Home / Feature Breaking news / द्वन्द्वपीडित महिलाहरुको गुनासो : ‘पीडा सुनाउँछौ, सुनुवाई हुँदैन’

द्वन्द्वपीडित महिलाहरुको गुनासो : ‘पीडा सुनाउँछौ, सुनुवाई हुँदैन’

लिलाधर वली

दाङ, २४ मंसिर । घोराही उपमहानगरपालिका–१४ नयाँ बजार बस्दै आएकी शितलीदेवी घर्तीले आफ्ना श्रीमानको अवस्था सार्वजनिक गरिदिन सरकारसँग माग गर्न थालेको १९ बर्ष वित्यो ।

उनका श्रीमान मारिए वा बाचेका छन् अझै पत्तो छैन् । श्रीमानको खोजीका लागि उनी तत्कालीन नेपाली सेनाको घोराहीमा रहेको व्यारेकदेखि काठमाडौंसम्म पुगिन् । श्रीमानको खोजीका लागि धेरै पैसासम्म खर्च गरिन् । तर पनि उनले अहिलेसम्म श्रीमानलाई कतै भेटिनन् ।

१६ दिने लैंगिक हिंसाविरुद्धको अभियानअन्तर्गत द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले बुधवार घोराहीमा आयोजना गरेको द्वन्द्वपीडित महिलाहरुको न्यायका लागि स्थानीय तहसँग छलफल कार्यक्रममा उपस्थित भएकी घर्तीले भनिन्– ‘श्रीमानको सत्य–तथ्य अवस्थाबारे जानकारी गराइदिन धेरैपटक आग्रह गरे । तर कतैबाट पनि श्रीमानको अवस्था बारेमा जानकारी पाइनँ ।’ नयाँ बजारको आर्मी व्यारेक छेउमै पसल सञ्चालन गर्दैगर्दा उनका श्रीमानलाई २०५८ साल मंसिर ११ गते सोधपुछका लागि सेनाले व्यारेकभित्र लगेको थियो ।

तर उनीसँगै सेनाले भित्र लगेका अन्य घर फर्किए तर उनका श्रीमान फर्किएनन् । श्रीमान नफर्किएपछि एक्लै भएकी ६५ बर्षीया शितलीदेवीले घोराही–१४ को तीनकुने नजिकै ढेव्ली गर्दै आएकी छिन् । बढ्दो उमेरसँगै उनलाई विभिन्न समस्याले समेत सताउने गरेको छ । तर बिरामी पर्दा सहयोग गर्ने कोही पनि छैनन् ।

त्यसैले दैनिकी चलाउनका लागि भए पनि ढेब्ली गर्दै आएकी छु’, उनले भनिन् । ‘बस्नलाई घर छैन, जीवन चलाउनका लागि ढेब्ली गरेकी छु’, उनले भनिन्– ‘त्यही ढेब्लीबाट आएको पैसाले साँझ–बिहानको खर्च टार्ने गरेकी छु ।’ उनलाई सहयोग गर्ने कोही छैनन् । भएका श्रीमानलाई सेनाले बेपत्ता बनायो । ‘छोराछोरी भएनन्, रोल्पामा दुःख भएपछि दाङमा केही गरौंला भनेर घोराही आएर पसल गरेका थियौं’, उनले भनिन्– ‘त्यही पसल गर्दैगर्दा अहिले एक्लै भएकी छु ।’

एक्लै भएकी ६५ बर्षीय ज्येष्ठ नागरिक घर्तीले आफूजस्ता पीडित परिवारलाई राज्यले सहयोग गरिदिए राहतको अनुभूति हुने बताइन् । त्यस्तै घोराही उपमहानगरपालिका–१७ निवासी दिव्या चौधरीले द्वन्द्वपीडित परिवारलाई राज्यले सहयोग गर्न आश्यक रहेको बताइन् । आफ्ना दुई भाइहरुलाई सेनाले मारेपछि छोराछोरीहरु समस्यामा परेको भन्दै उनीहरुलाई शिक्षासँगै रोजगारीको राज्यले व्यवस्था गर्नुपर्ने बताइन् ।

द्वन्द्वका क्रममा अभिभावकविहीन हुँदा छोराछोरीसँगै परिवार समस्यामा रहेकाले उनीहरुलाई सहयोग मिल्ने गरी स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्ने उनले बताइन् । ‘घरकै मुख्य मान्छेलाई मारिदिएपछि परिवार समस्यामा छ, त्यस्ता परिवारलाई राहत मिल्ने गरी कार्यक्रम ल्याउन आवश्यक छ’, उनले भनिन्– ‘तर पीडितले जति पीडा सुनाए पनि राज्यले सुनुवाई गर्दैन ।’

उनले बास्तविक पीडित परिवारहरुको पहिचान गर्ने र उनीहरुलाई परिचय–पत्रका आधारमा राज्यले सहयोग मिल्ने गरी कार्यक्रम ल्याउनसमेत माग गरेकी थिइन् । उनका दुईवटा भाइहरुलाई २०५८ साल मंसिर महिनामा सेनाले बर्गदीमा गोली हानी मारेको थियो । उनीहरु प्रतिनिधिमूलक पात्रमात्र हुन् । उनीहरुजस्तै धेरै महिलाहरुले सशस्त्र द्वन्द्वका क्रममा विभिन्नखाले दुःख भोग्नुपरेको बताएका छन् ।

तर आफूहरुले आफ्ना समस्याहरु पटक–पटक सम्बन्धित निकायसँग राखे पनि कतैबाट सुनुवाई हुन नसकेको उनीहरुले गुनासो गरेका थिए । कार्यक्रममा अन्तरपाटी महिला सञ्जाल घोराहीकी अध्यक्षसमेत रहेकी प्रमिता चौधरी शर्माले द्वन्द्वपीडितलाई न्यायको अनुभूति गराउन आवश्यक रहेको बताइन् । सशस्त्र द्वन्द्वका क्रममा पुरुषहरुसँगै धेरै महिलाहरुले दुःख भोग्नु परे पनि राज्यले ती दुःख र पीडालाई भुल्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताइन् ।

कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले द्वन्द्वपीडित परिवारका समस्या समाधानका लागि केन्द्रबाटै पहल हुन आवश्यक रहेको बताए । उनले घोराहीमा द्वन्द्वपीडित परिवारलाई राहतको अनुभूति हुने कार्यक्रम ल्याउन सकिने समेत बताएका थिए । ‘घोराहीमा द्वन्द्वपीडित परिवारहरुलाई विभिन्न कार्यक्रमका माध्यमबाट समेट्ने प्रयास गरेका छौं’, उनले भने–‘आगामी दिनमा पनि पीडित परिवारलाई समेट्ने प्रयास गर्नेछौं ।’

सशस्त्र द्वन्द्वका क्रममा महिलाहरुले भोग्नुपरेका समस्याहरु उठाउँदै समस्या समाधान पहल गर्ने उद्देश्यले द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले काम गर्दै आएको सञ्जालकी महासचिव सुशीला चौधरीले बताइन् । सञ्जालले अहिले देशव्यापी विभिन्न कार्यक्रमहरु गर्दै सञ्जाल गठन गर्ने काम गर्दै आएको समेत बताएकी थिइन् । कार्यक्रमको सहजीकरण द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालकी महासचिव सुशीला चौधरीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*