Home / Feature Breaking news / कलेज पढाउने तीन साथीलाई लकडाउनले खोलिदियो व्यवसायको बाटो

कलेज पढाउने तीन साथीलाई लकडाउनले खोलिदियो व्यवसायको बाटो

लकडाउनले धेरैलाई घरभित्रै थुन्यो। यही बेला कतिलाई भने आफ्नो प्रतिभा केलाउने समय मिल्यो। दबेका चाहना र सोखहरू पूरा गर्ने अवसर जुर्‍यो। यसकै एउटा उदाहरण हो- गमला दि क्रिएसन ।

‘गमला दि क्रिएसन’ले गमलामा कलात्मक चित्र र डिजाइनहरू बनाउँछ। साधारण गमलामा आकर्षक चित्र भरेर अनलाइन बिक्री गर्छ।

यसका सर्जक हुन् तीन साथी- बनेपाकी हिराशोभा श्रेष्ठ, टेकुकी प्रिष्टी ढंगोल र थानकोटकी विद्यामाया श्रेष्ठ।

तीन जना स्नातक पढ्दादेखिका मिल्ने साथी हुन्।

‘हामीलाई साथी मात्र भन्न पनि मिल्दैन। हाम्रो मित्रताको परिभाषा भिन्नै छ,’ हिराशोभाले दस वर्षदेखिको सम्बन्धबारे भनिन्, ‘हामीबीच आलोचनात्मक मित्रता छ। परिवारिक रूपमा दिदीबहिनी जस्तो र पढाइका मामिलामा प्रतिस्पर्धी साइनो छ।’

अझ रोचक, तीनै जना विगत दस वर्षदेखि नै शिक्षण पेसामा आबद्ध छन्। भिन्दाभिन्दै कलेजमा वनस्पति तथा जीव विज्ञान पढाउँछन्। हिराशोभा प्लस-टुदेखि मास्टर्ससम्मको कक्षा लिन्छिन् भने प्रिष्टी र विद्या प्लस-टुमा पढाउँछन्।

सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि चैतमा लकडाउन गर्‍यो। स्कुल-कलेज बन्द भइहाले। खुलिहाल्ने छाँट पनि रहेन। यस्तोमा हिराशोभा, प्रिष्टि र विद्या घरै बसे।

केही समयपछि कलेजहरूले अनलाइन कक्षा सुरू गरे। बिहान-साँझको समय अनलाइन कक्षामै बित्न थाल्यो।

तर हिराशोभालाई अनलाइन कक्षामा मात्र समय बिताउनु थिएन। उनी फुर्सद पाएका बेला रचनात्मक काम गर्न चाहन्थिन्। सानैदेखि पेन्टिङमा विशेष रूचि पनि थियो। तर प्लस-टु सकेलगत्तै जागिर गर्न थालेकी उनका हात कक्षाको पाटीमै सीमित थिए।

‘पत्तै भएन कहिले यतिका समय बित्यो। आफ्नो रूचिको विषयलाई समय दिन कहिल्यै भ्याइनँ,’ उनले भनिन्, ‘तर लकडाउनमा मैले त्यो महशुस गरेँ। त्यसैले समय मिलेसम्म विभिन्न सामग्रीमा रङ भर्दै दिन बिताएँ।’

चैत-वैशाखमा महामारीको डरसँगै दिन काट्न उनले आफ्नो रूचिलाई सहारा बनाइन्। प्लाइ-वुडका टुक्रा, बाक्ला प्लास्टिकका झोला लगायतमा चित्र कोरिन्।

वनस्पति विज्ञानकी शिक्षक उनलाई बोट-बिरुवाप्रति मोह छ। फुर्सदमा विभिन्न बिरूवाका नयाँ बेर्ना बनाउँथिन्। घरमा थुप्रै गमला थिए। ती सादा गमला देखेर उनलाई आइडिया फुर्‍यो- मेरो कला यसमा देखाउँदा कसो होला!

उनले ५ इन्चका गमला लिइन् र पानी रङबाट चित्र कोर्न थालिन्। नभन्दै गमलामा राम्री लजालू केटीको प्रतीकात्मक चित्र बन्यो। हिराशोभालाई आफ्नो कला मनपर्‍यो। साथीहरू प्रिष्टी र विद्यालाई देखाइन्। दुवैले तारिफ गरे।

साथीहरूबाट राम्रो प्रतिक्रिया आएपछि उनलाई अरू गमला पनि रंगाउन, बुट्टा भर्न र चित्र कोर्न सकिने रहेछ भन्ने भयो।

‘गमलामै चित्र कोरेर व्यवसाय गर्न सकिन्छ भन्ने भएपछि दुवैसँग सल्लाह गरेँ। दुवैले सहमति जनाइहाले,’ उनले भनिन्, ‘व्यावसायिक ढंगबाट अगाडि बढ्ने भएपछि उनीहरूले गमला चित्रमा सकारात्मक र सुधार्नु पर्ने कुराहरू भन्दै गए। मैले पनि सुधार्दै लगेँ।’

असार पहिलो साता लकडाउन खुल्यो। भेटेरै उनीहरूले यसबारे छलफल गरे र निष्कर्षमा पुगे- गमलामा कलात्मक चित्र र डिजाइन बनाउने र अनलाइनबाट बेच्ने। नाम पनि रोजे- गमला दि क्रिएसन।

बायाँबाट क्रमशः विद्यामाया श्रेष्ठ, प्रिष्टि डंगोल र हिराशोभा श्रेष्ठ। 

त्यसपछि तीन जना मिल्ने साथीको पहलमा गमला दि क्रिएसन आधिकारिक रूपमा सुरू भयो। विभिन्न शैली र डिजाइनका बुट्टा, चित्र बनाउँदै, गमला रंगाउदै परीक्षण गरे। उनीहरू सेतो, रातो, निलो र पहेँलो रङ मात्र प्रयोग गर्छन्। यिनै मिलाएर अरू रङ बनाउँछन्।

कलाप्रति तीन जनाको भिन्नै स्वाद थियो। हिराशोभा अलि जटिल, मन्डल, अनुहार र कलात्मक चित्रमा केन्द्रित थिइन्। प्रिष्टि कार्टुन पात्र बनाउन पर्छ भन्थिन्। विद्या सरल र परिष्कृत बुट्टा र चित्रप्रति बढी आकर्षित थिइन्।

यसो हुँदा तीन जनाले भिन्दाभिन्दै आकारका गमलामा सुहाउँदा बुट्टा, चित्र कोर्ने टुंगो लगाए। यसका लागि जो जेमा राम्रो छ, त्यसैमा लाग्ने निर्णय भयो। रङ संयोजन भने हिराशोभाले नै गर्छिन्।

गमलामा कस्तो रङ लगाउँदा बढी टिक्छ, कुनमा राम्ररी बस्छ भन्ने पत्ता लगाउन पनि झन्डै एक महिना बिताए। अहिले उनीहरू एकपटक मात्र पोलेको गमलामा चाँडै सुक्ने ‘एक्रिलिक’ रङ प्रयोग गर्छन्।

‘यति पत्ता लगाउन झन्डै एक महिना परीक्षण गर्‍यौं। एक्रिलिक कलर थोरै पानीले बिगार्दैन,’ विद्याले भनिन्।

रङ र गमलाको मात्र समस्या होइन, डेलिभरी कसरी गर्ने भन्ने पनि टाउको दुखाइ बनेको थियो।

‘सबै कुरा शून्यबाट सुरू हुँदै थियो। त्यसैले हामीलाई केही आइडिया भएन। माटाको भाँडा कसरी डेलिभरी गर्ने भन्ने युट्युबमा हेर्दै बस्यौं,’ विद्याले सम्झिइन्, ‘स्याउको खोल, काठको धूलोदेखि कपडासम्म भ्यायौं। तर कुनै तरिकाले सोचेजस्तो सुरक्षित ढंगले डेलिभर हुन्छ भन्ने लागेन।’

अन्ततः थुप्रै परीक्षणपछि उनीहरूले ‘बबल र्‍यापर’ (हावा भरिएका स-साना फोका भएको प्लास्टिक) मा पोको पारेर विद्युतीय र खाद्यान्नका बाकसमा प्याक गरी डेलिभरी गर्ने भए।

‘कुन ठाउँमा पुर्‍याउनु पर्ने हो, त्यहीअनुसार कार्टुनको तह हेरेर प्याक गर्छौं। हाम्रो उद्देश्य पुनः प्रयोग र रिसाइकल पनि हो,’ उनले भनिन्।

उनीहरूको तर्फबाट सबै व्यवस्था भएपछि गमलामा कलात्मक चित्र र डिजाइन बनाएर फेसबुकमा पोस्ट गर्न थाले। छोटो समयमै अर्डर आइहाल्यो। प्रायः काठमाडौंकै ग्राहक रहेका विद्या बताउँछिन्।

सुरूमा एक-दुइटा मात्र अर्डर लिइरहेका उनीहरूलाई भदौ २८ गते पोखराबाट एकैपटक १ सय ४० वटा गमलाको अर्डर आयो।

यो उनीहरूका लागि खुसीको क्षण भएको बताउँदै गमला दि क्रिएसनकी अर्की सर्जक प्रिष्टिले भनिन्, ‘कम समयमै त्यत्रो माग आउँछ भन्ने सोचेकै थिएनौं। त्यो अर्डर पाउँदा हामी निकै खुसी भयौं। झन्डै एक साता नयाँ अर्डरका लागि अरू बनाउन पनि भ्याएनौं।’

उनका अनुसार तीन जनाले मात्रै १४० वटा गमलामा कला भर्न समय लाग्ने भएपछि भक्तपुरस्थित ‘मिथिला आर्ट’सँग सहकार्य गरे। मिथिला आर्टबाट ७५ वटा र गमला दि क्रिएसनबाट ६५ वटा गमलामा बुट्टा भरेर झन्डै तीन सातामा पोखराको अर्डर भ्याए।

ग्राहकले यसरी आफ्नो कला मन पराउँदै गर्दा उनीहरूमा भने थप चुनौती थपिएको महशुस प्रिष्टिले गरेकी छिन्। भन्छिन्, ‘धेरैले राम्रो छ, अझै राम्रो गर्न सकिन्छ भन्दा हामीलाई चुनौती थपिएको महशुस हुन्छ। ग्राहकको चाहना पूरा गर्न सक्ने हो कि होइन भन्ने डर मनमा बस्ने रहेछ।’

उनीहरूले २ इन्चदेखि १६ इन्चसम्मका गमलामा कला भर्छन्। यसको मूल्य डेलिभरी चार्जबाहेक १ सय २० देखि १ हजार ६ सय ५० रूपैयाँसम्म पर्छ। प्रायः ६ इन्च र ८ इन्चका बढी बिक्ने उनीहरू बताउँछन्।

गमला दि क्रिएसनका कलात्मक गमला विशेषगरी अफिस डेस्क र टेबल सजावटका लागि निकै आकर्षक र ताजा देखिने उनीहरूको भनाइ छ। अनि यहाँबाट बन्ने हरेक गमला भिन्दै डिजाइनका हुन्छन्।

‘हातले बनाउने कला सबैमा ठ्याक्कै उस्तै हुन्छ भन्ने हुँदैन। फेरि सकेसम्म कुनै डिजाइन दोहोर्‍याउँदैनौं,’ हिराशोभाले बताइन्।

अहिले हिराशोभा, विद्या र प्रिष्टी अर्डर लिन, नयाँ गमलामा कला भर्न र डेलिभरी गर्न व्यस्त छन्। कलेजको अनलाइन कक्षा बिहान छ। दिउँसो र साँझ फुर्सद उनीहरूले यसमै दिएका छन्। तर कलेज खुलेसँगै यो व्यवसाय कसरी अघि लैजाने भन्ने चिन्ता उनीहरूमा छ। यसका लागि योजना भने बनाइसकेका छन्।

‘जागिरे दैनिकीमा फर्केपछि यो व्यवसाय अरूले सम्हाल्नुपर्ने हुन्छ। यसका लागि जनशक्ति खोजीमा छौं। यही व्यवसायले भविष्यमा केही गर्ने बाटोसँगै थुप्रैलाई रोजगारको अवसर दिलाओस् भन्ने सोचेर अघि सर्दैछौं,’ हिराशोभा भविष्यको योजना सुनाउँदै भन्छिन्, ‘केही समयपछि मागअनुसारका डिजाइन पनि बनाउने छौं। अनि गमलासँगै स-साना इन्डोर बिरुवा उपलब्ध गराउने छौं।’

सबै तस्बिर सौजन्यः गमला दि क्रिएसन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*