Home / Feature Breaking news / नेकपाभित्रको विवादले देशलाई खतरा : सहमहामन्त्री महत

नेकपाभित्रको विवादले देशलाई खतरा : सहमहामन्त्री महत

दाङ,७ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेकपा पार्टीभित्रको विवादका नाममा विदेशी चलखेल बढेको बताएका छन् ।

नेपाली कांग्रेस दाङले आयोजना गरेको पार्टी भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै सहमहामन्त्री महतले पार्टीभित्रको आन्तरिक विवाद मिलाउने नाममा विदेशी शक्तिको चलखेलले राष्ट्र र राष्ट्रियतालाई खतरामा पार्ने काम गरेको समेत बताएका हुन । ‘नेकपाको विवाद मिलाउने नाममा चिनिया हस्तक्षेत्र बढेको छ’–उनले भने–‘यस्तै अवस्थामा हुदै जाने हो भने भोली भारत र अमेरिकाले पनि चासो बढाए, नेपाल विदेशीहरुको अखडाको केन्द्र बन्ने खतरा रहन्छ ।’ उनले विदेशी हस्तक्षेत्रका विरुद्ध सवैनेपाली जनताहरुलाई पार्टीभन्दा माथि उठेर विरोध गर्न समेत आग्रह गरे ।

त्यसैगरी उनले वर्तमान सरकार प्रहरी, प्रशासन र संवैधानिक निकायलाई कब्जामा लिन एर आगामी निर्वाचन पनि जित्ने दाउमा लागेको आरोप लगाएका छन् । सहमहामन्त्री महतले नेकपाको सरकार तीन वटै प्रमख अंगलाई आफ्नो नियन्त्रणमा लिएर आगामी निर्वाचन आफ्नो पक्षमा पार्ने खेलमा लागेको बताएका हुन् । उनले बहुमत प्राप्त नेकपाको सरकार नागरिकको सुरक्षामा खटिनु पर्ने बेलामा आफ्नै आफ्नै भविष्य के हुने भन्ने अवस्थामा पुगेकाले अनावश्यक खिचातानीमा फसेको बताए ।

कोरोना महामारीको कारण देखाएर राज्य कोषको पूँजीका ब्रह्मलुट मचाएको बताउँदै हालसम्म कोरोना रोकथाममा भएको काम निरर्थक रहेको टिप्पणी गरे । प्रतिपक्षी कांग्रेसले कोरोना रोकथामका लागि शुरुवाती चरणमा सघााउने बताई रहँदा सरकारले बेवास्ता गर्दा अहिले यो स्थिती निम्तिएको उनको जिकिर थियो ।

कोरोना नियन्त्रणका नाममा हालसम्म २० अर्ब रुपैयाँ खर्च भएको बताएको सरकारले यसको खर्च विवरणको आधिकारिक पुष्ट्याईँ गर्न नसकेको बताउँदै उनले संसद अधिवेशन नचलेको लाभ लिई रहेको पनि बताए । नेपाली कांग्रेसले गठन गरेको कोरोना रोकथाम तथा यसको प्रभाव अनुगमन समिति संयोजक समेत रहेका नेता महतले देशभरका विभिन्न जिल्लामा कोरोना रोकथाम र उपचारमा भएका प्रयास र गर्नु पर्ने कामका बारेमा सरकारलाई सुझावसमेत दिएको बताउँदै उक्त सुझाव अक्षरस पालना गरी नागरिकको जीउधनको रक्षामा गम्भीर बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गरेका छन् ।

फरक प्रसंगमा सहमहामन्त्री महतले नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी फागुनमा हुनै नसक्ने बताएका छन् । अहिलेको अवस्थामा पार्टीभित्रका सबैलाई सहमतिमा ल्याएर लैजाने पार्टी सभापति शेरबहादुर देउवाको सोँचका कारण पनि निर्णय प्रकृयामा ढिलाई भएको बताए ।

उनले महाधिवेशन सम्पन्न गर्नका लागि अहिले बढी विवादका रुपमा क्रियाशील सदस्यता वितरणको काम रहेको बताएका छन् । देशभरका ७७ वटै जिल्लाबाट जिल्ला सभापतिलाई मंसीर मसान्तसम्ममा क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउन भनिएकोमा व्यवहारिक रुपमा यो माघसम्म जान सक्ने उनको अनुमान छ । आगामी भदौसम्मा जसरी पनि महाधिवेशन गरी सक्नु पर्ने विधानमा व्यवस्था भएकाले त्यो समयभन्दा अगावै सम्पन्न गर्ने गरी काम थाल्न जिल्ला मातहतका सबै कार्यकर्तालाई उनले निर्देशन पनि दिएका छन् ।

जिल्ला सभापति कीर्तिबहादुर खड्को अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव शंकर डाँगीले गरेका थिए । कार्यक्रममा जिल्ला तहका कांग्रेसका नेता तथा भातृ संगठनका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*