Home / Feature Breaking news / केसी र श्रेष्ठको ‘गहना’…

केसी र श्रेष्ठको ‘गहना’…

दाङ । दङाली गीतकार प्रकाश केसी र संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीति संग्रह ‘गहना’ आउने भएको छ । गीतकार केसी र विश्वकीर्तिमान संगीतकार श्रेष्ठको एकल संगीतबद्ध आधुनिक गीतको एल्बम ‘गहना’ आउन लागेको हो ।

प्रकाशोन्मुख आधुनिक गीतिसंग्रहको शुक्रवार घोराहीमा समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद्को आयोजनामा कार्यक्रम भएको थियो । गीतकार केसीले यस अघि ‘गरिमा’, ‘गुञ्जन’, ‘गुनासो’ र ‘गोधुली’ नामक आधुनिक गीतको गीतिसंग्रह सांगीतिक बजारमा ल्याइसकेका छन् । समीक्षा कार्यक्रममा बोल्दै गीतकार केसीले यो आफ्नो पाँचौ कृति भएको बताए ।

उनले विभिन्न समयमा रचना गरेका गीतहरुलाई समेटेर अहिले संग्रहका रुपमा ल्याउन थालेको बताए । ‘एउटा सर्जकलाई गीत रचना गर्न निकै कठिन हुन्छ, त्यसका वावजुद पनि उसले निरन्तर सिर्जना गरिरहेको हुन्छ’–गीतरकार केसीले भने–‘मैले पनि आफ्नो जीवनको केही कालखण्डमा सिर्जना गरिएका गीतहरुको संग्रह गहना हो ।’ उनले गहना गीतिसंग्रहमा ६ वटा आधुनिक गीतहरु समावेश गरेका छन् ।

यसैगरी संगीतकार सन्तोष श्रेष्ठले एउटै व्यक्तिबाट ५ वटा एल्बमहरु आउनु सामन्य कुरा नभएको बताए । ‘गीत लेख्ने धेरै भेटिन सक्छन् तर निरन्तरता दिनसकेको पाइँदैन’–संगीतकार श्रेष्ठले भने–‘त्यसमा पनि काठमाडौंदेखि बाहिर बसेर निरन्तर गीत लेखनमा लाग्ने व्यक्ति झनै कम हुन्छन्, त्यसमा प्रकाशजी एक हुनुहुन्छ ।’

उनले साहित्यलाई जीवन्त राख्न संगीतको भूमिका महत्वपूर्ण हुने भन्दै आपूmले ‘गहना’ गीतिसंग्रहमा सके जति मिहिनेत गरेको बताए । गीतको समीक्षा गर्दै साहित्यकार नारायण नेपालले केसीका गीतहरु गम्भीर भावका मीठासपूर्ण रहेको बताए ।

राप्ती साहित्य परिषद् केन्द्रीयका अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा गायक तथा संस्कृतिविद डा गोविन्द आचार्यले नेपालमा अझै गीत लेखेर सर्जक पालिने अवस्था बन्न नसकेको बताए । ‘गीतसंगीतमा सम्भावना छ तर गीत लेखेरै लेखक पालिने अवस्था अझै बन्नसकेको छैन, यो सर्जकको पीडा हो’–आचार्यले भने–‘राज्यले गीतसंगीत क्षेत्रलाई व्यवस्थित गर्दै गीतसंगीतमा लाग्ने व्यक्ति पालिने अवस्था बनाउनुपर्छ ।’

उनले गीतलाई सफल बनाउनका लागि रचनाकार, संगीतकार, गायक र एरेञ्जर चारै जनाले ध्यान दिन आवश्यक रहेको बताए । ‘गीतलाई सफल बनाउनका लागि एउटाले मात्र होइन सबै जनाले स्तरीयतामा ध्यान दिनुपर्छ’–उनले भने–‘रचनाकार, संगीतकार वा गायकले मात्र चाहेर गीत राम्रो बन्न सक्दैन ।’ उनले गीत गाउनुभन्दा पहिले आपूmले समीक्षा गरेजस्तै गीतिसंग्रह आउनपूर्व गरिएको समीक्षा आगामी दिनहरुमा समेत आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*