षेत्रलाई अघि बढाउन सरकारले देखिने गरी काम गर्न नसकेको महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. अर्जुन बुढाथोकीले बताए । अहिले पनि केही क्षेत्रहरू सञ्चालनमा आउन नसकेको भन्दै उनले राज्यले गरेको कुनै पनि प्रभाव समाजमा नदेखिएको उल्लेख गरे ।

‘कोरोनाबाट प्रभावित क्षेत्रलाई अघि बढाउन सरकारले देखिने गरी काम गर्ने सकेको देखिएन’, उनले भने– ‘विदेशबाट फर्किएका फेरि उतै जान थाले, स्वदेशमा नै बस्ने वातावरण सिर्जना गर्न सकिएन ।’ उनले घरेलु उद्योगहरूलाई आधुनिकीकरण गरेर अगाडि बढाउनु बताउँदै यसले थप रोजगारको सिर्जना हुनुको साथै उत्पादनमा समेत बृद्धि हुने अनुमान गरे । ‘जिल्लाका चाहिँ बेरोजगार भएर विदेशलगायत अन्यत्र काममा छन् भने जिल्लामा जिल्लामा चाहिँ अन्यत्रबाट कामदार ल्याउनुपर्ने बिडम्बना छ’, उनले भने ।

यता घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी बेरोजगार भएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगार बनाइने तर्क गर्न पछि पर्दैनन् । उपमहानगरले तथ्यांक संकलन गरिसकेकाले अब रोजगारी दिइने उनको तर्क छ । ‘विपन्न गरिब परिवारलाई छनोट गरेर रोजगार प्रदान गरिने छ,’ नगर प्रमुख चौधरीले भने– ‘विभिन्न संघसंस्थाको सहकार्यमा रोजगार प्रदान गर्ने तथा उद्यमी बन्न सहयोग पनि गरिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*