Home / खेलकुद /  हाल्यान्ड बन्लान् विश्वकै उत्कृष्ट फुटबलर ?

 हाल्यान्ड बन्लान् विश्वकै उत्कृष्ट फुटबलर ?

काठमाडौं, १० मंसिर । इर्लिङ हाल्यान्डले नर्वेका लागि ७ खेल खेल्दा ६ गोल गरिसकेका छन्। अघिल्लो वर्ष राष्ट्रिय टिममा डेब्यू गरेका उनले ६ नै गोल पछिल्लो दुई महिनामा गरेका हुन्।

उनले यो सिजन जर्मन क्लब बोरुसिया डर्टमन्डका लागि १३ खेल खेलेका छन्। १३ मध्ये उनले तीन खेलमा मात्र गोल गर्न सकेका छैनन्। बाँकी १० खेलमा गोल गरेका उनले सिजनमा १७ गोल गरिसकेका छन्। गत शनिबार उनले बुन्डेस लिगामा हेर्था बर्लिनविरुद्ध चार गोल गरेका थिए।

२० वर्षीय फरवार्ड हाल्यान्डले पछिल्ला सात खेलमा लगातार गोल गरेका छन्। उनले मंगलबार युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्लब ब्रुगविरुद्ध दुई गोल गरे। जससँगै उनले च्याम्पियन्स लिगमा गोल संख्या १६ पुर्‍याए।

उनी च्याम्पियन्स लिगमा छिटो १५ गोल पूरा गर्ने पहिलो खेलाडी बने। उनले केवल १२ खेलमा १५ गोल गरेका हुन्। उनले च्याम्पियन्स लिगको गोल संख्यामा ब्राजिलियन रोनाल्डो र एड्रियानोलाई पछि पारिसकेका छन्।

गत साता उनले गोल्डेन ब्वाइ अवार्ड जितेका थिए। युरोपियन लिगमा उत्कृष्ट प्रदर्शन गर्ने २१ वर्षमूनीका खेलाडीलाई यो अवार्ड प्रदान गर्ने गरिएको छ।

हाल्यान्डले पछिल्लो सिजन दुई फरक देशका लिग खेल्दा ४४ गोल गरे। ती गोल ४० खेलबाट सम्भव भएक थिए। गत जनावरीमा उनी अस्ट्रियन क्लब साल्जबर्गबाट जर्मन क्लब डर्टमुन्डमा भित्रिएका हुन्। त्यतिबेलामा ५९ मिनेट मात्र खेले पनि उनले बुन्डेसलिगामा प्लेयर अफ दि मन्थको अवार्ड हात पारेका थिए।

गत सिजन उनी च्याम्पियन्स लिगमा १० गोल गर्ने टिनएजर समेत बनेका थिए। ती १० गोल केवल ७ खेलबाट सम्भव भएका थिए। उनी च्याम्पियन्स लिगमा दोहोरो अंकमा छिटो गोल गर्ने खेलाडी समेत बनेका थिए।

गत जनावरीमा अस्ट्रियन क्लब साल्जवर्गबाट डटर्मुन्ड आएपछि २० वर्षीय हाल्यान्ड चर्चा चुलिएको थियो। हाल्यान्डले कोरोना भाइरसपछि फर्किएको बुन्डेस लिगाको पहिलो खेलमै गोल गरेका थिए। उनी साल्केविरुद्ध गोल गर्दै कोरोना भाइरसपछि भएको बुन्डेस लिगामा गोल गर्ने पहिलो खेलाडी बनेका थिए।

हाल्यान्ड गत जनावरीमा १७.१ मिलियन पाउन्डमा साल्जवर्गबाट डर्टमुन्डमा आबद्ध भएका भएका थिए। उनले गत सिजनको सुरुवातमा साल्जवर्गका लागि २२ खेलबाट २८ गोल गरेका थिए। जसमा पाँच ह्याट्रिक समावेश थिए। गत माघमा डर्टमुन्डबाट डेब्यू खेलमै उनले ह्याट्रिक गरेर सनसनी मच्चाएका थिए। त्यो पनि पहिलो रोजाइमा खेलेर होइन सब्स्टिच्युट खेलाडीको रुपमा मैदान छिरेर।

हाल्यान्डले एफसी अग्सवर्गविरुद्धको खेलमा दोस्रो हाफमा मैदान छिरेर ह्याट्रिक गरेका थिए। ५६ मिनेटमा मैदान छिरेका उनले २३ मिनेट भित्र ह्याट्रिक पूरा गरे। उनी मैदान छिर्दा डर्टमुन्ड ३–१ ले पछि परेको स्थिति थियो। तर उनको ह्याट्रिकसँगै डर्टमुन्डले खेल ५–३ ले जित्यो।

गत सिजनको सुरुमा अस्ट्रियन क्लब साल्जवर्गका लागि खेल्दा उनले च्याम्पियन्स लिगमा पनि ह्याट्रिक गरेका थिए। त्यसपछि हल्यान्डलाई भित्र्याउन इटालियन क्लब युभेन्ट्स र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि चासो देखाएका थिए। किनकी उनले यस सिजनको च्याम्पियन्स लिगको समूह चरणमा ८ गोल गरेका थिए। जुन गोल समूह चरणको व्यक्तिगत दोस्रो बढी हो।

युभेन्ट्स र म्यानचेस्टरलाई पछि पारेर डर्टमुन्ड उनलाई भित्र्याउन सफल भयो। अझै उनको माग विश्व फुटबल बजारमा बढिरहेको छ। इंग्ल्यान्डको लिड्समा २००० मा जन्मिएका उनले नर्वेजिन क्लब ब्रेन एफकेबाट युवा उमेरमा फुटबल खेलेका थिए।

उनका बुबा अल्फ इन्गे हाल्यान्ड पनि नर्वेका पूर्व खेलाडी हुन्। उनले नर्वेका क्लबबाट व्यवसायिक खेल खेलेपछि सन् १९९७ देखि २००० सम्म लिड्स युनाइटेडबाट खेलेका थिए।

त्यसपछि उनी २००० मा छोरा हल्यान्ड जन्मिएकै वर्ष म्यानचेस्टर सिटीमा आबद्ध भए। त्यहाँ उनले तीन सिजन बिताए। उनले सन् २०१२ सम्म फुटबल खेले। नर्वेबाट उनले १९९४ देखि २००१ सम्म खेल्दा ३४ क्याप जिते।

बुबाले फुटबल खेल्न छाडेको तीन वर्षपछि छोरा हाल्यान्ड सन् २०१५ मा नर्वेको ब्रेन एफकेको एकेडेमीमा भर्ना भए। त्यहाँ दुई सिजन खेलेपछि उनी सन् २०१७ मा नर्वेको पहिलो डिभिजनको क्लब मोल्डेमा आबद्ध भए। उनले मोल्डेमा ३९ खेलमा १४ गोल गरे।

गत वर्ष अस्ट्रियन क्लब साल्जबर्गमा आबद्ध भएपछि हल्यान्ड चर्चित बन्न पुगे। उनले सिजनको सुरुवाती पाँच महिनामा १६ खेलमा १७ गोल गरेका थिए।

हाल्यान्डले नर्वेको यु१५ देखि यु(२१ सम्मका पाँच वटा उमेर समूहको राष्ट्रिय टिमबाट खेले। उनले २०१९ सेप्टेम्बरमा १८ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*