Home / Feature Breaking news / सुरक्षा निकायको क्लोज मिटिङ

सुरक्षा निकायको क्लोज मिटिङ

खेमराज रिजाल

दाङ, २५ कार्तिक । दाङलाई स्थायी प्रदेश मुकाम घोषणा गरेसँगै लुम्बिनी प्रदेशको गृहमन्त्रालय एवं आन्तरिक मामिला मन्त्रालयको आयोजनामा सुरक्षा अधिकारीहरुको क्लोज मिटिङ दाङ घोराहीको भिंग्रेली होटलमा सोमवार सम्पन्न भएको छ । सो मिटिङमा जिल्लाका करिब २५ वटा निकायका सुरक्षा कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

‘लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएसँगै प्रदेशको सुरक्षा रणनीतिका सन्दर्भसँगै दाङ जिल्लाको समग्र सुरक्षा प्रणालीको अवस्था बुझ्न यो बैठकको आयोजना भएको हो, यसमा अल्पकालीन र दीर्घकालीन सुरक्षा नीतिका विषयमा सुझावहरु आएका छन्’, बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गोरक्षलाई भने ।

विशेष गरी स्थायी राजधानी प्रस्तावित क्षेत्रमा सीमा सुरक्षा बलको स्तरोन्नति गर्न तथा भालुवाङ र लमहीको प्रहरी चौकीको स्तरोन्नतिका लागि बैठक केन्द्रित भएको पनि उनले बताएका छन् ।

भालुवाङको प्रहरी चौकीलाई प्रहरी नायव उपरीक्षकको नेतृत्वले सम्हाल्नेगरी स्तरोन्नति गर्नेगरी तत्काल प्रदेश सरकारले पहल गर्ने र संघीय सरकारले त्यसमा समन्वय गर्नेगरी वातावरण बनाउने सहभागीहरुको सुझाव थियो । हाल जिल्लामा घोराही सदरमुकामबाहेक तुलसीपुर इलाका प्रहरी कार्यालयमा मात्रै डिएसपीको कमाण्डमा सुरक्षा इकाई चलायमान छन् ।

डिएसपीको नेतृत्वको इलाका प्रहरी चौकी बनेपछि कम्तीमा पनि ५० भन्दा बढी सुरक्षाकर्मीहरुको दरबन्दी आवश्यक रहन्छ । त्यसैगरी जिल्लाको सीमा सुरक्षाका विषयमा अझै पनि चुनौतीपूर्ण रहेको अवस्थाका विषयमा सुरक्षा निकायका अधिकारीहरुले जानकारी गराएका थिए । उनीहरुले प्रादेशिक राजधानी बनाउने क्रममा सीमा सुरक्षा पोष्टहरु पनि बढाउनुपर्ने सुझाव दिएका थिए ।

‘हामीहरुले सुझाव दिएका छौं, सबै तहका सरकारको यो विषयमा गम्भीर ध्यानाकर्षण हुनेछ, किनकि स्थायी मुकाम भैसकेको अवस्थामा हामीहरुले अझै पनि सुरक्षा बल थप्नुपर्ने अवस्था छ’, प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।

सुरक्षा क्लोज बैठकमा सहभागी सबै इलाकाका सुरक्षा अधिकारीहरुले सुरक्षालाई चुस्त दुरुस्त पार्नका लागि थप जनशक्ति, थप स्रोतसाधनलगायत थप सूचनामैत्री प्रविधिको पनि अपेक्षा गरिएको बताइएको थियो । त्यसमा प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीले आवश्यक जनशक्ति र स्रोतसाधन बढाउनका लागि प्रदेश सरकार एवं संघीय सरकारको समेत ध्यानाकर्षण गराई सुरक्षा व्यवस्थालाई मजबुत बनाउने अभिव्यक्ति दिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी आचार्यले पछिल्लो समयमा जिल्लामा शान्ति सुरक्षाको अवस्था चुनौतीपूण नरहेको बताउँदै सबै सुरक्षा निकाय परिचालित भएको अभिव्यक्ति दिए । साथै निगरानी र चेकपोष्ट पनि आवश्यकरुपमा बढाइएको प्रमुख जिल्ला अधिकारी आचार्यको अभिव्यक्ति थियो । कार्यक्रममा प्रदेश आन्तरिक मामिलाका सचिव रविलाल पन्थसहितको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*