Home / Feature Breaking news / लोपोन्मुख कुसुण्डा भाषाको पाठ्य सामग्री निर्माण गरिँदै

लोपोन्मुख कुसुण्डा भाषाको पाठ्य सामग्री निर्माण गरिँदै

अमरराज आचार्य
दाङ, २६ मंसिर । लोपोउन्मुख कुसुण्डा भाषाको पाठ्य सामग्री निर्माण थालिएको छ । भाषा आयोगको आयोजना कुसुण्डा विकास समाज नेपाल तथा घोराही उपमहानगरपालिकाको सहकार्यमा कुसुण्डा भाषा कक्षा सञ्चालनका लागि पाठ्यसामग्री निर्माण गर्न थालिएको हो ।

पाठ्य सामग्री निर्माण गरेर कुसुण्डा समुदायमा गएर कुसुण्डा जातिका बालबालिकाहरुलाई भाषा सिकाइने भएको छ । समुदायमा गएर उनीहरुलाई के सिकाउने ? कसरी सिकाउने भनेर अहिले पाठ्य सामग्री निर्माण गर्न थालेको भाषा आयोगका भाषा विज्ञ अमृत योञ्जनले बताए । सरकारले लोप हुन थालेका संरक्षण तथा सम्वद्र्धन गर्नका लागि यस प्रकारको कार्य गरेको उनको भनाइ छ । १ हजार भन्दा कम व्यक्तिले बोल्ने भाषालाई लोपोन्मुख भाषाको रुपमा लिइने गरेको छ ।

‘कुसुण्डा भाषा अत्यन्त लोपोन्मुख भाषा रहेको छ’, उनले भने– ‘यसको संरक्षण गर्न नसकेमा लोप भएर जाने भएकाले सरकारले यस भाषालाई संरक्षण तथा सम्वद्र्धन गर्ने लागिपरेको छ ।’ भाषा जोगाइराख्नका लागि बालबालिकाहरुलाई भाषा सिकाउन थालिएको उनको भनाइ छ । बालबालिकाले कुसुण्डा भाषा सिकेमा उनीहरुले आउँदो पुस्ता तथा घर परिवारलाई समेत सिकाउने अपेक्षासमेत गरिएको छ । अहिले ९० घण्टा कक्षा सञ्चालनका लागि पाठ्य सामग्री तयार गर्न थालिएको हो ।

समुदायमा दैनिक २ घण्टाका दरले कक्षा सञ्चालन गरिने भएको छ । ४५ दिनसम्म कक्षा सञ्चालन हुने र १५ दिन बालबालिकाहरुले घरमा सिकेका भाषालाई अरुलाई पनि सिकाउने छन् । कुसुण्डा भाषा सिकाउनका लागि बालबालिकाहरुलाई कक्षा सञ्चालन गरिने कुसुण्डा भाषाका जानकार उदय आलेले बताए । ‘बालबालिकाहरुलाई सामान्यरुपमा कुसुण्डा भाषा बोल्न सक्नेगरी सिकाइने छ’, आलेले भने– ‘बालबालिकाहरुले कुसुण्डा भाषामा बाक्य बनाउन सक्षम बनाइने छ ।’ उनीहरुलाई सुनाई–बोलाइ, पढाइ, लेखाइको प्रयोग गरेर भाषा सिकाइने छ ।

बालबालिकाहरुलाई कुसुण्डा भाषाको बारेमा जानकारी गराएमा भाषाको विकासमा सहयोग पुग्ने कुसुण्डा समाजका अध्यक्ष धनबहादुर कसुण्डाले बताए । नेपालमा अहिले कुसुण्डा भाषा बोल्न जानेको १ जना मात्र रहेको उनको भनाइ छ । अत्यन्त लोप हुन लागेको भाषालाई संरक्षण गर्ने यस प्रकारको कार्यले सहयोग पुग्ने उनी बताउँछन् । देशभर १ सय ७५ जना कुसुण्डा जाति रहेको अध्यक्ष धनबहादुरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*