Home / Feature Breaking news / औपचारिकतामै सिमित सहकारीका ‘साधारण सभा’

औपचारिकतामै सिमित सहकारीका ‘साधारण सभा’

अमरराज आचार्य
दाङ, २५ कार्तिक । सहकारीको लागि महत्वपूर्ण मानिने वार्षिक कामको समीक्षादेखि नीति तथा कार्यक्रम निर्माण गर्ने साधारण सभा औपचारिकतामा सीमित भएका छन् । सहकारीका ऐन, कानुन तथा नीतिले उच्च महत्व दिएको साधारणसभालाई संघसंस्थाहरूले सामान्य औपचारिकताका रूपमा मात्र सीमित गर्न थालेका छन् ।

चालु आर्थिक वर्ष कोभिड–१९ को महामारीको कारण देखाउँदै सहकारी संस्थाहरूले सम्पूर्ण सदस्यहरूलाई पर्याप्त जानकारीसमेत नगराई प्रक्रिया मात्र पूरा गर्न थालेका छन् । नियामक निकायले प्रभावकारी अनुगमन गर्न नसकेको सहकारी क्षेत्रमा सदस्यहरूको भूमिका पनि कमजोर भएपछि सहकारीमा झनै जोखिम बढेको छ । सहकारी विभागले एक महिनाअघि निर्देशन जारी गर्दै वैकल्पिक विधिबाट साधारणसभा गर्ने बाटो खुला गरेको थियो ।

त्यसैअनुसार जिल्लामा रहेका सहकारी संस्थामध्ये करिब ३० प्रतिशत सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्दप्रसाद शर्माले बताए । जिल्लामा हाल ६ सय २५ वटा सहकारी संस्थाहरु छन् । उनका अनुसार कार्तिक महिनादेखि सरकारले तोकेको मापदण्ड अपनाएर जिल्लाका सहकारी संस्थाहरुको साधारणसभा हुन थालेका हुन । पुस मसान्तसम्म सबै सहकारीको साधारणसभा सम्पन्न भैसक्ने अध्यक्ष शर्माले बताए ।

‘अहिले जिल्लामा एउटा सहकारीको साधारणसभा ३ दिनदेखि ७ दिन लगाएर सम्पन्न भएका छन्’ अध्यक्ष शर्माले भने– ‘सहकारीहरुको सदस्य संख्याको आधारमा समय लाग्ने गरेको छ ।’ साधारणसभामा सदस्यहरुसँग पर्याप्त छलफल गरेर नै साधारणसभा गरेको पाइएको उनले बताए । सदस्यहरुसँग छलफल गर्नका लागि नै समय धेरै लाग्ने गरेको सहकारीहरुले बताएका छन् ।

ऐन अनुसार सहकारी संस्थाहरुको साधारणसभा असोज मसान्तभित्र नै साधारणसभा सम्पन्न गर्नुपर्ने भए पनि धेरै सहकारीहरुको साधारणसभा सम्पन्न हुन नसकेको तुलसीपुर उपमहानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख गिरिराज मिश्रले बताए । समयमा साधारणसभा नगर्ने सहकारीलाई ऐनअनुसार जरिवाना हुने उनले बताए । सहकारी संस्थाहरुलाई भीडभाड नगराएर साधारणसभा गर्ने भनिएको मिश्रले बताए ।

‘साधारणसभा पनि नगरी भएन त्यसैले स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम गर्ने भनेका छौं’, मिश्रले भने । अधिकांश सहकारीहरुले साधारणसभाका बारेमा जानकारी समेत नगराउने गरेको उपमहानगरपालिकाले जनाएको छ । जानकारी आएका सबै स्थानमा पुग्न पनि समस्या रहेको मिश्रले बताए । ‘केही सहकारी सहकारीको मर्म अनुसार सञ्चालन हुन समेत सकेका छैनन्’, मिश्रले भने– ‘स्थानीय तहहरुले सिष्टममा ल्याउने प्रयास जारी राखेको र केही समय लाग्न सक्ने छ ।’

विभागले कोभिडका कारण देखाएर विद्युतीय प्रविधिको प्रयोग गरी साधारणसभा गर्न सक्ने बाटो खुल्ला गरेको थियो । साधारणसभालाई सामाजिक सञ्जाल वा स्थानीय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ । साधारणसभाको सम्पूर्ण रेकर्डिङ नियमनकारी निकायमा साधारणसभा सकिएको १५ दिनभित्र पेश गर्नुपर्ने उल्लेख गरिएको छ । विद्युतीय प्रविधिबाट साधारणसभा गर्न नसक्ने संस्थाहरूलाई भने १५ दिनसम्म तोकेर सदस्यहरूलाई आलोपालोमा उपस्थित गराई साधारणसभा गर्न पाउने व्यवस्था छ ।

सहकारी ऐनको व्यवस्था अनुसार अधिकतम ७ वटा एकाई बनाएर एकाइगत रूपमा साधारणसभा गर्ने सक्ने प्रावधान राखिएको छ । भर्चुअल रूपमा वा आलोपालो उपस्थिति गराई साधारणसभा गर्न सक्ने व्यवस्था गरिएको भए पनि सदस्यहरूको सहभागिता तथा नियन्त्रण बढाउनका लागि विभागले केही प्रावधान तोकेको छ । निर्देशनमा संस्थाहरूले तोकिएकै समयभित्र लेखापरीक्षण गरी साधारण सभा भन्दा १५ दिनअघि प्रतिवेदन सदस्यलाई पु¥याउनुपर्ने छ ।

प्रतिवेदन प्राप्त भएपछि सदस्यहरूको सुझाव, सल्लाह र संशोधन प्रस्ताव लिएर साधारण सभाको एजेण्डामा समावेश गर्न पनि निर्देशन दिएको छ । तर, सहकारी संस्थाहरूले भने विभागको निर्देशन पालना गरेका छैनन् । सदस्यहरूलाई साधारणसभा बारे पर्याप्त जानकारी दिने, संस्थाको बार्षिक कारोबार प्रतिवेदन उपलब्ध गराउने, साधारण सभामा एजेण्डा राख्न अधिकार दिनेजस्ता विषयमा सहकारीले सदस्यलाई बेवास्ता गर्ने गरेको पाइएको छ ।

सहकारी ऐन अनुसार साधारणसभा गरे पनि ऐन अनुसार कुल सदस्यको ५१ प्रतिशत उपस्थितिको हस्ताक्षर भने अनिवार्य गरिएको छ । ऐनले तोकेअनुसार उपस्थिति पुु¥याउनका लागि मात्र संस्थाहरूले सदस्यलाई बोलाउने गरेका छन् । सहकारी ऐन–२०७४ मा सहकारी संघसंस्थाले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र लेखापरीक्षण र ६ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्ने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*