Home / Feature Breaking news / सिचाई गर्न कृषकले कहिले पाउने ?

सिचाई गर्न कृषकले कहिले पाउने ?

अमरराज आचार्य

दाङ, ५ मंसिर । बृहत् दाङ उपत्यका सिचाई आयोजनाले घोराही उपमहानगरपालिका वडा नं. १८ मा गिठेपानीमा सिचाईको लागि ड्याम निर्माण गरेको ३ वर्ष भैसकेको छ तर कृषकले अझै प्रयोग गर्न पाएका छैनन् ।

ड्यामको पानी हेरर कृषकहरु चित्त बुझाउन बाध्य छन् । नजिकै तोरी खेती गरिएको छ, तोरी पानी नपाएर सुक्न थालिसकेको छ तर सिचाईका लागि निर्माण गरिएको ड्यामबाट लामो समयसम्म पनि सिचाई हुन सकेको छैन । सिचाईको लागि ड्याम निर्माण गरे पनि खेतीको लागि कृषकले सिचाई गर्न पाएका छैनन् । पानी भएपछि तरकारी खेती गरौंला भन्ने कृषकहरु पनि समयमा सिचाई गर्न नपाउँदा समस्यामा छन् ।

ड्याम निर्माण भएको लामो समयसम्म पनि स्थानीय बासिन्दाहरुले उपभोग गर्न नपाएको गिठेपानी सिचाई ड्याम जल उपभोक्ता समितिका सचिव दिनेश वलीले बताए । ‘ड्याममा भएको पानीसमेत प्रयोग गर्न पाइएको छैन’, सचिव वलीले भने– ‘सिचाई गर्न पाएको भए तोरी उत्पादनसमेत बढ्ने थियो ।’ आफूहरुले पटक–पटक काम छिटो सम्पन्न गर्न भने पनि कार्यान्वयन हुन नसकेको समितिले जनाएको छ ।

हालसम्म उक्त स्थानमा ड्यामबाट पानी लिफ्ट गरेर कृषकको बारीसम्म पु¥याउनका लागि पाइप विस्तार, लिफ्ट गरेर पानी वितरण गर्ने ट्यांकी निर्माणलगायतका काम सम्पन्न भइसकेको छ भने विद्युत विस्तार, पम्प जडान गरेर पानी लिफ्ट गरेर ट्यांकीमा पु¥याउने र पानी वितरण गर्ने च्याम्वर निर्माण गर्ने काम बाँकी रहेको सचिव वलीले बताए ।

आयोजना मार्फत ४० हेक्टरमा सिचाई गर्न सकिने बृहत दाङ उपत्यका सिचाई आयोजनाले जनाएको छ । नगरमा निर्माण गरिएका ड्यामले खेर गएको पानीको संरक्षण तथा सदुपयोग हुने ड्याम निर्माण भएपछि जमिनमा रिचार्ज भएर पानीको मुहान समेत संरक्षण हुने स्थानीय बासिन्दाहरुको भनाइ छ । वातावरण संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यता बृहत दाङ उपत्यका सिचाई आयोजनाले छिट्टै नै काम सम्पन्न हुने जनाएको छ । बृहत दाङ उपत्यका सिचाई आयोजनाका प्रमुख राजु आचार्यले ठेकेदारसँग मंसिर अन्त्यसम्म सम्पन्न गर्ने सहमति भएको बताए । ठेक्काको समय असार मसान्तसम्म भए पनि कोरोनाको कारण ६ महिना म्याद थप भएको उनको भनाइ छ ।

कोरोनाको कारण धेरै स्थानमा काम गर्न समस्या हुँदा निर्माण कार्यमा ढिलाइ भएको उनले बताए । उक्त कामको निर्माणको जिम्मा लिएका टोपेन्द्र केसीले २÷३ दिनमा नै काम शुरु हुने बताए । कोरोनाको कारण सामान ल्याउन ढिला हुँदा काम ढिला भएको उनले बताए । पम्पलगायतका अन्य सामग्रीहरु बाहिरबाट ल्याउनुपर्ने भएकाले समस्या भएको केसीले बताए ।

कोरोना संक्रमण फैलन नदिनका लागि सरकारले गरेको लकडाउनको कारण समान ल्याउन समस्या भएको थियो । अब केही दिनमा सामान समेत आइसक्ने र मंसिर मसान्तसम्म काम सम्पन्न हुने उनले बताए । ‘मंसिर अन्त्यसम्मको समय रहेको छ, त्यतिबेलासम्म हामीले काम सम्पन्न गर्छौ’, केसीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*