Home / Feature Breaking news / कोभिड–१९ र मेरो अनुभव

कोभिड–१९ र मेरो अनुभव

सञ्जीता गौतम
धेरै संयमता अपनाउँदा अपनाउँदै हाम्रो परिवारलाई कोभिड–१९ ले भटाइछाड्यो । हामी घरका सबै परिवार अत्यन्त सजग थियौँ जस्तो लाग्छ । घरबाहिर हिड्दा अनिवार्य मास्क, छिनछिनमा सेनिटाइजर अनि भीडभाडमा गएर आएपछि नुहाएर मात्र कोठामा प्रवेश गर्नुपर्ने अनिवार्य नियमजस्तै थियो ।

हाम्रो परिवारमा स्वास्थ्यसँग सम्बन्धित सरसफाईका कुराहरुलाई सजगताका साथ अपनाउँदा अपनाउँदै पनि मेरो श्रीमान सुदीप गौतमको पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ देखियो । उहाँलाई पोजेटिभ देखिएपछि छोराछोरीसँगै म सामाजिक दुरी कायम गर्दै क्वारेन्टाइनमा बस्यौँ । सबैजना अलग्यै आइसोलेशनमा रह्यौँ । श्रीमान्लाई सुरुमा घाँटी दुख्यो । त्यसका लागि उहाँले एन्टीवायोटिक औषधी लिनुभयो । त्यसपछि खुट्टा दुख्ने समस्या बल्झियो र अन्त्यमा रुघा समेत लाग्यो ।

घाँटी दुखेपछि नै उहाँ सेल्फ क्वारेन्टाइनमा बस्नुभएको थियो । उहाँको बुबासँग प्रत्यक्ष आमनेसामने नभएको त एक महिना भइसकेको थियो । बुबाको उमेर र मुटु तथा मधुमेहको समस्याले उहाँलाई बढी जोखिम छ भन्ने कुराले हामी सचेत थियौँ । त्यसैले उहाँले कुनै समस्या देखिए पिसिआर जाँच गराइहाल्नुहुन्थ्यो । योभन्दा पहिले पनि ३ पटक पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

छोराछोरी र म तीनैजनालाई कुनै लक्षण थिएन । तै पनि २÷३ दिनपछि हामीले पिसिआर जाँच गरायौँ । पिसिआर रिपोर्टमा छोराको नेगेटिभ र हामी आमाछोरीको पिसिआर रिपोर्ट पोजेटिभ आयो । हामी घरमै आइसोलेशनमा बस्यौँ । छोरालाई भने मामाघर पठायौँ । त्यसपछि क्रमशः सबैको पिसिआर जाँच गराउँदै गर्दा ९ जना परिवारका सदस्यहरुमा पिसिआर रिपोर्ट पोजेटिभ देखियो ।

मलाई सुरुमा केही लक्षण थिएन । म सामान्य नै थिएँ तर दिनहरु बित्दै गए । जब ७ दिन बित्यो त्यसपछि मलाई शरीर अलि गह्रौँ भएको महशुस भयो । सातौँ र आठौँ दिनमा असाध्यै गाह्रो भयो । शरीर पूरै दुख्न थाल्यो, हात, गोडा असाध्यै गल्न थाल्यो । गोडा टेक्न नबन्ने, हिड्न पनि गाह्रो भयो । त्यसपछि दुई दिन ज्वरो समेत आयो । रुघाखोकी लाग्यो, आँखा पनि दुख्ने, रातमा निद्रा कम हुँदै गयो । मलाई २÷३ घण्टा मात्र मलाई निद्रा लाग्थ्यो । त्यसपछि मुखमा स्वाद र नाकमा गन्ध समेत पूरै हरायो ।

हामीले डाक्टरको सल्लाह अनुसार सबै औषधीहरु, भिटामिनहरु लिइरहेका थियौँ । आयुर्वेदिक घरेलु ओषधीहरुमा कुनै कमी थिएन । सबै घरेलु औषधोपचार र खानपिनको व्यवस्था ७० वर्षीया सासुले गरिरहनुभएको थियो । दिनमा २÷३ पटक वाफ लिइरहेका थियौँ । त्यही पनि कोभिड–१९ ले हामीमा हाबी नै थियो । म र कोभिडबीच एकले अर्कोलाई जित्ने प्रयासमा थियौँ । मलाई खोकी लागिरहेको थियो, कम कत्ति पनि भएको थिएन । खोकीले फोक्सोलाई असर गरेर छोड्छ कि भनेर मनमा डर भने लागिरहेको थियो ।

घरमा ७५ वर्षीय ससुराबुबा शंकर गौतम संक्रमित भएको रिपोर्ट आएपछि त हाम्रो होसहवास नै गुमेकोझैँ भयो । उहाँ मुटु, सुगर, प्रेसर रोगका विरामी भएकाले सबै औषधोपचारको व्यवस्था, अक्सिजन नाप्ने यन्त्र सबै घरमै व्यवस्था मिलायौँ । मेरो अक्सिजनको लेवल २÷२ घण्टामा नाप्ने तथा स्वास्थ्यको ख्याल मेरी छोरी स्वर्णिमले गरिरहेकी थिइन् भने श्रीमाले चाहिँ बुबाको स्याहारमा खट्नुभएको थियो ।

अक्सिन घट्यो कि हस्पिटल लग्ने गरी तयारी राजिव दाइले सबै व्यवस्था मिलाउनुभएको थियो । घरमा अरु संक्रमित बढ्न सक्ने आर्शकाले थप ९ वटा बेड र छुट्टै आइसोलेशन समेत दुइ दिनमै तयार गर्नुभएको थियो । तर भगवान्को कृपा र सबैजनाको आशीर्वादले १४ दिनदेखि सुधार हुँदै आएको छ ।
हामीलाई शारीरिक समस्या त ७ देखि १४ दिन अर्थात ७ दिन मात्र भयो । तर त्योभन्दा कैयौ गुणा बढी मानसिक त्रासले सताउँदो रहेछ ।

बाबालाई पोजेटिभ रिपोर्ट आएको खबर पाएर १० वर्षको छोरा निकै चिन्तित भयो । उसले आँखामा आँसु ल्याएर टाढैबाट हात हल्लाउँदा हामीले समेत आँखामा आँसु लुकाउन सकेनौँ । हाम्रो रिपोर्ट सँगै उसले आफूलाई सबैसँग छुट्यायो । बाबा विरामी भएदेखि एकदमै सतर्कता अपनाएर ल्यापटप लिँदा समेत पूरै सेनिटाइज गथ्र्यो । उसको यो गतिविधि देख्दा यस्तो लाग्थ्यो कि हामीले नपत्याउने गरी केटाकेटीहरु पनि कोभिड–१९ को बारेमा निकै सचेत भइसकेका रहेछन् । सुरुमाश्रीमान र छोरी एउटै कोठामा भएकाले छोरीको

चिन्ता थिएन, म पनि अलग्यै कोठामा थिएँ । छोराले आफूलाई हामीबाट अलग्यै रहेर दिनभर छुट्टै बस्थ्यो अनि बेलुका छुट्टै कोठामा गएर एक्लै सुत्थ्यो । छोराको यो सेल्फ क्वारेन्टाइनले मलाई मानसिक रुपमा अत्यन्त विचलित गराएको थियो ।

हामी सुरुदेखि नै बुबाको शारीरिक अवस्थाका कारण ज्यादै सचेत थियौँ । ‘सिटीभ्यालु’अनुसार जोखिम कम–बढी हुन्छ भन्ने सुनेकाले हामीले सिटभ्यालु प्राप्ति गर्न निकै प्रयास ग¥यौँ तर पाएनौँ । त्यसैले हामीले कोठामा अलग–अलग २÷२ जनाको दरले बस्ने गरी व्यवस्था मिलायौँ । कतिबेला कसलाई के हुने हो भन्ने त्रासले पनि होला हामी कोही पनि राम्रोसँग निदाएनौँ ।

संक्रमण भएको थाहा पाएपछि मसँगै अरुण आचार्य दाइ, नगर प्रमुख नरुलाल चौधरी, स्वास्थ्यकर्मी समेत लिएर अवस्था बुझ्न आउनुभयो । उहाँहरुले नआत्तिन र केही भएमा सम्पर्क गर्नुहोला भन्दै स्वास्थ्यकर्मीको नम्बर दिएर ढाडस दिएपछि हामीलाई मानसिक रुपमा अति बल पुग्यो । त्यसपछि स्वास्थ्यकर्मी मित्र राधा पौडेल र उहाँका श्रीमान् सुदर्शन रिजालले फोन गर्नुभयो, राधा मेडमका केही स्वास्थ्यसम्बन्धी टिप्सले सजिलो भयो । यो अवधिमा बद्री खड्का दाइले पनि थुप्रै औषधीहरु पठाइदिनुभयो ।

यो अवधिमा छोरीहरु डा.सुप्रिम र वोब्जेनले सल्लाह दिन्थे । दाइ डा. विनय रेग्मी र भान्जा डा. आजीवन गौतमको नियमित सम्पर्कमा रहेर सल्लाह लिइरह्यौँ । आफै परिवार सहित संक्रमित भएर काठमाडौँमा बसेकी सिनियर नर्श छोरी रोशनी गौतमले घण्टा–घण्टामा अवस्था बुझी सल्लाह दिइन् । आफू भर्खरै संक्रमण मुक्त भएका दाजु अर्जुन न्यौपानेको सल्लाह सुझावले पनि हामीलाई हौसला प्रदान भयो ।

केही दिनपछि सांसद सरस्वती गौतम कोशेली लिएर घरमै आइपुग्नुभयो । संक्रमितले भरिएको घरमै आएर उहाँले विशेष गरेर बुबालाई ‘हजुरले कोरोना जिते हजारौँ ज्येष्ठ नागरिकलाई हौसला मिल्छ, नआत्तिनुहोला’ भनी दिएको शुभकामनाले हामीलाई आधा निको बनाइदियो । उहाँले पु¥याएका कोशेली, गुर्जो, तुलसीको पात, कागती, अमला हाम्रा लागि औषधी थिए ।

यो बीचमा धेरै अभिभावक, इष्टमित्र, साथीसंगी सबैले सम्झनुभयो, हौसला प्रदान गर्नुभयो, आवश्यक सामग्री पु¥याउने वचन दिनुभयो । यी सबै नै हाम्रा लागि औषधी बने । सुन्दा र पढ्दा जति सामान्य लाग्छ त्योभन्दा कैयौँ गुणा शारीरिक र मानसिक पीडा हुँदोरहेछ । त्यसैले कोरोनालाई ख्यालठट्टा नगरौँ । रुघाखोकी मात्रै हो भनी ठान्यौा भने धेरैको ज्यान जानसक्छ ।

त्यसैले सबै कोभिड–१९ देखि सचेत बनौँ, सजग रहौँ, शंका लागेमा समयमै पिसिआर जाँच गरौँ । पिसिआर रिपोर्ट अनुसार आफूलाई सुरक्षित राखौँ, अरुलाई सार्नबाट बचौँ । हामी आइसोलेशनमा बसेनौँ, पिसिआर गरेनौँ भने हामी एकबाट कैयौँ व्यक्तिमा कोभिड–१९ मा सरिसक्छ । त्यसैले कोभिड–१९ सँग खेलवाड नगरौँ, सचेत बनौँ, सुरक्षित रहौँ ।

सबै अग्रज अभिभावकहरुको आशीर्वाद, मेरासँग साथीहरुको आत्मीयता, माया, प्रेम, हौसला, भाइबहिनी, छोराछोरीहरुको प्रार्थना, भगवान्को कृपाले हामी सबैको स्वास्थ्य अवस्था सहज बन्दै गयो । सबैजनाको स्नेत, सहयोग यस अवस्थामा अविस्मरणीय रह्यो र सोही आत्मबलले कोरानालाई २१ दिनको होमआइसोलेशनबाट जित्न सफल भयौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*