Home / Feature Breaking news / यस कारण छाड्छन् प्रहरीले जागिर
-फाइल तस्बिर

यस कारण छाड्छन् प्रहरीले जागिर

काठमाडौं । पर्याप्त सेवा सुविधाको अभावलगायत विभिन्‍न कारणले तालिमप्राप्त प्रहरी कर्मचारीले बीचैमा जागिर छाड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयले नै हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्त्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरुसम्बन्धी अध्ययनमा यस्तो उल्लेख गरिएको छ । प्रहरीमा प्रत्येक दिन सातजना तल्लो दर्जाका कर्मचारीले जागिर छाड्ने क्रम बढेपछि प्रहरी प्रधान कार्यालयले त्यसबारे अध्ययन गरेको थियो ।

अध्ययनमा भनिएको छ ,“प्रहरी सेवामा रहेर घर परिवारलाई समय दिन नपाएको र घर व्यवहार मिलाउन नसकेको कारणले पनि पेन्सन अवधि पूरा भएपछि राजीनामा दिने गरेको देखिन्छ । घरायसी समस्या समाधान हुन नसक्नुमा कार्यालयबाट पर्याप्त मात्रामा बिदा नपाउने र घरपायक सरुवा नहुने आदि कारणले समेत भूमिका खेलेको देखिन्छ ।”

बहिर्गमन सर्वेक्षणमा पेन्सन अवधिसमेत नपुगी राजीनामा जाने प्रहरी जवानहरुले पेन्सन अवधि २० वर्ष भएको, संगठनमा रहेर पारिवारिक आर्थिक अवस्था सुदृढ हुन कठिन रहेको बताएका छन् ।

वैदेशिक रोजगार एवं अन्य पेसा व्यवसायको अवसर प्राप्त भएकाले सेवाबाट अलग भएको धारणासमेत प्रहरी कर्मचारीले राखेको अध्ययनमा उल्लेख छ ।

बहिर्गमन सर्वेक्षणमा सहभागीहरुले भविष्यमा संगठनले गर्नुपर्ने सुधारका कार्यहरुमा सेवा सुविधा वृद्धि, वृत्ति विकासको अवसर, बाह्‍य हस्तक्षेप नियन्त्रण, भौतिक पूर्वाधारमा सुधार, पेन्सन अवधि १६ वर्ष हुनुपर्ने उल्लेख गरेका छन् ।

बहिर्गमन सर्वेक्षण ०७६ फागनु २१ देखि चैत ८ गतेसम्म स्वेच्छिक रुपमा अवकाश भई राजीनामा दिएका ३४० जना हवल्दार, जवानलगायत ४२२ जनामा गरिएको थियो । सर्वेक्षणमा सहभागीहरुमध्ये ३१ प्रतिशतले घरायसी समस्याका कारणले, १६ दशमलव ९० प्रतिशतले पेन्सन अवधि पूरा भएका कारणले, १६ दशमलव ८० प्रतिशले न्यून सेवा-सुविधाका कारणले, ११ दममलव ९० प्रतिशतले खाईपाई आएको सेवा सुविधा कटौती हुने त्रासले जागिर छाडेको उल्लेख गरेका छन् ।

यस्तै १० दशमलव ३० प्रतिशतले अन्य पेसा व्यवसाय गर्ने सोचले, ६ दशमलव १० प्रतिशतले वैदेशिक रोजगारमा जाने सोचले, ३ दशमलव ६० प्रतिशतले शारीरिक अशक्तताका कारणले र ३ दशमलव ३० प्रतिशतले वृत्ति विकासको योजना स्पष्ट नभएकाले सेवाबाट अलग भएको धारणा व्यक्त गरेका थिए । प्रहरीमा पछिल्लो तीन वर्षमा ७ हजार ७ सय १४ जनाले जागिर छाडेको पाइएको छ । प्रहरी प्रधान कार्यालयकै पछिल्लो तीन वर्षको तथ्याङ्‍कअनुसार दैनिक औसतमा ७ जनाले जागिर छाडेको पाइएको हो । जागिर छाड्नेमा हवल्दारको संख्या सबैभन्दा बढी पाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*