Home / Feature Breaking news / जिल्लामा तोकिएन धानको मूल्य

जिल्लामा तोकिएन धानको मूल्य

अमराज आचार्य
दाङ, ११ मंसिर । जिल्लामा हालसम्म पनि सरकारी स्तरबाट धानको मूल्य तोकिएको छैन । कृषकहरुले धान विक्री गर्ने सुरु गरिसकेका छन् तर पनि मूल्य निर्धारण हुनसकेको छैन । सरकारी निकायबाट मूल्य निर्धारण नभए पनि कृषक तथा व्यवसायीहरुको सहमतिमा मूल्य निर्धारण गरेर खरिदविक्री सुरु भएको छ ।

संघीय सरकारले किसानको सहुलियतका लागि सरकारले रोपाईं गर्ने बेलामै धानको समर्थन मूल्य तोकेको थियो । तर जिल्लामा हालसम्म पनि धानको मूल्य तोकिएको छैन । संघीय सरकारले तोकेको मूल्य नै जिल्लामा अनुमोदन हुने भए पनि हालसम्म निर्णय हुनसकेको छैन । जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिको बैठकले मूल्य निर्धारण गर्ने गरेको छ ।

धानको मूल्य निर्धारण नहुँदा कृषकहरुले सरकारले तोकेको धानको मूल्य पाउनसकेका छैनन् । जसले गर्दा कृषकहरु समस्यामा परेको बताउँछन् । अहिले कृषकहरुले घरबाटै २ प्रतिक्विन्टल २ हजार २ सयदेखि २ हजार ३ सयसम्ममा धान विक्री गर्ने गरेका घोराहीका कृषक गेहेन्द्र डाँगीले बताए । घरघरमा आउने व्यवसायीहरुलाई धान विक्री गर्ने गरेको उनको भनाइ छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले धान खरिद सुरु नगरेको कारण सस्तोमा धान विक्री गर्नुपरेको कृषकहरुको भनाइ छ । कृषकहरुले छिटो धानको मूल्य निर्धारण गरेर खरिद गर्ने समेत आग्रह गरेका छन् । किसानले विक्री गरेको धान अहिले व्यापारीले किनेर भण्डारण गर्न थालेका छन् । धान खरिदका लागि व्यवसायीहरु गाउँगाउँसम्म पुग्ने गरेका छन् ।

कृषिमन्त्रालयको सिफारिस र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमाथि निर्णय गर्दै मन्त्रिपरिषद्ले मध्यम धानको समर्थन मूल्यप्रति क्विन्टल २ हजार ८ सय ८५ र मोटा धानको समर्थन मूल्य २ हजार ७ सय ३५ मूल्य निर्धारण गर्ने निर्णय गरेको थियो । मुख्य–मुख्य बालीका समर्थन मूल्य तोक्ने परिपाटी भए पनि बाली लगाउनुपूर्व पहिलो पटक मूल्य तोकिएको थियो ।

कृषिले वाणिज्यलाई २०७७ जेठ दोस्रो साता मूल्य सिफारिस गरेको थियो । कृषिको सिफारिसअनुसार अर्थमन्त्रालयको सहमतिमा वाणिज्य मन्त्रालयले समर्थन मूल्यको सिफारिस मन्त्रिपरिषद्मा लैजाने प्रचलन रहेको छ । गत आर्थिक वर्षमा सरकारले ढिला गरी मोटा धान प्रतिक्विन्टल २ हजार ५ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको थियो । यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालय तुलसीपुरले धान खरिद गर्न सुरु गरेको छैन ।

कम्पनीले केही दिनमा मूल्य तोकेर धान खरिद गर्ने कम्पनीका निमित्त प्रमुख नहकुल चौधरीले बताए । त्यसका लागि तयारी थालिएको बताए । बैठकमा मूल्यसँगै कहिलेबाट कुन स्थानबाट धान खरिद गर्नेलगायतका विषयमा पनि निर्णय हुने उनको भनाई छ । जिल्लामा पहिलोपटक धान खरिद गर्ने थालेकाले व्यवस्थापन गर्दा समय लागेको उनको भनाइ छ । ‘नयाँ काम सुरु गर्न थालेकाले पनि केही समय लागेको हो’ उनले भने ।

जिल्लामा खरिद गरिएको धानको व्यवस्थापन पनि जिल्लाबाटै हुने छ । धान खरिद गरेर कुटाउनका लागि मीलसँग कुरा भइरहेको चौधरी बताउँछन् । मीलहरुले सहज रुपमा कम्पनीको धान नकुटाइदिने गरेको कम्पनीले जनाएको छ । कम्पनीले केही दिन अघि परिपत्र गरेर धान खरिद गर्ने भनेको थियो । कम्पनीले कहिलेबाट धान खरिद गर्ने हो भनेर कृषकहरुले दैनिक जसो सोध्ने गरेको चौधरी बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*