Home / Feature Breaking news / बंगलाचुलीको सडक : धुलोमै कालोपत्रे

बंगलाचुलीको सडक : धुलोमै कालोपत्रे

अमरराज आचार्य
दाङ, २८ कार्तिक । कहिले टिप्परले धुलो उडायो, कहिले सिमेन्ट उद्योगले गुणस्तरीय निर्माणमा ध्यान दिएन भन्ने अभिव्यक्तिसँगै स्थानीय प्रशासन र प्रदेश सरकारका आन्तरिक मामिलामन्त्रीले समेत स्तरोन्नतिका लागि चासो लिएको घोराही मुकुर्टी सडक अहिले स्तरोन्नतिकै क्रममा फेरि धुलोमै कालो अलकत्रा छरेर स्तरोन्नति देखाइन थालेको छ ।

स्तरहीन सडक बन्दै गरे पनि त्यहाँका स्थानीयबासी आक्रोशित मात्र बनेका छैनन्, सदरमुकाम घोराही आएर सञ्चारकर्मीको सहयोगको समेत अपेक्षा गर्न वाध्य भएका छन् । तर पत्रकार जगतले लेखेका समाचार पनि राज्यले सुन्ने हो वा सोही अनुरुप आफ्नो निर्माण कार्यक्रम अघि बढ्ने हो भन्नेमा भने कुनै आधिकारिक निकायले स्पष्ट अभिव्यक्ति दिएका छैनन् ।

घोराही—प्यूठान सडक निर्माणको काम गुणस्तरीय बनाउन माग गरिएको छ । सडक निर्माण गर्दा गुणस्तरीय नभएकोले गुणस्तरीय बनाउन माग गरिएको हो । दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ बंगलचुली शाखा अध्यक्ष रुकप्रसाद पुलामीले अहिले पिच गर्न थालिएको सडकमा गुणस्तरीय काम नभएको बताए । ‘निर्माणधीन सडकको बेशमा स्थानीय माटो र ढुङ्गा हालेको र त्यस्तै धुलाम्मे बाटोमाथि अलकत्रा राखी पिच गर्न लागिएको छ’ पुलामीले भने ।

यसरी गरिएको कार्यले सडक टिकाउन नहुने समेत उनले बताए । ‘यस्तो कामले राज्यको करोडौँ लगानी समेत खेर जाने भएकोले तत्काल सडकमा गुणस्तरीय पिच गर्न पुलामी बताउँछन् । काम रोकेर गुणस्तरीय काम गरिनु पर्छ’–उनले भने । गुणस्तरीय सडक निर्माणका लागि अनुगमन, सुधार गर्ने, अधुरो रहेको बचेनी मुर्कटी सडकखण्डको निर्माण सुचारु गर्न र अवैध उत्खनन् रोक्नका लागि सम्बन्धित निकायसँग समेत आग्रह गरेका छन् ।

दशकौँदेखि गाडी चलिरहेको सडकको सतह नै गहिरो हुने र आधार कमजोर गराउँदा दुर्घटनाको जोखिम बढ्ने गरी उत्खनन् भइरहेको भन्दै यसलाई रोक्न समेत उनले माग गरे । निर्माण कम्पनीले काउले लसुने भिर क्षेत्रमा सडकको सतह नै गहिरिने गरी ढुङ्गा उत्खनन् गरेको र बचेनी लामपोखरी भन्ने स्थानमा सडक छेउको भिरतर्फ दुर्घटनाको जोखिम समेत बढ्ने गरी उत्खनन् भएको अध्यक्ष पुलामीले बताए ।

उक्त सडकखण्ड जलजला निर्माण सेवाले जिम्मा पाएको छ । कामको अनुगमन तथा निरीक्षण गर्ने सडक डिभिजन कार्यालय दाङमा समेत पत्र पठाइएको संघले जनाएको छ । कम्पनीले करिब पछिल्लो समय कामलाई तीव्रता दिएको स्थानीयवासीले बताएका छन् ।घोराही—प्यूठानको जिम्मा पाएको जलजला निर्माण सेवाका इश्वर पुनले गुणस्तरीय काम नै भइरहेको बताए । ‘हामीले कुनै गुणस्तरहीन काम गरेका छैनैँ’–पुनले भने–‘ल्यावबाट पास गरेका सामग्रीहरु हालेर काम भएको छ ।’

स्थानीयबासीले प्राविधिक विषयका बारेमा जानकारी नहुँदा समस्या भएको उनको भनाइ छ । स्थानीयवासीलाई सडक निर्माणमा कुनै शंका लागेमा वा चित्त नबुझेमा ल्याव परीक्षण गर्नसक्ने उनले बताए । ल्याव परीक्षण गरेर गुणस्तरहीन भएमा आफू कारवाही भोग्न तयार रहेको उनको भनाइ रहेको छ । स्टिमेट गर्दा नै स्थानीय स्रोत साधनको प्रयोग गर्ने भनेर स्टिमेट गरिने भन्दै त्यसै अनुसार नै स्थानीय सामग्रीहरु प्रयोग भएको उनले बताएका छन् ।

स्थानीय स्तरमा प्रयोग गर्न नमिल्ने सामग्रीहरु अन्य स्थानबाट ल्याएर काम गरिएको पुन बताउँछन् । उक्त सडक निर्माणका लागि ३ वर्षीय ठेक्का रहेको छ । अहिले २० किलोमिटर कालोपत्रे सडक निर्माण गर्न थालिएको छ । जसमा ७ मिटर चौडाई हुने पुन बताउँछन् । स्थानीयको सहयोगमा काम गर्न सहज भएको उनले बताए । आउँदो चैतसम्म निर्माण कार्य सम्पन्न गरिसक्ने उनको भनाइ छ । बाटो निर्माण सहजताका लागि सिमेन्ट उद्योगका टिप्परहरुलाई सञ्चालनमा रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*