Home / Feature Breaking news / सिमावासीको पीडा : देशभित्रै नेपाली पैसा भारतीय रेटमा….

सिमावासीको पीडा : देशभित्रै नेपाली पैसा भारतीय रेटमा….

लिलाधर वली

दाङ, २७ मंसिर । सरकार र तत्कालिन माओवादीविचको दश बर्षीय सशस्त्र द्वन्द्वका क्रममा मिनी रोल्पाका रुपमा ‘भैसाही नाका’ थियो । दाङ जिल्लामा नेपाल–भारतका २६ सिमा नाकाहरु मध्य जनसंख्या तथा भूगोलका रुपमा ठूलो क्षेत्र भएपनि भौगोलिक दृष्टिले भने सवैभन्दा विकट क्षेत्र हो । त्यसैले पनि माओवादी द्वन्द्वका क्रममा उक्त क्षेत्रलाई सुरक्षित क्षेत्रका रुपमा लिने गरेको स्थानीय बताउँछन् ।

करिव २ सय ५० घरधुरी रहेको भैसाही नाका सडक, विद्युत, सञ्चार, खानेपानी, शिक्षा, स्वास्थ्य सेवालगायतका आधारभुत सेवाबाट समेत टाढा छ । भरपर्दाे सडक सञ्जाल नहुँदा भैसाही नाकावासी भारतीय सिरिया बजारमा निर्भर रहनुपर्ने बाध्यता छ । केही बर्ष अघिदेखि लमही नगरपालिका–९ जलकुम्भीदेखि सुनपथ्री हुँदै भैसाही नाका जोड्ने सडक निर्माणको काम अघि बढेको छ ।

तर अझै राम्रो सडक बन्न सकेको छैन । जसले नाकावासीलाई गाउँमै सिहंदरवार भनेपनि आफ्नै वडा कार्यालयबाट सेवा लिनलाई समेत ४÷५ घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ । लमही नगरपालिका ९ को जलकुम्टीबाट पैदल करिव ५÷६ घण्टामा पुग्न सकिने भैसाही नाकावासीका धेरै पीडाहरु छन् । नेपालकै भूमिमा बसोवास गरेपनि त्यसका स्थानीयको दैनिक भारतीय बजारमै निर्भर हुनुपर्ने बाध्यता रहेको स्थानीय पूर्णबहादुर रोकाले बताए ।

‘भैसाही नाकासँग जोडिने भरपर्दो सडक बन्न सकेको छैन, अहिलेको बनाइएको बाटो सानो पानी पर्दा पनि हिड्न नसकिने हुन्छ’–रोकाले भने–‘जसले गर्दा एक पोका नूनदेखि साँझ विहान खानलाई भारतीय बजार गएर किन्नुपर्ने बाध्यता छ ।’ त्यती मात्र होइन गाउँमा कोही विरामी भए समेत भारतकै भर रहेको छ । जसले गर्दा महंगो सेवा लिनुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

भैसाही नाकामा पसल नभएको भने होइन । भारतीय मुलककै एक जनाले नेपालीको घर भाडामा लिएर पसल सञ्चालन गरेका छन् । तर उक्त पसलमा पैसाको कारोवार नेपाली दररेटमा हुँदैन । नेपाली भूमिमै पसल सञ्चालन भएपनि भैसाहीवासीलाई भारु रुपैयाँमै पैसाको कारोवार गर्नुपर्ने बाध्यता रहेको राजपुर गाउँपालिका वडा नं.७ का वडा सदस्य समेत रहेका स्थानीय लिलाबहादुर विकले बताए । आफ्नै भूमिमा पनि मंहगीमा सामग्री किन्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘उँसको पसलमा नकिनेर अनेत्र जाउँ भनेपनि एकदिनको काम माया मारेर जानुपर्ने बाध्यता हुन्छ’–वडा सदस्य विकले भने–‘त्यसैले महंगो भएपनि उसैको भनेकै मुल्यमा सामग्री किन्नुपर्ने बाध्यता रहेको छ ।’ भारतीय मुल्यमै सामग्री बेच्न थालेपछि केही स्थानीयले नेपाली मुल्यमा विक्रि गर्ने गरि पसल सञ्चालन नगरेका भने होइनन् । तर उसका सामु टिक्नै सकेनन् ।

नेपालीले सञ्चालन गरेका पसल टिक्न नसक्नुको मुख्य कारण नाकावासीको गरिवीसँगै भारतीय एसएसवीको कडाई भएको वडा सदस्य विक बताउँछन् । ‘नाकाक्षेत्रमा बसोवास गर्ने अधिकांस परिवार गरिवीमै हुनुहन्छ,त्यसैले उहाँहरुले सधै पैसामै कारोवार गर्न सक्नुहुदैन’–वडा सदस्य विकले भने–‘पैसामा नहँुदा आफुले उत्पादन गरेका बस्तुमा सामन किन्नुपर्ने बाध्यता हुन्छ । त्यस्तो सुविधा नेपालीले सञ्चालन गरेका पसलमा हुदैन ।

तर उसले भने पैसा नहुँदा अन्य बस्तु खरिद गरेर पनि सामान दिने गर्दछ ।’ विगतमा आधार क्षेत्र बनाएर युद्ध लडेको माओवादीले समेत नाकाक्षेत्रलाई विकास गर्न ध्यान नदिएको स्थानीयले बताउने गरेका छन् । स्थानीयले उत्पादन गरेका अन्यपात समेत खरिद गरेर नाकावासीको काम चलाईदिने गरेका कारण पनि उसलाई नेपाली क्षेत्रमै भारतीय मुल्यमा सामग्री विक्रि गर्न सहज भएको अर्का स्थानीय टंकबहादुर विक बताउँछन् ।

स्थानीयले २÷४ रुपैया महंगो भएपनि उसकै पसलमा गएर किन्न बाध्य भएको उनको भनाई रहेको छ । राज्यको सेवा सुविधावाट सधै पछाडी पर्दै आएको भैसाही नाका राज्यको नजरमा २०६७ सालपछि पर्न थालेको उनीहरु बताउँछन् । जव नाकावासीहरुले ३०६७ सालमा देउखुरीको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कर्री सामुदायिक वनमा गएर जवरजस्ती बस्छौ भनेपछि राज्यले नाका लागि बजेट दिन सुरु गरेको स्थानीय बताउँछन् ।

‘नाकावासी सिमा रक्षकका रुपमा रहेको बर्र्षाै हो,तर राज्यले सिमावासीलाई हेर्ने दृष्टिकोण कहिले सकारात्मक बन्न नसक्दा सधै विकासबाट बञ्चीत हुनु परेको छ’–गौरीशंकर माध्यामिक विद्यालयका प्रधानाध्यापक समेत रहेका विकले भने–‘त्यही भएर दश बर्ष अघि नाकावासीले आन्दोलन स्वरुप कर्सी सामुदायिक वनमा गएर जवरजस्ती बसेपछि राज्यले नाकावासीलई देखेको हो ।’ उक्त आन्दोलनपछि नै भैसाही नाकालाई जोड्ने सडक, स्वास्थ्य इकाईलगायतका पूर्वाधारको विकासको काम भएपनि अझै पुरा हुन नसकेको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*